विमानस्थलको नाम परिवर्तन : तेह्रथुममा कामको चिन्ता‚ ताप्लेजुङमा नामकाे

विराटनगर । सरकारले बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गरेको बारेमा स्थानीयले विरोध जनाएका छन् । सरकारले शनिबार वार्षिक योजना तथा बजेट वक्तव्यमार्फत ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरी स्व. रवीन्द्र अधिकारी नामाकरण गर्ने र तेह्रथुम आठराईस्थित चुहान डाँडा विमानस्थलको नाम स्व. आङ्छिरिङ शेर्पा विमानस्थल नामकरण गर्ने भनेपछि स्थानीयले विरोध गरेका हुन् ।

स्थानीयपन र स्थानीय पहिचान नामेट हुनेगरी भएको निर्णयको स्थानीयले विरोध गरेका हुन् । पार्टी र समूहगत रुपमा पनि यसको विरोध भएको छ ।

स्वर्गीय रवीन्द्र अधिकारी र स्वर्गीय आङ्छिरिङको २०७५ साल फागुन १५ गते चुहानडाँडा हुँदै पाथिभरा गएर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । स्थानीयले उनीहरूको दुर्घटनालाई योगदानको रुपमा लिन नहुने बताउँदै दुर्घटनामा परेर मृत्यु भएको बहानामा विमानस्थलको नाम परिवर्तन गरिनु गलत भएको बताएका छन् ।

‘नाम होइन काम हुनुपर्‍यो’
आठराई गाउँपालिकाकी उपाध्यक्ष तथा आठराई थुम्की चुहानडाँडा विमानस्थल समितिकी कोषाध्यक्ष रुपादेवी कन्दङ्वाले आफू जन्मिनुभन्दा १५ वर्ष पहिलादेखि नै विमानस्थलको कुरा भएपनि अहिलेसम्म विमानस्थलको काम नभएको अवस्थामा नामले कुनै अर्थ नराख्ने बताइन् । ‘हामीलाई त पहिला काम गरेर देखाइदिनुपर्‍यो । नागरिकले सेवा सुविधा पाउनुपर्‍यो भन्ने मात्र हो‚ नाम त जे राखेपनि हुन्छ । यो विमानस्थल नबन्दै धेरैवटा नाम फेरिइसकेका छन्,’ उनले भनिन्, ‘अहिले हामीले आठराई थुम्की चुहानडाँडा विमानस्थल भन्ने गरेका छौँ ।’

नाम परिवर्तन गर्नुभन्दा पनि काम हुनु जरुरी रहेको उनले बताइन् । ‘हरेक वर्ष बजेटमा विमानस्थलको नाम भनिन्छ, तर काम भएको छैन,’ उनले भनिन्, ‘वातावरणीय प्रभाव मूल्यांकन भएको थियो, त्यसपछि माथि गएर थन्किएको छ ।’

योगदान एउटाको नाम अर्कैको
सुकेटार विमानस्थल निर्माणका लागि हर्कजंग मादेनलगायतको योगदानलाई सबैलाई सम्मान गर्छन् ।

विमानस्थलका लागि मादेनसहितका स्थानीयले जग्गा उपलब्ध गराउनुका साथै हजारौं स्थानीयबासीको जनश्रमदानबाट विमानस्थल निर्माण भएको ताप्लेजुङबासी बताउँछन् । त्यो बेलाको योगदानलाई भुलेर अहिले अर्को कुनै व्यक्तिको नाम राखेर भइरहेको नाम परिवर्तन गर्नुले नागरिकलाई आक्रोशित बनाउने काम भएको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले बताए ।

No description available.

मेयर प्याकुरेलका अनुसार नाम परिवर्तन गर्नेबारेमा समन्वय र छलफल नगरी बजेटमा ल्याइएको छ । ‘हामीसँग कुनै पनि सहकार्य भएन,’ उनले भने, ‘हामी प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराइसकेका छौँ, पहिला जस्तो थियो त्यस्तै अवस्थामा रहनुपर्छ ।’

यदि नाम नै परिवर्तन गर्ने भए हर्कजंग मादेन विमानस्थल बनाइनुपर्ने स्थानीयको मागलाई सम्बोधन गर्नेगरी नाम परिवर्तन गरिए विरोध नहुने उनको भनाइ छ । नगरपालिकाको आधिकारिक धारणा भोलिको कार्यपालिकाको बैठकपछि सार्वजनिक गरिने उनले बताए ।

निर्णय सच्याउन दलहरूको माग
सुकेटार विमानस्थलको नाम परिवर्तनका गरेकोमा ताप्लेजुङ जिल्लाका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

सरकारले ताप्लेजुङको पहिचान र इतिहासमाथि आक्रमण गर्न खोजेको भन्दै जिल्लाका ७ राजनीतिक दलले आइतबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

‘विकास र नामाकरणका नाममा स्थानीय जनताको मौलिकतामाथि हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ‚ ‘यसलाई समयमा सच्याउन सरकारसँग माग गर्दछौँ ।’ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र संघीय लिम्बूवान राष्ट्रिय मञ्च नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

No description available.

हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा रवीन्द्र स्मृति पार्क बनाउने विषयमा सहमति जनाएका ताप्लेजुङका राजनीतिक दल र नागरिकले यो निर्णयले रवीन्द्र अधिकारीको समेत अपमान भएको बताउँदै आएका छन् ।

यसअघि ताप्लेजुङका सांसद योगेश भट्टराईले ताप्लेजुङ् सुकेटार विमानस्थलका बारेमा ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र त्यसको परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्ने बताएका थिए ।

सासमाजिक संजालमा उनले भनेका छन्, ‘सबैको विमर्श र सहमतिबाट मात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *