झोँकतन्त्रको चेपुवामा लोकतन्त्र

रत्नपार्कमा कपडा व्यापारी चिच्याउँदै थियो‚ ‘लौ लिनुस्‚ ५० हजारको चमत्कारी कट्टु ।’ आधा लाख पर्ने कट्टुबारे बुझ्न मानिसको भीड लागेछ । एकजना उत्सुकले सोधेछन्‚ ‘यसमा के विशेषता छ र यति महँगो मोल तिर्नुपर्ने ?’ व्यापारीले भनेछ‚ ‘लगाएर त हेर्नुस्‚ अनि थाहा पाउनुहुन्छ यसको चमत्कार ।’ त्यो मानिसले हिम्मत जुटाएर आधा लाखमा कट्टु किनेर त्यसको महिमा सोध्यो । पसलेले कट्टु लगाएर नजिकैको पाँचतले घरको छानामा जान भनेछ । पसलेको भनाइबाट उसलाई आफू ‘सुपरम्यान’ भएको घमण्ड पलाइसकेको थियो । कट्टु किन्ने ग्राहक एक सासमा पाँचतलामाथि पुगेछ । ‘अब के गरौं ?’ व्यापारीले हौस्याउँदै भनेछ‚ ‘अब निःशंकोच हामफाल्नुस् ।’ आँखा चिम्लिएर हामफालेको एकछिनमै शरीरका अंंगप्रत्यंग छताछुल्ल भएर कट्टुवाला ईश्वरको प्यारो भएछ । यो दृश्यपछि बढेको उत्तेजित भीडलाई व्यापारीले ठाँटका साथ भनेछ‚ ‘देख्नु भो ? मान्छे धुलोपिठो हुँदा पनि कट्टु जस्ताको त्यस्तै छ ।’

व्यापारीको चमत्कारी कट्टुको विज्ञापन र नेपालको लोकतान्त्रिक व्यवस्थाको महिमा उस्तै उस्तै हुने गरेको छ । लोकतन्त्रको मुटु मानिने संसद एउटा सन्की राजनीतिक जागिरेको सनकमा खरानी बनाउने अघोषित परम्परा बस्दै आएको छ । उसको यही सन्की र अराजक क्रियाकलापलाई लोकतान्त्रिक व्यवस्था कालजयी बनाउने अचुक अस्त्र मानिदिनुपर्ने विचित्रको दर्शन स्थापित गराउने कोशिस नयाँ होइन । २६ वर्षअघि गिरिजाप्रसाद कोइरालाले शक्ति उन्मादमा संसद सिध्याउँदा त्यो कदमलाई लोकतन्त्रको उच्च नमूना भनेर सडकमा उत्रिने लठैतहरुको फोटोकपी केपी ओलीकालमा अझ बज्र भएर सार्वजनिक भएका छन् । भाटहरुलाई व्यवस्थासँग नभएर अवस्थासँग मात्र सरोकार हुन्छ । प्रजातन्त्रको सक्कली अनुहार आफ्नै सहकर्मीमाथि ठोकतन्त्र हुँदै झोँकतन्त्रमा टुंगिन्छ । अन्ततः समृद्धिको नारा भोकतन्त्रको सदावहार अन्तरामा बजिरहन्छ । झुटतन्त्रले फुटतन्त्रलाई निम्तो दिन्छ । राजा त्रिभुवनले सात दशकअघि आश्चर्यचकित हुँदै भन्थे रे‚ ‘के हाम्रा जनता जाबो दूध र भात पनि खान पाउँदैनन् त ?’ केपी ओलीलाई बोक्ने भाटहरूले जस्तै त्यहीबेला त्रिभुवनलाई दिउँसै सपना देखाएका थिए । यो प्रवृत्तिको कर्म भनेकै शासकलाई मनपर्ने खुराकीको खोजी हो । उम्लेको पानीले अण्डालाई कडा बनाउँछ तर त्यही पानीले आलुलाई नरम बनाउँछ । त्यसैले आफू कस्तो बन्ने भन्ने अरुको व्यवहार होइन, आफ्नै चरित्रमा भर पर्छ ।

प्रधानमन्त्रीको कुर्सीमा बसेपछि धेरैलाई कर्तव्य कम, उन्माद बढीले उक्साउने गरेको छ । राजनीतिका हरेक पृष्ठ म्युजिकल चेयरभन्दा माथि उठेन । सूर्यबहादुर, लोकेन्द्रबहादुर, कमल थापाकै दूरविनबाट गणतन्त्रको अनुहार नियाल्नुपर्ने भएपछि मुक्तिका आवाज प्रहसन सिवाय केही होइन । जब कालो अरिंगाल भएर कम्युनिष्टका शीर्ष नेताहरु आफ्नै सहकर्मीमाथि आइलागेको भद्दा दृश्यले भन्छ- यिनीहरू बाह्रमासे जुवाडे हुन्, जो एक दाउका लागि निकृष्ट कर्म गर्न पनि पछि हट्दैनन् । उनीहरुले घोकेका साम्यवादी जार्गन लुट्ने मन्त्र हो । जुन देशका नेताका लागि जनताको भोट अपराध गर्ने लाइसेन्स बन्छ भने त्यसलाई विधिको शासन कसरी मान्न सकिन्छ ? मार्क्स, लेनिन, माओ देखाउने मोहरामात्र हो, उनीहरुको दर्शन अवसरवाद हो । ईश्वर नाम भएका मन्त्रीलाई ‘ईश्वर’सँग एलर्जी हुन्छ । पशुपतिनाथलाई करोडौंको सुन चढाउने प्रधानमन्त्री ‘ईश्वर’सँग भागेर सपथको भाषा अध्यादेशबाट परिवर्तन गराउँछन् । ताक परे होलिवाइन दोहोरिए आश्चर्य नमाने हुन्छ । यो कुनै निष्ठाबाट गरिएका कर्म होइनन् । फाइदाका लागि जे पनि गर्ने असली पाखण्डी चरित्र हो । यदि यस्तो नहुँदो हो त कम्युनिष्ट नेतामा व्यक्तिगत सम्पत्ति जोड्ने प्रतिस्पर्धा कसरी विकास हुँदो हो ?

राजनीति नामको उद्योगमा लाग्नेको अपवाद छाडेर भलो भएको छ । त्यसमाथि हातमा दाम हुनेहरू नै राजनीतिका डन हुने निर्वाचन प्रणालीका कारण आर्थिक उन्नतिको फास्टट्र्याकमा सबैको चासो बढेको हो । हिङदेखि हिरा व्यापारीसम्म राजनीतिक महत्वाकांक्षा चुलिनुको कारण पनि यही हो । नेता आफैंमा गलत होइनन् । गलत त यस्ता बिरुवा उत्पादन गर्ने नर्सरी हो ।

दशैंको टीका लगाउँदा समाजका भ्रष्ट पात्रको उदाहरण दिएर आफ्नो स्वधर्ममा कहिल्यै सम्झौता नगरेको छोरालाई अनैतिक काम गर्न उक्साउने बाउहरु यो देशमा कति छन् ? भगवान शिव, राम, हरि, सीताजस्ता सत्चरित्रवान देवताको नाम राखेर आफ्नो सन्तानको अनुहारमा त्यस्तै पराक्रम खोज्ने कतिका अभिभावक फाटेको टोपीले पसिना पुछ्दै सपनाको खाडलबाट निस्कने प्रयास गर्दै होलान् ! कांग्रेस नेता रामचन्द्र पौडेलका बाले घाँटी घाँटीसम्म रामायण कण्ठ गरेर आफ्नो उत्तराधिकारीबाट रामराज्यको राम कल्पना गरे होलान् । भगवान रामचन्द्रको रामराज्य यस्तो विधिमा चलेको थियो कि अपराधी आफैं सरासर जेल जान्थ्यो । शिरमा एउटा रौं फुल्यो भने बाउले छोरालाई गद्दी हस्तान्तरण गर्थ्यो । दामचन्द्रहरुले चलाएको राज्य यस्तो अनौठो परिदियो कि नातिको भागसम्म पनि हजुरबा पुस्ताले भ्याएका छन् ।

हाम्रा नेताहरु सर्पको मुखमा परेको भ्यागुतो जस्ता भएका छन, जो कालको मुखमा पुग्दा पनि किरा फट्याङ्ग्रा भोजन गर्न चुक्दैन । समय यस्तो शक्तिशाली वस्तु हो, जसले सत्यबाहेक संसारका सबैथोक पखालेर लैजान्छ । जो मानिस जुन समयमा जन्मिन्छ, त्यो नै उसको समय हो । यदि समय बलवानले ठेक्कामा लिन सक्ने भइदिएको भए महाभारत, वेद, पुराण, रामायण लेख्ने ती कलमबाजले किन पो यो संसार छाड्न मान्थे होलान् र ? मानिसको जिन्दगीलाई दुईदिने त्यसै भनिएको होइन । एकदिन अनुकूल, अर्को दिन प्रतिकूल हुन्छ । अनुकूलमा जमिन नछोड्नु र प्रतिकूलमा धैर्य नगुमाउनु त्यसको मूल मर्म हो । जबसम्म पाप पाक्दैन, तबसम्म जताततै हरियाली छाउँछ ।

आफूलाई मैमत्त शक्तिशाली लाग्छ । समयको चक्र जब अर्को गतिबाट चल्छ नि, त्यसबेला अक्करेभीरको यात्रा पनि फिक्का लाग्छ । यो कसैलाई सोधेर आउँदैन । न भीसा, पासपोर्टकै दरकार पर्छ । हरेक मानिसको फल्ने, फुल्ने, झाँगिने एउटा आयतन हुन्छ । बीरबल बुद्धिमानी थिए, तर बुद्धिको आडमा राजा बन्न सकेनन । राजा हुने बाटो त तिनै मूर्ख भनिएका अकबरले समातेका थिए । पदमा बस्दा हेक्का राख्नुस्– तपाईँसँग ल्याण्डरोभर होस् या साइकल आखिर कुदाउने बाटो उही हो । पिलपिले घडी लाउनुस् या रोलेक्स– समय उही छ । तपाईं जहाजको इकोनोमी क्लासमा यात्रा गर्नुस् या बिजनेस– गन्तव्य पुग्ने समय उही नै हो । हेर्नुस् त‚ मान्छेको चाहना उड्न पाए हुन्थ्यो तर चराको चाहना आफ्नै घर भए हुन्थ्यो । फरक यत्ति हो । प्लम्बर जतिसुकै दक्ष भएपनि आँखाबाट झरेको आँसु रोक्न सक्ने तागत उसँग हुँदैन । मानिसजस्तै प्रकृतिका अन्य संरचना जीवजन्तुले पेटभर खान्छन्, भोलिको चिन्ता गर्दैनन् । मानिसमात्र त्यो प्राणी हो, जो सन्तान दरसन्तानको अनन्त रहर मेटाउन अहिले लागि पर्छ । उस्तै परे गर्भमा नरहेको शिशुको चिन्ता गर्छ । तपाईंले खान नपाएर आजसम्म एउटा जंगली जनावर मर्‍यो भन्ने खबर सुन्नुभएको छ ?

सरकार चलाउनेहरुले नेपालमा बारम्बार दुईवटा कामको अभ्यास गर्छन्– एउटा निर्देशन दिने र अर्को निरन्तर बैठक बस्ने । निर्देशन दिनेले दिन्छ, सुन्नेले सुन्छ । न निर्देशन दिनेलाई दिएको निर्देशन पालना भए/नभएको खोज्ने फुर्सद छ, न निर्देशन पाउनेले पालना गर्नुपर्छ भन्ने बाध्यता नै छ । जीब्रोमा अंग्रेजी झुण्डिएर के गर्नु, कालो बिरालोले बाटो काटेका नाममा स्वस्ति शान्ति गराउने झन् बढेका छन् । चलनका नाममा साउन महिनामा कपाल नकाट्ने, साउने पानी छल्न बुहारी माइत कुद्ने क्रम रोकिएको छैन । मंगलबार र शुक्रबार अशुभ हुन्छ भनेर घरको चोटा नकाट्नेहरू नछाँटिदा हवाइजहाज कम्पनीहरुले सहुलियत टिकटको उर्दी लाउनु परेको छ । त्यसैले संसारमा कसैले नगरेको नयाँ काम गर्छु भनेर उचालिनुको कुनै तुक छैन ।

नेपालमा १० वर्षमा १३ सरकार फेरिए । ती सबैको पहिलो कर्तव्य काम नभएर निर्देशन दिने हो । पद बहाल हुँदा निर्देशन, निस्कँदा टीभीबाट जनताका नाममा सम्बोधन । अनि पदमा जाँदा उत्साह, झर्दा विलाप । कुर्सी पाउँदा जनता र लोकतन्त्रको सम्मान, कुर्सी खोसिँदा जनताको अधिकारमा कुठाराघात । राजनीतिमा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका उदाहरण हुन् यी ।

राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट हुन्छ । त्यहाँबाट प्रधानमन्त्रीले बोकेर फर्किने कोसेली भनेको फगत निर्देशन हो । राष्ट्रपतिले प्रधानमन्त्री, प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव, सचिवले सहसचिव बोलाउने अनि कामको नभएर निर्देशनको सरुवा, बढुवा गरिन्छ । त्योभन्दा मुनि हजारौंको संख्यामा रहेका सरकारी अधिकारी, कार्यालय सहयोगी, चालक अनि मालीसम्मलाई निजामती ऐनले ट्रेड युनियनको राजनीतिक अधिकार दिएको छ । त्यो शक्तिलाई कसैको निर्देशन मान्नुपर्ने बाध्यता छैन । बरु उस्तै परे मन्त्री र सचिव पँजनीको हैसियत बोकेर उनीहरु बसेका छन् ।

मन्त्रीहरुको साँचो सल्लाहकारको भूमिका तिनै खरिदार, मुखियाले निभाइरहेका हुन्छन् । स्वकीय सचिवको जिम्मेवारी चालक र घरमा भात पकाउने भान्सेले धानिरहेका हुन्छन् । ठूला मानिसका घरको फूल गोड्ने माली पनि करोडौंका डिलमा व्यस्त हुन्छन् । एक लिटर पेट्रोल सित्तैमा पाउन ग्राहक खोज्नेहरू शक्तिकेन्द्रको निकट पुग्नासाथ रातारात आयल निगम निजीकरण गर्ने तानाबाना बुन्न थाल्छन् । जनप्रतिनिधिको चयनपछि यो क्रम वडासम्म पुगेको छ । यदि यस्तो नुहुँदो हो त राजनीति र अपराध उहिल्यै छुट्टिनु पर्थ्यो । राजनीतिक नेतृत्व भन्छ– स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँ पुग्यो । तर सिंहदरबारभित्रको कर्मचारीतन्त्र भन्छ– हामी गाउँको सिंहदरबार चिन्दैनौं । निर्देशन पालना नहुनुको कारण खोज्ने बैठक बस्ने आँट कसैले गर्दैन । मुलुकका ६ दर्जन बढी ठाउँमा प्रधानमन्त्री पदेन रहने व्यवस्था छ । ती सबै ठाउँमा प्रधानमन्त्रीले दिने भनेको अन्ततः निर्देशन नै हो । संसदका समितिहरुले सरकारलाई दिएका निर्देशनको चाङले सरकार नै पुरिने स्थिति छ । हरेक पद लिलाम बढाबढमा चढाइन्छ । जब लिलाममा उछिनेर गएको मानिसले पद पाउँछ भने त्यसले बनाइदिएको समृद्ध देशको नागरिक भएर बाँच्न पाउँला भन्ने सोच्नु नै गलत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *