दूरगामी प्रकृतिका निर्णय नगर्न सरकारलाई सभापति देउवाको खबरदारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरू नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको भन्दै यस्तो अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न खबरदारी गरेका हुन् ।
त्यस्तै वर्तमान अवस्थामा कोभिड-१९ को रोकथाम र उपचारमा केन्द्रित हुँदै न्यून आय भएका नागरिक, साना व्यवसायी, श्रमजीवीहरूको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न पनि सरकारसँग माग गरेका छन् ।
सभापति देउवाले कोभिडविरुद्धको खोपको आपूर्ति तत्काल गर्न, देशभर आवश्यकताअनुसार आईसीयू बेड, अक्सिजनको व्यवस्था गर्न र न्यून आय भएकालाई निःशुल्क उपचारको सुनिश्चितता गर्नसमेत माग गरेका छन् । त्यस्तै देशका हरेक गाउँ/नगरपालिका र वडा तहसम्म पीसीआर परीक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान सञ्चालन गर्न, ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न, निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताको आवश्यकतालाई केन्द्रबिन्दुमा राखी त्यसको कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
‘विदेशी मित्रराष्ट्र त संघ-संस्थाहरूबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘खोप लगायत स्वास्थ्य सामग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरूसँग माग गर्दछु ।’









