स्वास्थ्य कार्यक्रमका लागि प्रदेश सरकार नागरिकबाट पैसा उठाउने तयारीमा

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’लाई नागरिकबाट पैसा उठाउने बताएकी छन् । नागरिकबाट पैसा संकलन गरेर विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको उनले बताइन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा अधिकारकर्मीको सुझाव लिने क्रममा उनले विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरी प्रदेशवासीबाट सहयोग संकलन गरिने बताइन् । उनले त्यही सहयोग संकलनबाट उपचार कोष निर्माणको अवधारणा अघि सारिएको बताइन् ।

प्रदेश १ का कुनै पनि नागरिक नछुटुन् भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्न सकिने गरी अवधारणा तय गरिएको मन्त्री राईले बताइन् । ‘सम्पन्न व्यक्तिहरू हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन्,’ उनले भनिन्‚ ‘गरिब जनता स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भनेर सहयोग संकलन अवधारणा ल्याइएको हो ।’ सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरी सरकारले ‘एप्लिकेसन’ निर्माण गर्ने मन्त्री राईले जानकारी दिइन् । उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राखिनेसमेत उनले दाबी गरिन् ।

सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको जानकारी दिइन् ।

सुझाव दिने क्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले महिला, बालबालिका, जेष्ठ नागरिकसम्बन्धीको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझाव सँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गरिन् । सामाजिक क्षेत्रले उठाएका सवालहरुलाई सरकारले दीगोपना दिनुपर्नेमा अधिकारकर्मीले जोड दिएका थिए । माइती नेपालका मोरङ संंयोजक विनोद पोखरेल, एबीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले अधिकारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =