आठराई गाउँपालिका अध्यक्ष लिम्बु भन्छन्- विमानस्थलको नाम फेर्ने कुरा शंकास्पद‚ विमानस्थल बनेपछि नाम फेरिन्छ

विराटनगर । तेह्रथुमको आठराईमा निर्माण हुन लागेको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । विमानस्थल निर्माणको कामले गति नलिँदै नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले विमानस्थलको बारेमा बजेटले समेट्नु राम्रो भए पनि नाम परिवर्तन गरेर आङ्छिरिङ विमानस्थल बनाउने उल्लेख गरिनु गलत भएको बताए । यो नाम स्थानीयको मौलिकता र ऐतिहासिकतासँग नजोडिने उनले मकालु खबरलाई बताए ।

सबैसँग छलफल गरेर साझा धारणा बनाएर जानुपर्नेमा कुनै छलफल नै नगरी नाम परिवर्तन गर्ने घोषणा गरिएकोमा अध्यक्ष लिम्बुले असन्तुष्टि जनाए । ‘विमानस्थलको नाम यहाँको ऐतिहासिकतासँग जोडिएन,’ अध्यक्ष लिम्बुले भने, ‘नाम राख्ने बारेमा एकपटक पनि सोधिएन ।’

बिनापरामर्श र स्थानीयसँग कुनै साइनो नै नभएका व्यक्तिको नाम राखिने उल्लेख गरिनुले शंका जन्माएको उनले बताए । ‘यसको पछाडि केही नकारात्मक पक्ष छन् कि भन्ने आशंका जन्मिएको छ‚’ प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको क्षेत्रमा बन्न लागेको विमानस्थलको नाम स्थानीयको इतिहाससँग नमिल्दो राख्ने घोषणा गरिनु स्थानीयबासीको भावनाविपरीत भएको उनले बताए ।

‘भोलिका दिनमा यही नामको कुराले मूल विवाद निम्त्याउनेछ,’ उनले भने, ‘स्थानीय ऐतिहासिकताको आधारमा विमानस्थलको नामाकरण गरिएको भए सबैले अपनत्व लिन्थे ।’

विमानस्थल निर्माणको काम पुरा भएपछि नाम फेरिएरै छाड्ने उनले दाबी गरेका छन् । ‘अहिले तत्काल नामले विवाद गर्नुपर्ने जरुरी देख्दिनँ,’ उनले भने, ‘पहिला विमानस्थल निर्माणको कामले पूर्णता पाउनुपर्‍यो, काम शुरु नहुँदै नामको विषयलाई लिएर विवाद गर्न थाल्यो भने भोलि समस्या आउनसक्छ, प्रारम्भिक चरणमै विवाद गर्नु राम्रो होइन ।’

कोभिड महामारीका कारण कसैसँग छलफल नभएकाले गाउँपालिकाको तर्फबाट कसरी अघि बढ्ने भन्ने बारेमा कुनै निर्णय नभएको अध्यक्ष लिम्बुले बताए ।

प्रतिक्रिया

3 thoughts on “आठराई गाउँपालिका अध्यक्ष लिम्बु भन्छन्- विमानस्थलको नाम फेर्ने कुरा शंकास्पद‚ विमानस्थल बनेपछि नाम फेरिन्छ

  1. ठिकै छ । कम्तिमा नाम बेठिक भएकाे कुरा स्पष्ट अायाे । यसलाई सच्याउन प्रकृयामा लैजानु पर्छ र विमानस्थल निर्माण काम पनि गर्दै गर्नु पर्छ । फेरि बजेट भाषणमा नाम राखिनेछ भनिएकाे हुदा याे तुरुन्त नाम अर्काे राख्ने प्रकृयामा जान सकिन्छ ।

  2. Tatkal lai Bibadlai thanti Rakhau Mitra ho kam Sampanna Vaepaxi Bimansthal Namakaran Aatharai Bashi sampurna Vela xalfal Bat Bimansthal Namaran ko Niskarsha Nikalepaxi matra Name Rahanuparxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *