सन्दर्भ : सगरमाथा दिवस

सगरमाथा अर्थात् शेर्पाको जीवन !

नेपालाई विश्वसामु चिनाउने थोरैमध्येको एक हो सगरमाथा । संसारकै शिर भएकाले सर्वोच्च शिखर सगरमाथाले नेपाललाई चिनाइरहेको छ, चिनाइरहने छ ।

सगरमाथाले विश्वमा नेपाललाई त चिनाएको छ नै सँगै शेर्पा जातिलाई पनि विश्वभरी बेग्लै परिचय दिइरहेको छ । सगरमाथाको आरोहण शेर्पाबिना सायदै कम सम्भव भएको होला । धेरै शेर्पा आरोहीकै रुपमा र केही सहयोगीका रुपमा सगरमाथा आरोहणमा संलग्न रहँदै आएका छौं । पहिलो सफल आरोहणमा पनि तेञ्जिङ् नोर्गे शेर्पा हुनुहुन्थ्यो । मुख्यगरी सगरमाथा र अरु हिमाल पनि हामी शेर्पा जातिको आयआर्जनको प्रमुख माध्यम पनि हुन् । हिमाली क्षेत्रका शेर्पाहरु हिमालकै काखमा आँखा खोल्छन् । सोलुमा जन्मेका शेर्पाहरु सगरमाथाको काखमा लुटुपुटु गर्दै र तातेताते गर्दै हुर्कन्छन् । सगरमाथालगायत हिमाल हेर्दै हाँस्छन् र त्यसैलाई आफ्नो सर्वस्व मान्छन् । सगरमाथासँगै साइनो गाँस्छन् । कसैको बाध्यताको गर्जो सगरमाथाले नै टारिदिएको छ भने कसैलाई रहर, अठोट र साहस पूरा गर्ने ठाउँ पनि यहि चुचुरो बनेको छ ।

मैले पाँचपटक सगरमाथाको आरोहण गरेँ । म रहरै रहरले यो क्षेत्रमा तानिएको हुँ । अहिले व्यवसाय नै बन्यो । सोलुखुम्बुमा जन्मिएकोले म हिमालसँगै हुर्किएँ । सगरमाथा आरोहण गर्ने रहर थियो, त्यो पूरा भयो । फेरि फेरि चढौं भन्ने लाग्दै गयो । अहिले म आरोहीहरुलाई सहयोग गर्ने, आरोहण व्यवस्थापन गर्नेलगायत काम गरिरहेको छु । र कहिलेकाहीँ सगरमाथा पनि चढिरहेको छु । मेरो जीविकोपार्जन र आयआर्जनको मुख्य श्रोत नै यही हो ।

हुन त हरेक आरोहण मेरो लागि यो नै अन्तिम पनि हुनसक्छ भनेर हामी गाइड र आरोहीहरुले स्वीकारेका हुन्छौं । बाँचेर फर्किन सकियो भने भाग्यको कुरा हुन जान्छ ।

हिमालले नेपाललाई र शेर्पाहरुलाई विश्वभरी चिनाएको पनि छ र जीविकोपार्जन र आम्दानीको श्रोत पनि बनेको छ । आरोहणको कुरा मात्र होइन पर्वतारोहण, होटल सत्कारलगायतको व्यवसायमा पनि सगरमाथाको विशेष योगदान छ । विश्वभरी सगरमाथाको माध्यमबाट एकखालको बेग्लै साइनो स्थापित भएको छ । हिमाल आरोहण सजिलो कुरा होइन । सगरमाथा आरोहण त झनै सहज हुँदै होइन । मनोवैज्ञानिक रुपमा तयार नभई हिमाल आरोहण गर्न सकिँदैन र यस्तो बेला आरोहण गर्ने आँट पनि गर्नु हुँदैन । यो धेरै नै जोखिमपूर्ण काम हो । हुन त हरेक आरोहण मेरो लागि यो नै अन्तिम पनि हुनसक्छ भनेर हामी गाइड र आरोहीहरुले स्वीकारेका हुन्छौं । बाँचेर फर्किन सकियो भने भाग्यको कुरा हुन जान्छ । नत्र सगरमाथा चढ्ने साहस नै जुटाउन सकिँंदैन । चुनौतीपूर्ण भएकैले यसले दिने आनन्द पनि बेग्लै हुन्छ । आरोहण सफल भएपछि यसले दिने आनन्द र सन्तुष्टिको संसारका कुनै कुरासँग तुलनै हुँदैन ।

आरोही र गाइडसँग मृत्यु नजिकैबाट गुज्रिएका कैयौँ पलहरु हुन्छन् ।

आरोही र गाइडसँग मृत्यु नजिकैबाट गुज्रिएका कैयौँ पलहरु हुन्छन् । तालिमप्राप्त गाइडका कारण सगरमाथामा हुने दुर्घटना अहिले कम भएको छ । तर दुर्घटना शून्यमै झार्न सकिएको छैन । यो क्षेत्रमा लाग्नुअघि तालिम लिएर पोख्त भएपछि मात्र काम सुरु गर्न जरुरी छ । एक हप्ता अघि मात्र मेरो काकाको छोरा सगरमाथा आरोहण कै क्रममा गुम्यो । आरोहणकै क्रममा रहेको ऊ शौचालय जाँदा भएको दुर्घटनामा उसको मृत्यु भयो । धेरै नै दुःख लागेको छ । मन हतोत्साही भएको छ । त्यही कारणले यो पटक म टिमसँग आरोहणमा गइनँ । यस्तो बेला मनलाई आरोहमा मात्र केन्द्रित गर्न कठिन हुन्छ ।

विदेशीहरु आत्मसन्तुष्टिका लागि र रेकर्ड बनाउन सगरमाथा चढ्ने गर्छन् । खतराले भरिएको यो साहसपूर्ण कामप्रतिको विदेशीको मोहले मलाई चकित बनाउँछ । तर हामी शेर्पाहरु भने सन्तुष्टिका लागि मात्र चढ्नेहरु कमै हुन्छौं । हाम्रा लागि सगरमाथा जीविकोपार्जनको माध्यम पनि हो । यो कामबाटै हामी गुजारा र कमाई गरिरहेका हुन्छौं । सगरमाथा त नेपालकै अर्थतन्त्रको महत्वपूर्ण पाटो भइसकेको छ ।

यो वर्ष ठ्याक्कै सगरमाथा आरोहणको समयमा कोरोनाको बिगबिगी भयो । यसले नकारात्मक प्रभाव पारेको छ । नगएपनि मेरै एक टोलीका २ जना पदाधिकारीलाई कोरोना पोजेटिभ देखिएर आरोहणको बिचबाट फर्किनुपर्यो । यस्तो कुराले नकारात्मक प्रभाव त पार्छ नै । तर यो महामारी त विश्वव्यापी हो । हामीले मात्र चाहेर नियन्त्रण गर्न सकिने अवस्था छैन । सबै देश प्रभावित भएका छन् । नेपालको गौरव र सान अनि अर्थतन्त्रको एक मुख्य कुरा भएकाले पनि सगरमाथाको संरक्षण र सरसफाईमा सबै निकायको संलग्नता र चासो बढी जरुरी छ ।

सगरमाथा र हिमालहरु शेर्पाको जीवन हो । शेर्पाको जीवनबाट हिमाललाई अलग गर्नै सकिँंदैन । त्यसो त आरोहणका हिसावले शेर्पाहरु पनि हिमालबाट निकाल्नै नसकिने नाम बनेका छन् । वर्षौँदेखिको हिमाल र शेर्पाको सहकार्य वर्षौंसम्म चल्न सकोस् । हिमाललाई माया गरौं । सगरमाथालाई माया गरौं । यो हाम्रो मान, शान र पहिचान हो । यसलाई बचाउन सके मात्र हामी पनि विश्वमा सगरमाथाको देशका नागरिक भनेर चिनन पाउँछौं । सगरमाथा दिवसको सबैलाई शुभकामना ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *