जसपा विवाद

प्रदेश २ सरकारबाट राजपा ‘आउट’ हुनसक्ने

जनकपुरधाम । केन्द्रीय राजनीति खिचातानी र जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवादको असर प्रदेश २ को सत्ता समीकरणमा पर्ने सम्भावना पछिल्लो समय बलियो हुँदै गएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रमा नयाँ सरकार गठनको असफल प्रयास, संसद् विघटन तथा जसपाका आन्तरिक किचलोका कारण प्रदेश २ मा सरकार परिवर्तन हुने सम्भावना बढेको हो ।

प्रदेश २ मा अहिले जनता समाजावदी पार्टी (जसपा) को नेतृत्वमा एकल बहुमतको सरकार छ । २०७४ फागुनमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)को सहभागितामा बहुमतको सरकार बनेको थियो । त्यसको करिब तीन वर्षपछि ०७७ वैशाख १० मा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र महन्थ ठाकुर, राजेन्द्र महतोसहित ६ अध्यक्ष सम्मिलित राजपाबीच एकीकरण भएर जसपा बनेको हो । तर पार्टी समायोजन नहुँदा हालसम्म प्रदेश सभामा दुवै दल पूर्ववत् अवस्थामै छन् ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमले जसपा झण्डै–झण्डै फुटको संघारमा पुगेको छ । यसको प्रत्यक्ष प्रभाव प्रदेश २ को सत्ता समीकरणमा पर्ने लगभग निश्चितजस्तै देखिन्छ । स्रोतका अनुसार प्रदेश २ मा सत्ता साझेदार पूर्वराजपालाई अलग गरेर नयाँ सरकार बनाउने आन्तरिक तयारी समेत सुरु भइसकेको छ ।

जसपाभित्र पछिल्लो समय केन्द्रमा उपेन्द्र यादव वैकल्पिक सरकार गठनको पक्षमा उभिएका छन् भने महन्थ–राजेन्द्र ओली सरकारकै निरन्तरताको पक्षमा उभिएका छन् । यसपछि जसपाभित्रको विवाद झन् उग्र बनेको हो । जसपा अब औपचारिक रूपमा अलग हुनमात्रै बाँकी रहेको स्वयं जसपाकै नेताहरूले बताउन थालेका छन् ।

जसपा सांसद उमाशंकर अरगरीयाले पार्टी कुनै पनि हालतमा फुट्न नहुने पक्षमा आफू रहेको तर केन्द्रको विवादको असर चाँही प्रदेश सरकारमा पर्ने स्वीकार गरे । उनले पार्टी फुटेको खण्डमा भन्न नसकिने तर पार्टी नफुटे पनि प्रदेशका केही मन्त्री परिवर्तन हुनसक्ने संकेत गरे । सांसद अरगरीयाले मकालु खबरसँग भने, ‘पार्टी फुटेको खण्डमा नयाँ समीकरण बारेमा अहिले नै भन्न सकिने अवस्था छैन, तर पार्टी नफुटे पनि प्रदेशका केही भ्रष्ट मन्त्रीहरुलाई बिदा गर्नुपर्ने बेला आएको छ ।’
केही दिनयता एक पक्षले अर्को पक्षलाई कारबाही स्वरुप स्पष्टीकरण सोध्ने क्रम पनि चलिरहेको छ । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र समूहको दुई तिहाई बहुमत रहेको छ भने ३२ सांसद रहेको जसपाको विघटित संसदीय दलमा ठाकुर–महतो पक्षको स्पष्ट बहुमत रहेको छ ।

केन्द्रमा उपेन्द्र समूहका केही सांसद महन्थ–राजेन्द्र समूहतिर लागेका छन् भने महन्थ–राजेन्द्रका केही सांसद उपेन्द्र समूहतिर लागेका छन् । तर प्रदेशमा आफ्नो कुनै पनि सांसदले खेमा परिवर्तन नगरेको बरु पूर्वराजपाकै केही मन्त्री तथा सांसदहरू आफ्नो समूहको पक्षमा आएको उपेन्द्र समूहको दाबी छ ।

जसपा प्रदेश सांसद रामअशिष यादवले केन्द्रीय विवादको असर प्रदेशमा पनि पर्ने स्वीकार गरे । तर उनले केन्द्रीय नेतृत्वहरू सुझबुझका साथ निर्णय गर्नेमा आफू आशावादी रहेको बताउदै विवाद समाधान नभए प्रदेशमा नयाँ समीकरण बन्न सक्ने संकेत गरे ।

सांसद यादवले भने, ‘जसपा औपचारिक रूपमा विभाजित भएको अवस्थामा प्रदेश २ मा उपेन्द्र यादव पक्ष, कांग्रेस र माओवादी केन्द्रको सहभागितामा सरकार बन्ने बलियो सम्भावना रहेको छ, यदि एमालेको माधव नेपाल पक्ष समूह छुट्टिएर आएको खण्डमा उनीहरूलाई पनि नयाँ सरकारमा सहभागी गराउन सकिनेछ ।’

हाल प्रदेश २ मा जनता समाजवादी पार्टीभित्रका तत्कालीन संघीय समाजवादी फोरमका ३० र राजपाका २५, एमालेका २१ (नेपाल समूह १३ र ओली समूह ८), काँग्रेसका १९ र माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसद छन् । यसअघि प्रदेश सभामा सदस्य संख्या १ सय ७ रहेकोमा एमाले ओली पक्षतिर लागेका एक समानुपतिकसहित आफ्ना चार प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । तर माओवादी केन्द्रले खाली समानुपातिक कोटामा सांसद चयन गरिसकेकाले अहिले प्रदेश सभामा कायम जम्मा सदस्य संख्या १०४ छ । यस हिसाबले प्रदेश २ मा बहुमतको सरकार बनाउन कम्तिमा पनि ५३ सांसद चाहिन्छ ।

माओवादी केन्द्र प्रदेश २ संसदीय दलका नेता भरत साहले प्रदेशमा नयाँ सत्ता समीकरणबारे अग्रगमन पक्षहरुसँग आफूहरुले छलफल थालिसकेको बताए । उनले केन्द्रकै समीकरणअनुसार प्रदेशमा पनि माओवादी केन्द्रसहित उपेन्द्र समूह, कांग्रेस र एमाले माधव समूहबीच नयाँ समीकरण बन्ने दाबी गरे । सोही अनुसार आफुले गृहकार्य थालेको बताए ।

प्रदेश सभामा कायम सदस्य संख्या १०४ मध्ये अहिले उपेन्द्र पक्षका ३०, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ जोड्दा विपक्षीतर्फ सांसदको संख्या ५७ पुग्छ । जुन सरकार बनाउनका लागि पर्याप्त छन् । त्यसमा एमाले माधव समूह सामेल हुन आएको खण्डमा उनीहरुसँग पनि १३ सांसद रहेका छन् ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफुहरु सबै विकल्पको लागि तयार रहेको बताउदै परिस्थिति आए केन्द्रीय समीकरणअनुसार प्रदेश सरकार निर्माणका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले जसपाभित्र उपेन्द्र पक्ष र एमालेभित्र माधव भएर आएपछि छलफल अगाडि बढाउने उनले बताए ।

पछिल्लो समय जसपाको विवाद उत्कर्षमा पुगेको बेला विपक्षी दलका नेताहरु प्रदेशको सत्ता समीकरण हेरफेरका लागि तीव्र कसरतमा लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *