प्रकाशकीय

सिकाइ र सहकार्यका चार वर्ष

शुलभ मिडिया प्रालिद्वारा सञ्चालित ‘मकालुखबर डट कम’ आजदेखि चार वर्ष पुरा भएर पाचौं वर्षमा लागेको छ । वार्षिकोत्सवको यो अवसरमा सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गर्दछु । साथै, यस संस्थामा आवद्ध सम्पूर्ण पत्रकार र कर्मचारी सहकर्मीहरुप्रति आभार व्यक्त गर्दछु । म यो अवसरमा यसअघिका सहकर्मीहरू र उहाँहरुको योगदानलाई पनि सम्झन्छु । भनिरहनु परोइन, तपाईंहरुकै अथक मेहनत, लगनशिलता र इमान्दारिताबिना मकालुखबर यहाँसम्म आइपुग्न सम्भव छँदै थिएन ।

मकालु खबर, बग्रेल्ती सञ्चार संस्थाहरुबिच आफ्नो परिचय र उपस्थिति सिद्ध गर्ने प्रतिबद्धतासहित शुरु भएको हो । चार वर्षको समय धेरै त होइन‚ तर यो समयले हामीलाई धेरै कुरा सिकाएको छ । अप्ठ्यारा दिनहरूमा खुट्टा टेकिरहन, चुनौतीहरूको सामना गर्न, कठिन समयमा विचलित नहुन र निरन्तर आफ्नो इमान र कर्ममा लागिरहन यो अवधिले हामीलाई सिकाएको छ ।

हिजोका दिनबाट सिक्दै हामी भोलिका लागि आज पाइला चालिरहेका छौं ।

समयको बदलिँदो बहावसँगै सूचना, शिक्षा, मनोरञ्जन, अभिप्रेरणा, सामाजिकीकरणजस्ता सञ्चारमाध्यमका आधारभूत कामको प्रस्तुतीकरणको ढाँचाढर्रा पनि फेरिँदो छ । अनलाइन माध्यम हुनुका नाताले विश्वसनीयता आर्जन गर्दै तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने चुनौती पनि सँगसँगै छ । यसैपनि ‘हतारको साहित्य’ भनिने पत्रकारिता अनलाइन विधामा ‘अझ हतारको साहित्य’ बन्न पुगेको छ ।

सूचनाका स्रोतहरुको स्वरुप फेरिँदो छ । सामाजिक सञ्जाल अनि भाइरल बन्ने ध्याउन्नका लागि गरिने ‘पत्रकारिता’का बिच पत्रकारिताका चुनौतीहरू बढ्दा छन् । अलि कठोर रुपमा भन्दा पत्रकारिताबाट प्रश्न हराउँदै गएको भन्न थालिएको छ । अर्कातिर प्रश्न गर्नेहरुप्रति अनुदार ‘सनातनी शासकीय चरित्र’ मा खासै परिवर्तन आउन सकेको छैन । सञ्चारमाध्यमलाई ‘दुःखका बेला शरण पर्ने’ र ‘सुखका बेला गालीगलौज गर्ने’ अचम्मको राजनीतिक र शासकीय चरित्र निर्माण भएको छ । हामी यसप्रति पनि सचेत र सजग छौं ।

प्रजातन्त्रको पुनःस्थापना र लोकतन्त्र स्थापनापछि आम सञ्चारमाध्यमको संख्यात्मक विकास मनग्य भएको तर गुणात्मक विकास हुनुपर्ने जति हुन नसकिरहेको गुनासा र प्रश्नहरू पटकपटक उठ्ने गरेका छन् । यी गुनासा र प्रश्नलाई सधैं हृदयङ्गम गर्दै हामी अघि बढिरहनेछौं । ‘आवाजविहीनको आवाज’ अनि ‘लुकाउन खोजिएका कुराहरू खोतल्ने’ हाम्रो अभिप्राय सधैं रहिरहनेछ ।

हामीले बुझेका छौं, सूचना प्रविधिको विकाससँगै पाठकका स्वाद पनि फेरिँदा छन् । यी विषय सञ्चारमाध्यमका लागि एकातिरबाट चुनौती र अर्कोतिरबाट अवसर हुन् भन्ने लाग्छ । समग्रमा पत्रकारिताको मूल मर्म र मर्यादाबाट रत्तिभर विचलित नभई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

आदरणीय पाठक, कर्मचारीवर्ग‚ विज्ञापनदाता तथा शुभचिन्तक महानुभावहरू, तपाईंहरुको साथ, सहयोग, सरसल्लाह, सुझाव, स्वस्थ आलोचना र खबरदारीले हामीलाई अझ प्रतिबद्ध र परिपक्व भएर अघि बढ्न सघाउनेछ । किनभने यिनै हाम्रा सारथी हुन् ।

सिआर बस्नेत
अध्यक्ष सुलभ मिडिया प्रालि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *