चुहाण्डाँडा विमानस्थलको नाम फेरिने कुरा मान्य हुँदैन: पूर्वराज्यमन्त्री गुरुङ्ग

तेह्रथुम । पुर्वभौतिक पुर्वाधार राज्यमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ्गले  तेह्रथुमको चुहाण्डाँडा बिमानस्थलको नाम र काम दुवैमा असन्तुष्टि व्यक्त गरेकी छिन् । नयाँ बजेट भाषणमा यो बिमानस्थलको नाम फेरेर ‘आङ्छिरिङ् शेर्पा बिमानस्थल’ राख्ने उल्लेख गरिनु स्थानीय पहिचान र नागरिकको अपमान भएको उनको भनाई छ ।

‘चुहाण्डाँडा अर्थात आठराई क्षेत्र आफैँमा ऐतिहासिक ठाउँ हो, यहाँको आफ्नै पहिचान छ, यहाँ बन्ने भनिएको बिमानस्थल स्थानीय ठाउँसँग अलिकति पनि साइनो नजोडिएको व्यक्तिको नाममा राख्ने कुरा हामीलाई मान्य छैन,’ गुरुङ्गले भनिन्, ‘वर्षौदेखि पटक पटक नाम फेर्ने काम भएको छ तर विमानस्थल बनाउने काम जहाँको त्यही छ, यो मान्य हुँदैन ।’

सरकारले विमानस्थल निर्माण क्षेत्रका बासिन्दालाई मुआब्जा दिने भनेपनि अहिलेसम्म दिएको छैन । त्यसक्षेत्रमा बातावरणीय प्रभाव मुल्यांकनको फिल्ड सर्भे मात्रै भएको छ ।

नेतृ गुरुङ्गले स्थानीयबासी र जनप्रतिनिधिसँग परामर्श नै नगरी नामाकरण गरिएको भन्दै यो निर्णय फिर्ता लिन सरकारलाई दबाब दिने बताइन् । ‘यसलाई राजनीतिक मुद्धा बनाउने कुरा होइन, तर नामलाई लिएर स्थानीयबासीको ठुलो असन्तुष्टि छ,’ उनले भनिन्, ‘जसको त्यो ठाउँ र पुर्वाधार निर्माणका लागि कुनैपनि योगदान छैन, स्थानीयबासी र भुगोलसँग साइनो नै छैन, त्यस्तो व्यक्तिको नाममा विमानस्थलको नामाकरण हुनुहँुदैन भन्ने स्थानीयबासीको माग जायज छ ।’

यसअघि डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सो विमानस्थलको नाम भक्तराज कन्दङवा विमानस्थल नामाकरण गरिएपनि नाममा सहमति नजुटेपछि स्थानीयबासी, राजनीतिक दल र सरोकारवालाको सहमतिमा सुशील कोइराला नेतृत्वको सरकारले विमानस्थलको नाम फेरेर चुहानडाँडा विमानस्थल बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *