कोभिड-१९: अमेरिकी निर्णयप्रति चीनको आक्रोशपूर्ण प्रतिक्रिया

काठमाडाैँ । चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ । उसले कोभिड-१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ ।
कोभिड-१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो । त्यसयता विश्वभरि १६ करोड ८० लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने ३५ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।
चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए जसलाई आधार मान्दै अग्रणी वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसै वर्षको स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको टिप्पणी गरेको थियो ।
उक्त अध्ययनका सहभागी डब्लयूएचओका भाइरोलोजिस्ट मारियोन कुपमेन्सले अमेरिकी निकायहरूसँग कुनै थप सूचना भए उनीहरूले त्यो उपलब्ध गराउनुपर्ने बताए । तर अमेरिकी सञ्चारमाध्यमका पछिल्ला विवरणहरूमा उक्त भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएका प्रमाणहरू बढ्दै गएको र सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने उल्लेख गरिएका छन् ।
अहिले किन विवाद भइरहेको छ ?
बुधवार दिएको एउटा वक्तव्यमा राष्ट्रपति बाइडनले कोभिड-१९ को उत्पत्तिबारे प्रतिवेदन तयार गर्न भनेका थिए । उनले मानव र सङ्क्रमित जनावरको सम्पर्क वा प्रयोगशालामा दुर्घटना कुन कारणले सङ्क्रमण देखियो थप अध्ययन हुनुपर्ने उल्लेख गरेका थिए ।
अहिलेसम्म त्यही दुईवटा कारणको सेरोफेरोमा अधिकांश गुप्तचरी निकाय घुमिरहेको भन्दै थप सूचना सङ्कलन गरी निश्चित निष्कर्षमा पुग्ने प्रयासलाई अभिवृद्धि गर्न आफूले निर्देशन दिएको बाइडनको भनाइ थियो । बिहीवार बाइडनले संवाददाताहरूलाई उनले ‘आफूले थाहा पाएको कुरा नभएसम्म’ उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएका थिए ।
त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिका र अरू देशहरूले भाइरसको उत्पत्तिबारे थप बुझ्न गरिरहेको प्रयासलाई स्वागत गरेका थिए । अमेरिकी घोषणाले चीनलाई आक्रोशित बनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले ‘तथ्य वा वास्तविकतालाई ध्यान नदिने र उत्पत्तिबारेका गम्भीर वैज्ञानिक अध्ययनमा उसको शून्य चासो” रहेको प्रतिक्रिया दिए । उनले भ्रामक सूचना दिने मामिलामा अमेरिकी गुप्तचर निकायको अँध्यारो विगत रहेको पनि उल्लेख गरेका छन् । –बीबीसी








