औषधिको कालोबजारी गर्ने एकजना पक्राउ

विराटनगर । औषधिको कालोबजारी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो औषधि व्यवस्था विभाग र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले औषधिको कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- १५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक ३५ वर्षीय रविकुमार रजक रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा रजकको घर कोठामा फिजिसियन स्याम्पलका औषधि, मुटुसम्बन्धी औषधि, पेनकिलर, एन्टिबायोटिक, ईन्जेक्सन, बच्चाको कफसम्बन्धी औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले सेनिटाइजरलगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेबलिङ गरेको औषधिको खोलहरू भण्डारण गरी झुक्याई बिक्री वितरण साथै औषधि अवैध रुपमा जम्मा गरी कालो बजारी गरेको अनुसन्धानबाट देखिएको डिएसपी राईले बताए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त औषधिलगायतका सामानहरूसहित रजकलाई पक्राउ गरी कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।









