कोरोनाजस्तै लक्षण भएका एकै गाउँका १३ जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको एउटा गाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका १३ जनाको मृत्यु भएको छ । जिल्लाको भंगहा नगरपालिका- ४ रामनगर विर्तामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका १३ जनाको मृत्यु भएको हो ।

रामनगर विर्ताका प्रेमनगर टोल बस्ने ५० वर्षीया आशा देवी महतोको श्वासप्रश्वासमा समस्या देखिएर जेठ २ गते मृत्यु भयो । उनलाई वैशाख अन्तिम साता समान्य रुघाखोकी लागेपछि गाउँकै स्वास्थ्य चौकीमा औषधि उपचार गराइएको थियो । पछि श्वासप्रश्वासमा समस्या देखिन थालेपछि जेठ १ गते थप उपचारका लागि परिवारले जनकपुरको सिटी अस्पताल भर्ना गरे ।

सिटी अस्पतालबाटै कोरोना परीक्षणका लागि स्वाब संकलन गरियो । रिपोर्ट नआउँदै भोलिपल्ट बिहान अस्पतालले भन्टिलेटरमा राख्नुपर्ने भनेपछि आमालाई प्रादेशिक अस्पतालको भेन्टिलेटरमा लैजाने क्रममा बाटैमा मृत्यु भएको मृतक आशाकी छोरा विजय महतोले बताए । मृत्युको भोलिपल्ट मृतक आशाको रिपोर्ट कोरोना पोजेटिभ रहेको आयो ।

आमाको मृत्युपछि मृतकका छोरा विजय तथा ११ र १४ वर्षका दुई नातिको कोरोना परीक्षण गरिएपछि रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अन्यको कोरोना परीक्षण गर्दा विर्ता टोलमा मात्रै ४७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय महोत्तरीकी कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन् ।

सोही टोलका दाजुभाइ राजकुमार महतो र रामकुमार महतोको एकसाताअघि कोरोनासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु भयो । तर, उनीहरुको कोरोना परीक्षण भने गरिएन ।

स्थानीयले भने आशादेवी, रामकुमारसहित गाउँका १३ जनाको कोरोनाको कारण मृत्यु भएको दाबी गरेका छन् । तर कोभिड फोकल पर्सन सिंहले मृत्युअघि वा पछि पनि सबै मृतकको कोरोना परीक्षण नभएको हुँदा सबैको मृत्यु कोरोनाकै कारण भएको हो भन्न नसकिने दाबी गरिन् ।

जेठ ९ गते कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ५० जनाको स्वाब संकलन गर्दा २८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने दोस्रो चरणमा पुनः ६९ जनाको स्वाब संकलन गरिएको छ । त्यसको रिपोर्ट भने आउन बाँकी छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता भंगहा नगरपालिकामा मात्रै १ सय १ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये रामनगर विर्ताकै ४७ जना छन् । गाउँमा कोरोना संक्रमण फैलिएपछि स्थानीयमात्रै नभएर त्यस आसपासका अन्य गाउँमा समेत त्रास बढेको छ ।

संक्रमण फैलिन थालेपछि गाउँ नै सील
जिल्लाको भंगहा नगरपालिका- ४ रामनगर विर्तामा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि गाउँ नै सील गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले १० दिनका लागि गाउँ सिल गरेपनि आवश्यकताअनुसार निषेधाज्ञा पुनः थप गर्न सकिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

पूर्व र दक्षिणमा भुताहा खोला, पश्चिममा रातुखोला र उत्तरमा बर्दिबास नगरपालिकाको सीमा क्षेत्रसम्मको एरिया सील गरिएको छ । गाउँबाट बाहिर आउन जान रोक लगाइएको छ ।

महोत्तरीमा ६२ को मृत्यु, दुई हजार संक्रमित
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता महोत्तरीमा ६२ जनाको मृत्यु भएको छ । यसबीचमा करिब दुई हजारमा संक्रमण पुष्टि भएको छ । अचेल जिल्लामा दैनिक करिब एकसय जनाको हाराहारीमा संक्रमित थपिँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चैत ३० यता जिल्लामा कोरोना संक्रमणका कारण ६२ जनाको मृत्यु भएको र १ हजार ९२५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीकी कोभिड फोकल पर्सन सिंहले बताइन् । तर त्यसबाहेक पनि धेरैको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएपनि उनीहरुको परीक्षण नै नभएकाले सो मृत्यु कोरोनाकै कारण भएको स्थानीयहरुले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *