राजनीति, युवा र सपना

जीवन र मृत्यु सँगै लिएर आएको अनि कर्म र सपना जीवनले आर्जन गरेको । धार्मिकहरुले जीवन ईश्वरले दिएको भन्लान्‚ भौतिकवादीहरुले प्रकृतिले । दुवै ठिक वा दुवै बेठिक । जन्मभन्दा अगाडि र मृत्युभन्दा पछाडिको संसार मानव क्षमताभन्दा पर छ किनकि त्यसमा सृष्टिको रहस्य छ । जीवन निरपेक्ष रुपमा स्वतन्त्र छैन । यसका धेरै सम्बन्ध र बन्धनहरु छन् । यी कर्म, वासना, सपना, कर्तव्य, प्रकृति र जीवन पद्धतिले सिर्जना गरेका सम्बन्ध र बन्धनहरु हुन् । जीवनको सम्बन्ध आफैँसँग, भूत र भविष्यसँग, परिवारसँग, समाजसँग, देशसँग, समग्र मानव सभ्यतासँग, प्रकृतिसँग र अन्त्यमा मृत्युसँग हुन्छ । जीवन समयको एउटा सानो अवधि हो । यो अवधिभित्र जे जस्तो बाँचिन्छ शायद त्यहि जीवन हो । जीवनले सधैँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुख, समृद्धि र शान्ति खोजिरहन्छ । जीवनका प्रत्येक कर्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शक्ति आर्जनतर्फ केन्द्रित रहन्छन् ।

गुलाब न राम्रो छ‚ न नराम्रो छ । हिमाल न राम्रो छ‚ न नराम्रो छ । मरुभूमि न राम्रो छ‚ न नराम्रो छ । यी जे हुन् त्यहि छन् । बस् ! प्राकृतिक सिर्जना हुन् । सबै इन्द्रिय निर्मित मानव चेतनाका अनुकूल र प्रतिकूल व्याख्या हुन् ।

यथार्थमा यो संसार न त सुन्दर छ न त कुरुप नै छ । न राम्रो छ न नराम्रो छ । यो जे हो त्यहि छ । मानव इन्द्रियहरूले आफूलाई आनन्द, सुख, सन्तुष्टि, सहजता र अनुकूल हुने कुरालाई राम्रो वा सुन्दर भने आफूलाई दुःख, असहज, प्रतिकुल र असन्तुष्टि दिने कुरालाई नराम्रो वा कुरुप भने । मानव चेतनाको निर्माणमा इन्द्रियहरुको प्रमुख भूमिका हुन्छ । मानव चेतनाले सुन्दर र कुरुप वा राम्रो र नराम्रो आदि आफ्नो स्वार्थ अनुकूलका गुण दोषहरु निर्माण गरे । गुलाब न राम्रो छ‚ न नराम्रो छ । हिमाल न राम्रो छ‚ न नराम्रो छ । मरुभूमि न राम्रो छ‚ न नराम्रो छ । यी जे हुन् त्यहि छन् । बस् ! प्राकृतिक सिर्जना हुन् । सबै इन्द्रिय निर्मित मानव चेतनाका अनुकूल र प्रतिकूल व्याख्या हुन् । मानव चेतनाको सबैभन्दा महत्वपूर्ण र सुन्दर पक्ष नै यहि हो‚ जसले यो निर्जन प्रकृतिलाई आफू अनुकूलका गुणदोषयुक्त विशेषताहरू रोपेर प्रकृतिलाई आफू अनुकूल जीवित, अर्थपूर्ण र मूल्यवान बनायो । यही विशेषताले सिर्जना र रचना गरेर मानव जीवनलाई सार्थक, अर्थपूर्ण र अमूल्य बनायो । आफ्नो जीवनको अर्थ र कर्म आफ्ना लागि मात्र नभएर समाजका लागि पनि हो भन्ने मान्यता विकास गरेर समाजलाई संगठित बनायो र देशको निर्माण गर्‍यो । शायद यही बिन्दुबाट राजनीति सुरु भयो होला ।

राजनीति
राजनीति शक्तिको अथाह स्रोत हो । सफल राजनीतिबाट अथाह शक्ति आर्जन गर्न सकिन्छ । राजनीति शक्ति संघर्षबाट जन्मिएको शक्तिको प्रयोग र परिचालनको एउटा पद्धति हो । मानव सभ्यता र समाजमा संघर्षका आयाम जेसुकै भएपनि अन्ततः त्यो शक्ति संघर्ष नै हो । शक्तिको प्रयोग र परिचालनलाई सन्तुलित, व्यवस्थित र जनउपयोगी बनाउन राजनीतिमा विभिन्न प्रणालीको विकास भएको हो । खोज, अनुसन्धान र प्रयोग भएका हुन् । सिद्धान्त र अवधारणा विकास भएका हुन् ।

क) एक सय पचहत्तर वर्ष
लिच्छवीकाल र मल्लकालले नेपाली समाजलाई वास्तुकला, प्रस्तरकला, काष्ठकला, ललितकला, चित्रकला, कृषि, व्यापार, निर्माण र समृद्धिको लक्ष्य दियो, त्यहिअनुरुपको कर्मको मार्ग दियो र एउटा समृद्ध राष्ट्र निर्माण गर्‍यो । शाहकालको पूर्वार्द्धमा यसले राष्ट्र निर्माणको लक्ष्य र मार्ग दियो अनि एउटा सिंगो देश नेपाल निर्माण भयो । वि.सं. १९०३ देखि वि.सं. २०७८ सम्म लगभग १७५ वर्षसम्म अपवाद बाहेक राज्य सत्ताले कहिल्यै पनि समाजलाई उचित दिशा, लक्ष्य र कर्म दिन सकेन ।

शाहकालको उत्तरार्ध र राणाकाल, पञ्चायतकाल, बहुदल र हालसम्मको गणतान्त्रिक कालले पनि नेपाली समाजलाई जागरणसहितको लक्ष्य र कर्म दिन सकेन । राज्यसत्ता केमा अल्मलियो र समाजलाई कसरी दिग्भ्रमित बनाइयो भन्ने कुरा सर्वविदितै छ । यदि राज्यसत्तासँग उद्देश्य र चाहना भएको भए समाजमा लक्ष्यसहितको कर्म पद्धति निर्माण गर्न र देश बिकास गर्न कुनै शासन पद्धतिले रोक्ने थिएन ।

ख) मतविरुद्धको अपराध
राजनीति विचार, दर्शन, उद्देश्य र कार्यक्रमसहितको हुन्छ र हुनुपर्दछ । सत्ताप्राप्ति पश्चात् तिनै विचार, दर्शन र कार्यक्रमको आधारमा कानुन निर्माण गरी देशको समृद्धिको कर्ममा प्रयत्नशील रहनुपर्दछ । राज्यसत्ताले समाजलाई कर्म दिनुपर्दछ, कर्म गर्ने वातावरण दिनुपर्दछ, श्रमको मूल्य र सुरक्षा दिनुपर्दछ । राजनीतिले व्यक्ति, समाज र राष्ट्रको कर्म पद्धति निर्माण गर्दछ । राजनीतिक दर्शन, व्यवहार र प्रवृत्तिअनुसारको समाज निर्माण गर्दछ । भनिन्छ जस्तो समाज‚ उस्तै राजनीतिक नेतृत्व हुन्छ । यो निरपेक्षरुपमा सत्य होइन । राजनीतिक नेतृत्वले आफ्नो राजनीतिक दर्शनअनुरुप समाज बदल्न सक्दछ‚ जस्तैः गान्धी, माओ, लेनिन, फ्रैंकलीन, मन्डेला आदि । जुन प्रतिवद्धता गरेर मत मागिएको हो र जनताले जुन अपेक्षाले राजनीतिक नेतृत्वलाई चुनेको हुन्छ उसको वैध अपेक्षाको विरुद्धमा काम गर्नु भनेको मत विरुद्धको अपराध हो । वि.सं. २०४६ पछि नेपालमा पटकपटक भएको सबैभन्दा ठुलो अपराध नै मतविरुद्धको अपराध हो । मतविरुद्धको अपराधसम्बन्धी कानुन बनाउन सके अर्कै कुरा नत्र यति ठुलो अपराधको सजाय अर्को चुनावमा भोट नहाल्नुमात्र हो ।

जनमत भनेको मनमौजी शासन गर्ने अनुमति पत्र होइन । जनमतभित्र जनताको भरोसा, सपना र विश्वास हुन्छ । आफ्नो पनि थोरै जीवनस्तर परिवर्तन हुन्छ कि भन्ने आशासमेत रहेको हुन्छ । तसर्थ सच्चा राजनीतिमा नैतिकता र सद्विवेकको ठुलो महत्व हुन्छ ।

राजनीतिमा सङ्घर्ष, मतभेद, असहमति र वैचारिक द्वन्द्वजस्ता कुराहरु स्वभाविक हुन् । तर घरै जलाएर खरानीको व्यापार गर्ने तहसम्मको मतभेद र द्वन्द्व भने स्वभाविक हुन सक्दैन । यो राजनीतिभन्दा परको कुरा हुन्छ । नेपालमा फरक विचारलाई सम्मान गर्ने र उचित स्थान दिने राजनीतिक संस्कारको विकास नै हुन सकेन । मिल्थ्यो भने फरक विचारको जननीलाई नै बन्ध्याकरण गरिन्थ्यो । विचार पनि शक्ति हो‚ यसले आफ्नो स्थान खोज्दछ । स्थान नपाउँदा सङ्घर्ष र द्वन्द्व जन्मिन्छ‚ जुन अस्थिरताको कारण बन्न जान्छ ।

ग) प्रशस्ती गान मण्डली
इतिहासदेखि वर्तमानसम्मको अनुभव हेर्दा थाहा हुन्छ कि, शासकहरु जुनसुकै पार्टी, वर्ग र समुदायको भए पनि आफ्नो प्रशस्ती गानको भोका हुँदारहेछन् । अगाडि, पछाडि, दायाँबायाँ, तलमाथी चारैतिर प्रशस्ती गान मण्डली अनिवार्य चाहिँदो रहेछ । मण्डलीको सदस्य भएर जति सुरिलो भाकामा प्रशस्ती गायो उति ठुलो भाग खान पाइँदो रहेछ । जरादेखि टुप्पासम्म मण्डलीकै रजगज हुँदोरहेछ । दिमाग र कलमलाई कोष्ठभित्र राखेर धन र पाखुरी केन्द्रमा राखिँदो रहेछ किनकि दिमागले झुठो प्रशस्ती नगाएर स्वभिमानी विचार र दृष्टिकोण दिन्छ अनि कलमले लेख्छ । यो कुरा शासकलाई अपाच्य हुँदोरहेछ । यहि प्रवृत्तिले गर्दा नै देश १७५ वर्षसम्म गन्तव्यहीन रुमलिएर बसेको हो । यदि नेपाली राजनीतिले अझै पनि दिमागलाई केन्द्रमा नराख्ने हो भने अर्को सदियौंसम्म पनि देश यसैगरी गन्तव्यहीन रुमलिएर बस्नुको विकल्प छैन । हरेक क्षेत्रमा मण्डली प्रवृत्ति हावी छ, कथित बुद्धिजिवी, कर्मचारी, व्यवसायी, पार्टी, संचार क्षेत्र जताततै । कसैले पनि मण्डली निर्माण गरेर ढोल पिटाउनु राजनीति होइन । मण्डलीको योग्य सदस्य हुन सके सधैँ भण्डारभित्र नत्र जीवनभर बाहिरको बाहिरै । इतिहास हेर्दा राज्यसत्ताको जन्म सँगसँगै यसको पनि जन्म भएको देखिन्छ । यो कहिले सशक्त र कहिले सुषुप्त अवस्थामा रहँदै आएको छ ।

युवा
युवा शब्दभित्र एउटा गहन अर्थ रहेको हुन्छ‚ त्यो हो सक्षमता वा ऊर्जाले भरिपूर्ण अवस्था । यो भर्भराउँदो शक्तिले भरिपूर्ण एउटा अवस्था हो । शारीरिक र मानसिक दुवै हिसाबले सक्षम र सवल अवस्था । प्रवल ईच्छा शक्ति र सपनाले सजिएको अवस्था । जीवन कर्ममा आधारित अनि कर्म शक्तिमा आधारित हुन्छ । जीवन, शक्ति र कर्मको सन्तुलनबाट नै सपना साक्षात्कार भई यथार्थमा बद्लिन्छ । युवा सपना देख्ने समय हो र त्यसलाई यर्थाथमा बदल्ने शक्ति हो । प्रकृतिका प्रत्येक छटाहरुमा सौन्दर्य र जीवन देख्ने समय हो । यो सृष्टि र सिर्जना गर्ने अनि आफूभन्दा अगाडि र पछाडिको पुस्ताप्रतिको कर्तव्यबोध गर्ने समय हो । यो समयमा जीवन र जगतप्रति ठुलो प्रेम हुन्छ । कर्मप्रतिको ठुलो लगाव हुन्छ ।

जनताले सवल, विकसित, शान्त र समृद्ध राष्ट्रको सपना देखेका हुन्छन्‚ जसमा आफ्नो र आफ्ना सन्तान दरसन्तानको भविष्य सुखी, शान्त र समृद्ध होस् भन्ने चाहना राखेका हुन्छन् ।

यो शक्तिलाई राष्ट्रले सम्बोधन र प्रयोग गर्न नसके देशको प्रगति र शान्ति असम्भव हुन्छ । यदि राज्यसत्ताले देशमा उचित लक्ष्यसहितको कर्मपद्धति निर्माण गरेर युवा शक्तिलाई प्रयोग गर्न सकेन भने त्योभन्दा ठुलो दुर्भाग्य अरु केही हुँदैन । यदि नेपालको राज्यसत्ताले सही कर्मपद्धति निर्माण गरेको भए आज युवा शक्ति पलायन हुन वा प्रशस्ती गान मण्डलीको सदस्य बन्न यति साह्रो लालायित हुने थिएनन् । प्रशस्ती गान मण्डलीको यति ठुलो आकर्षण पनि हुने थिएन । शक्तिको सिर्जनात्मक र ध्वंसात्मक दुवै प्रकारका प्रयोग हुन्छन् ।

शक्ति कहिल्यै पनि स्थिर हुँदैन र जमेर पनि बस्दैन । यदि शक्ति स्थिर बस्यो भने त्यो नष्ट भएर जान्छ । यसको प्रकृति नै चलायमान हुन्छ । यसलाई सिर्जनात्मक पद्धतिमा परिचालन गरे सिर्जना हुन्छ र ध्वंसात्मक पद्धतिमा प्रयोग गरे ध्वंस हुन्छ ।

इतिहासदेखि हेर्दा राष्ट्र निर्माण र पतन, राज्य व्यवस्था परिवर्तन, विकास र विनाशजस्ता मानव सभ्यताका महत्वपूर्ण घटना युवा शक्तिको परिचालनबाटै भएको देखिन्छ । नेपालको सन्दर्भमा पनि चाहे त्यो राष्ट्र निर्माण होस् या व्यवस्था परिवर्तनका आन्दोलनहरू हुन्, सबै युवा शक्तिकै परिणाम हो । समाज र देशको उन्नतिका खातिर सहर्ष सहादत स्वीकार गरेका छन् । प्रत्येक आन्दोलनमा बल्दो सपना बोकेर ताता गोली र बारुद निलेका छन् । तर प्रत्येक परिवर्तनपश्चात् युवाको बलिदानलाई शासकहरुबाट राजनीतिक बेइमानीपूर्वक आत्महत्यामा परिवर्तन गर्ने काम भएको छ । राष्ट्रको सपनाको लागि गरिएका बलिदानीलाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाएर शासकहरुले महापाप गरेका छन् । यो महापापको परिणाम सिंगो देशले युगौंदेखि भोगिरहेको छ ।

न विगतको भोगाइले वर्तमान जीवन दिन्छ‚ न भविष्यको सपनाले वर्तमान जीवन दिन्छ । विगतले ज्ञान दिन्छ‚ भविष्यले जीवन जिउने ऊर्जा दिन्छ । यही ज्ञान र ऊर्जाको बीचमा वर्तमान कर्म हुन्छ । यही कर्मले सपनालाई यथार्थमा रुपान्तरण गर्दै जान्छ । यसैमा जीवनको सार्थकता खोजिन्छ । सफलता र असफलताको लेखाजोखा र मापन गरिन्छ । जीवन न भूत हो‚ न भविष्य । भूत बितिसक्यो र भविष्य आएकै छैन । यी दुवै जीवनबाट टाढा छन् । भूत र भविष्य दुवै जीवनका यस्ता जराहरू हुन्‚ जसमा वर्तमान जीवन उभिएको हुन्छ । तसर्थ वर्तमानमा जे जस्तो बाँचिन्छ‚ त्यहि हो जीवन ।

तसर्थ, उमेरमा कुनै बोट बिरुवालाई फल्न फूल्नबाट रोकियो भने बुढेसकालमा जति मलजल गरे पनि फल्दैन । फल्ने उमेरमा हाँगा काटेर पछि बुढो रुखलाई गोडमेल र मलजल गर्नको कुनै अर्थ हुँदैन ।

सपना
सन्दर्भ निद्राभित्रको सपनाको होइन‚ निदाउन नदिने सपनाको हो । उद्देश्य, मार्ग र गन्तव्यको हो । सपना एउटा शक्ति र जीवन जीउने ऊर्जा हो । सपनाविहीन जीन्दगीको नियति रुमलिनुमात्र हो । जिन्दगीले देखेका सबै सपना पूरा होलान् या नहोलान् त्यो दोस्रो कुरा हो । तर कर्मपथमा डोहोर्‍याउने शक्ति नै सपना हो । यो जीवन र जगतको आकर्षण नै जिन्दगीले देखेका सपनामा हुन्छ । सपना पूरा नहुँदा निराशा, अर्थहीनता र दुःखको अनुभूति हुनु मानवीय स्वभावअनुसार स्वभाविक हो ।

राजनीति, युवा र सपना यी तीनवटै शब्दहरुले मानव अस्तित्वका अथाह शक्ति केन्द्रहरुलाई प्रतिबिम्बित गर्दछन् । यसमा पनि राजनीति सर्वोपरी देखिन्छ‚ जसको प्रभाव चौतर्फी भएता पनि युवा र सपनामा बढि पर्दोरहेछ ।

जनताले सवल, विकसित, शान्त र समृद्ध राष्ट्रको सपना देखेका हुन्छन्‚ जसमा आफ्नो र आफ्ना सन्तान दरसन्तानको भविष्य सुखी, शान्त र समृद्ध होस् भन्ने चाहना राखेका हुन्छन् । तर जब राज्यसत्ता देशको सपनाभन्दा आफ्नै स्वार्थ र ईच्छामा लिप्त हुन्छ‚ तब जनताको भरोसा र सपना टुट्छ अनि निराशा उत्पन्न हुन्छ । युवा शक्तिले कि विध्वंसात्मक बाटो समात्छ‚ कि त पलायन हुन्छ । विभिन्न पराया देशका श्रमबजार नेपाली युवा शक्तिले भरिएको यहि सपना टुटेर भएको शक्ति पलायनको परिणाम हो । यो पलायनले देशको उत्पादनशील शक्तिलाई नष्ट गरेको छ । नवउदारवादी आर्थिक नीति अवलम्बन गरेर उत्पादनशील क्षेत्रबाट राज्यले हात झिक्दै लगेपछि उत्पादनका सम्पूर्ण क्षेत्र निजी क्षेत्रको कब्जामा गयो । यसले उत्पादन गर्नुको साटो अरुले उत्पादन गरेका सामानको व्यापार गरेर उत्पादक र उपभोक्ताको बिचमा बसेर अथाहा नाफा आर्जन गरी दलाल पूँजीवादलाई संस्थागत गरी सिंगो देशलाई नै उपभोगी देशमा परिणत गर्‍यो ।

कानुनको शासन असाध्यै कमजोर रहेको नेपालजस्तो देशमा निजी क्षेत्रले गर्ने व्यापार व्यवसायमा नैतिकता र इमान्दारीताको पाटो पनि असाध्यै कमजोर हुन्छ । राज्यले उत्पादनशील क्षेत्रबाट पुरै हात झिक्नु भनेको कर्मपद्धति निर्माण नै नगरी आफ्नो मानव शक्ति नष्ट गर्नु हो ।

देशको उद्देश्यसहितको जागरणले भरिएको कर्मपद्धति एउटा यस्तो प्रणाली हो‚ जसले नयाँ नयाँ सपनाहरू जन्माउँछ, हुर्काउँछ, फुलाउँछ अनि फलाउँछ । यसले युवा शक्तिको प्रयोग गर्छ र विविध आयामका शक्तिहरू उत्पादन गर्दछ । निराशाले भरिएको समाजलाई आशाले भरिएको सार्थक र सकारात्मक समाजमा रुपान्तरण गर्छ ।

र अन्तमा,
राजनीतिले सधैँ युवा र तिनका सपनाको बली खानु हुँदैन । आँसु चुसेर अर्थहीन र नीरस जीन्दगी दिनुहुँदैन । पलायन र ध्वंसका मार्ग प्रशस्त गर्नुहुँदैन । श्रम र पसिनामा कीरा पारिनु हुँदैन‚ यो त मोतिजस्तै चम्किन पाउनुपर्दछ । कसैको जीवनलाई लक्ष्य वा उद्देश्यविहीन बनाएर राख्नु अपराध हो । सिंगो समाज र राष्ट्रलाई नै लक्ष्यविहीन बनाएर शाब्दिक भाषाको अनन्त दलदलमा रुमल्याइरहनु महाअपराध हो । यसलाई अपराध मानेर राजनीतिले आफूलाई दण्डित गर्ने कानुन बनाउँदैन‚ तर यो अपराधको दण्ड सिंगो देशले भोग्नुपर्दछ । देश विकासको लक्ष्य र कर्ममा पनि खण्डित समाज र राजनीतिले कसैलाई कहिं पुर्‍याउँदैन ।

राजनीति, युवा र सपना यी तीनवटै शब्दहरुले मानव अस्तित्वका अथाह शक्ति केन्द्रहरुलाई प्रतिबिम्बित गर्दछन् । यसमा पनि राजनीति सर्वोपरी देखिन्छ‚ जसको प्रभाव चौतर्फी भएता पनि युवा र सपनामा बढि पर्दोरहेछ । राजनीति, युवा र सपनाको संयोजन र सन्तुलनबाट देशले लक्ष्यसहितको कर्मद्धतिको निर्माण गरेर एउटा कर्म युगको सुरुवात गरोस्, जसले एक सय पचहत्तर वर्षदेखि रुमल्लिएको समाजलाई सशक्त कर्म पथमा अगाडि बढाओस् । कुरुप राजनीतिले फसाएको अन्तहीन दलदलबाट समाजलाई मुक्ति देओस् ।

(लेखक अधिवक्ता हुन्)

प्रतिक्रिया

One thought on “राजनीति, युवा र सपना

  1. सार्थक कुरा लेख्नु भएकोमा धन्यवाद ! समाजमा केही गर्छु भन्नेले पढेर बुझ्नुपर्ने जस्तो लाईरा’छ मलाई त । चाकरी , दलालीकाे कुनै गुंजाएस पाईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *