प्रदेश १ : अस्पतालमा अक्सिजन अभाव, नोबेलले लिन छाड्यो बिरामी

विराटनगर । प्रदेश १ मा अक्सिजन अभाव शुरु भएको छ । भाजुरत्न अक्सिजन कम्पनीको प्लान्ट बिग्रिएपछि अहिले अस्पतालहरूमा अक्सिजन अभाव शुरु भएको हो । अक्सिजन अभावका कारण बुधबारदेखि कतिपय अस्पतालहरुले अक्सिजन आवश्यक भएका कोरोना संक्रमित र अन्य  बिरामी भर्ना गर्न छाडेका छन् ।

अक्सिजनको समस्या देखाउँदै नोबेल मेडिकल कलेजले तत्काललाई बिरामी भर्ना नलिने जनाएको छ । सोमबारदेखि भाजुरत्नको प्लान्ट बिग्रिएपछि अस्पतालमा अक्सिजन अभाव भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । दैनिक १०० सिलिन्डर अक्सिजन ल्याउँदै आएकोमा प्लान्ट बिग्रिएर एक दिन ढिला हुनसाथ समस्या भएको दाहालले बताए ।

नोबेल अस्पतालले १८० वटा ठुला सिलिन्डरमा कोरोना संक्रमितका लागि तयारी अवस्थामा अक्सिजन राख्ने गरेको छ । अहिले अस्पतालमा १७१ जना संक्रमित छन् रहेकोमा सबै अक्सिजनमा राखेर उपचार गर्नुपर्ने खालका संक्रमित रहेकाले नयाँ संक्रमित भर्ना नलिने भनिएको दाहालले मकालु खबरलाई जानकारी दिए । १७१ संक्रमितमध्ये २७ जना भेन्टिलेटरमा छन् । आईसीयूमा ३९ जना रहेका छन् भने बाँकीलाई नर्मल बेडमै राखेर अक्सिजन दिइराखिएको छ ।

‘आज रातका लागि विभिन्न उद्योगहरुमा गएर अक्सिजनको व्यवस्था मिलाइएको छ,’ दाहालले भने, ‘अक्सिजनको अभाव भएकाले थप बिरामी भर्ना लिन नसक्ने अवस्था छ ।’ अक्सिजनाको अभाव भएपछि तत्काललाई संक्रमितलाई भर्ना नगर्ने भनिएपनि अवस्था सहज भएमा बिरामीलाई भर्ना लिन समस्या नभएको दाहालले बताए ।

विराट मेडिकल कलेजमा पनि अक्सिजन अभाव भएको छ । तर संक्रमितको संख्या घट्दै जाँदा विराटको मेडिकल कलेजले भने उपचारका लागि संक्रमितलाई भर्ना लिइरहेको छ । विराट मेडिकल कलेजको कोभिड संयोजक सुनिल देवले अस्पताललाई चाहिने ३ सय सिलिन्डर पाउनै मुश्किल हुन थालेको बताए ।

‘हामीलाई दैनिक ३ सय सिलिन्डर चाहिन्छ,’ देवले भने, ‘पहिला १ दिनको स्टकमा राख्ने गरिएको थियो, अहिले अक्सिजन अभाव हुँदा ४ घण्टाका लागि मात्र अक्सिजन स्टकमा राख्ने गरिएको छ ।’ तत्काल अक्सिजन आवश्यक परेको बेलामा लिन जाने हो भने कतैपनि अक्सिजन नदिने गरिएको तथा लामो लाइनमा बस्नु पर्दा अस्पताललाई समस्या हुने गरेको उनले बताए । अक्सिजन अभाव हुनुको कारण भनेको भाजुरत्नको प्लान्ट बिग्रिएको, प्रदेश २ तथा अन्य प्रदेशमा अक्सिजनको निर्यात हुँदाको असर भएको अस्पतालका व्यवस्थापकहरू बताउँदै आएका छन् ।

कोशी कोभिड अस्पतालका व्यवस्थापक बैजनाथ साहले तत्काल आवश्यक परेको बेला अक्सिजन पाइँदैन कि भन्ने समस्या भएको बताए । कुनै सम्भावित घटना हुन नदिनका लाग १०० सिलिन्डर अक्सिजन अस्पतालमा स्टकमा रहनुपर्ने उनले बताए । ९६ जनामा सबै नै अक्सिजनका बिरामी रहेकाले जुनसुकै बेला अक्सिजनको समस्या आउने हो कि भन्ने चिन्ता रहेको साहले जानकारी दिए । तर अस्पताल प्रशासनले व्यवस्थापनका लागि काम गरिरहेको जनाएको छ । ‘अहिलेसम्म अभाव हुन दिइएको छैन, उनले भने, ‘आवश्यक परेको बेला हामीले मजदुर र ट्रक पठाउने गरेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *