बजेटमा प्रदेश २ : कुन-कुन क्षेत्र छन् प्राथमिकतामा ?

जनकपुरधाम । सरकारले आ.व. २०७८/०७९ का लागि शनिबार अध्यादेशमार्फत बजेट ल्याएको छ । संसद नरहेको अवस्थामा अर्थमन्त्री विष्णु पौडेलले १६ खर्बभन्दा बढीको बजेट ल्याएका छन् ।

बजेटमा प्रदेश २ का लागि गरिएको व्यवस्थाहरुको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ:

सिंचाईतर्फ
– प्रदेश २ का सबै जिल्लाहरूमा सिंचाईको व्यवस्थापन गर्नका लागि सुनकोशी मरिन परियोजना निर्माणका लागि सरकारले २ अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ ।

– धनुषा, महोत्तरी, सिरहा, सर्लाहीसहित आठवटै जिल्लामा सिंचाईलाई व्यवस्थित गर्नका लागि टनेल निर्माण गरिने भएको छ । ४ वर्षभित्रमा उक्त टनेल निर्माणका साथसाथै मूल नहर र सहायक नहर निर्माण गरिनेछ ।

स्वास्थ्यतर्फ
– धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गरिनेछ ।

रेल सेवा तर्फ
– आगामी आर्थिक वर्षमा जयनगर–जनकपुर–कुर्था रेल सञ्चालन गर्ने घोषणा ।

– आगामी वर्ष जयनगर–जनकपुर–कुर्था–विजलपुरा खण्डमा रेल सेवा सञ्चालन गरिनेछ । बर्दिबास स्टेशनको निर्माण कार्य प्रारम्भ गरिनेछ ।

– पूर्वपश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास–निजगढ खण्डको ट्रयाक बेल्ट निर्माण सम्पन्न गरिनेछ । निजगढ–अमरापुरी खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ । वित्तीय व्यवस्था गरी बाँकी खण्डको निर्माण कार्य क्रमशः अगाडि बढाइनेछ ।

पर्यटन प्रवर्द्धनतर्फ

– जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।

– जनकपुरलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न हरेक वर्ष अष्टावक्र शास्त्रार्थसहितको धार्मिक सम्मेलन आयोजना गरिनेछ ।

– सिमरौनगढ, मकवानपरुगढी, सिन्धुलीगढी, जितगढीलगायत ऐतिहासिक गढी–किल्लाको संरक्षण र विकास गरी धार्मिक–सांस्कृतिक तथा सिमसार क्षेत्रमा परिपथ निर्माण गर्न विस्तृत अध्ययन गरिनेछ ।

शिक्षातर्फ
महोत्तरीको जलेश्वरमा ईन्जिनियरङ्ग कलेजको स्थापना गरिनेछ ।

– प्रदेश २ को बर्दिबासमा मेडिकल कलेज स्थापना गर्न जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।

खानेपानीतर्फ
निर्माणाधीन नदी पथान्तरण आयोजनाबाट तराई–मधेश र भित्री मधेशका ठूला शहरमा खानेपानी आपूर्ति गर्नेगरी आयोजना विकास गरिनेछ । पहिलो चरणमा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, र पर्सा जिल्लामा सनुकोशी–मरिन नदी पथान्तरण आयोजनाबाट खानेपानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिनेछ ।

खेलकुदतर्फ
जनकपुरमा प्रादेशिक रङ्गशाला निर्माण गरिनेछ ।

सडक पूर्वाधारतर्फ
– कमला–ढल्केबर–पथलैया सडक खण्डको विस्तार कार्यलाई प्राथमिकता दिइनेछ ।

– त्यस्तै तराई मधेशको हुलाकी राजमार्गका लागि सरकारले ६ अर्ब ३९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

आवास र शहरी विकासतर्फ
सर्लाहीमा अति विपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका लागि जनता आवास कार्यक्रमअन्तर्गत निर्माणधीन घर यसै वर्ष हस्तान्तरण गरिनेछ ।

– जोखिमयुक्त बस्ती स्थानान्त्तरण गर्न र छरिएर रहेका बस्ती एकीकृत गरी खानेपानी, विद्युत, सडकलगायत विकासका आधारभूत पूर्वाधारहरु पुर्‍याउन धनुषालगायतका जिल्लामा एकीकृत बस्ती विकास गरिनेछ ।

– सघन शहरी विकास कार्यक्रमअन्तर्गत विरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, जनकपुर, सिरहा राजविराजलगायतका नगरपालिकाहरुमा सडक, ढल, खानेपानी, मनोरञ्जनपार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधार आयोजनाहरु कार्यान्वयन गरिनेछ ।

– जनकपुर–ढल्केबरलगायतका नगरपालिकाहरुलाई मेगा सिटीमा विकास गरिनेछ ।

हवाई पूर्वाधारतर्फ
– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन निर्माण, लगानीको ढाँचा निर्धारण र तदअनरुपको पूर्वाधार विकास एवं सञ्चालनका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता छनोट गरिनेछ । आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण, साइट क्लियरेन्सलगायत विमानस्थल निर्माणको पूर्वतयारीका कार्य सम्पन्न गरिनेछ ।

– जनकपुर, राजविराज विमानस्थलको विस्तार एवं स्तरोन्नति गरिनेछ ।

स्थानीय पूर्वाधार विकासतर्फ
– प्रदेश २ लगायतका जिल्लाहरुमा तराई-मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिन १ अर्ब ५२ करोड विनियोजन ।

सञ्चार तथा सूचना प्रविधिको विकास
सिरहामा ट्रान्समिटर थप रेडियो नेपालको पहुँच विस्तार गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *