‘हरेक नेपालीको ओठमा मुस्कान सरकारको सर्त हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो सर्त हरेक नेपालीको ओठमा मुस्कान भएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने— ‘आलोचना वा प्रशंसा सरकारको विषय होइन, सरकारको विषय वा सर्त भनेको समृद्ध नेपाल, सुखी नेपाली हो । सबै नेपालीको ओठमा मुस्कान हुनुपर्छ भन्ने हो । चाहे त्यो जेष्ठ नागरिक होस्, चाहे स–साना बालबालिकाहरु हुन् । सबैको ओठमा मुस्कान हुनुपर्छ, सबै खुसी हुनुपर्छ भन्ने नै हो ।’

यस्तै प्रधानमन्त्री ओलीले त्यो वातावरण निर्माणको लागि सरकार सधैं तत्पर रहेको दाबी गरे । महिला अधिकार दिवस—२०७८लाई भर्च्यूअल्ली रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थपे— ‘त्यो वातावरण निर्माणको लागि वर्तमान सरकार सधैं सकारात्मक छ, प्रयासरत छ र दृढ छ ।’

प्रधानमन्त्री ओलीले महिलाका समस्या र विषय सिर्फ महिलाको मात्रै नभएकोसमेत सुझाए । महिलाका हरेक मुद्दा र विषयहरु समाजसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएको बताउँदै प्रधानमन्त्री ओलीले थपेका छन्— ‘महिलाहरुका समस्या र विषय खालि महिलाहरुको मात्रै मुद्दा होइनन् । त्यो स्वतः सामाजिक विषयहरु हुन्छन् । पुरुष दाजुभाइहरुलाई पनि म अनुरोध गर्न चाहन्छु, हामीले यसरी नलिऔँ । महिलाहरुको समस्या समाधान भयो भने त्यसले सामाजिक विकासमा टेवा पुग्छ ।’

महिलाहरु पनि महिला हिंसा घटाउन लागिपरेको दृष्टान्त सुनाउँदै प्रधानमन्त्री ओलीले महिलाहरु पुरुष बहकावटमा नलाग्न अनुरोधसमेत गरे । भने— ‘महिला दिदीबहिनीहरुलाई म अनुरोध गर्छु कि सजिलैसँग पुरुष बहकावटमा नलाग्नुस् । महिला हिंसालाई यसले प्रश्रय दिन्छ ।’

यस्तै फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक संस्कार बिग्रेको बताए । खासगरी विपक्षी एमाले नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने— ‘राजनीतिक अनुशासन के हो ? राजनीतिक मर्यादा के हो ? केही थाहा छैन, पालना गर्नु पनि छैन । जे जे मन लाग्यो त्यही त्यही गरेको छ । यो हानिकारण प्रवृत्ति हो । यसले समाजलाई अझ बिगार्छ ।’ नेताहरुसँग शरम नभएको औंल्याउँदै प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकार ढाल्ने खेलमा लाग्नु अनि दुखद् भएको स्मरण गराए । ‘कहिले आफ्नै सरकार ढाल्नको लागि लागेको छ,’ प्रधानमन्त्री ओलीले भने— ‘कहिले विश्वासको मत नदिइ बाहिरै बसेको छ । कहिले अर्को सरकार बनाउन विपक्षी दललाई समर्थन गरेको छ ।’

नेतृत्व तहमै यस्तो देखिनु र पानीको मुहानमै धमिलो पानी बग्नुको अन्तर्य एउटै भएको प्रधानमन्त्रीको औंल्याइ छ । उनले भनेका छन्— ‘मुहानबाटै धमिलो पानी बगेपछि तल कहिल्यै पनि सङ्लो आउँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *