सम्झनामा नवराज

म उभिनेछु यो सतिसालको रुखझैँ

खेतलाई जोत्दै जसरी बूढो गोरु हिँडिरहन्छ यो पृथ्वीमा आफू बाँचुन्जेल
बाँचिदिन्छ बर्बरतापूर्ण दमनको विरुद्ध निरन्तर

ढुङ्गालाई जोत्दै
माटोलाई जोत्दै
घाम छिचोल्दै
बर्खा छिचोल्दै
त्यसरी नै म यहाँसम्म हजारौं माइल हिँडेर आएको हुँ !

म जन्मनु प्रकृति हो
म जन्मनु सृष्टिको निरन्तर यात्रा हो
तर,
अचानक मलाई ज्ञात भयो
म बुढानिलकण्ठझैँ निदाइरहनुको रहस्य
मलाई थाहा छ एकलब्यको रहस्यमयी जीवनको कथा !

कुनै पशुजस्तै निर्मम यातनाले थलिएर दिनको उज्यालोमा
अथवा,
तिमीले लुकेर हानेको बन्दुकको गोली लागेर
मर्न सक्छु संसद् भवनअगाडि
मेरो मृत्युको कारण जे पनि हुन सक्छ ।

आमाको मुटुको औषधि किन्न अस्पताल जाँदै गर्दा खोस्न सक्छ
रिन्यूँ नगरेको निहुँमा मेरो पुरारो स्कूटरको लाईसेन्स
त्यही घटनालाई छाप्नेछ सहरको चर्चित साप्ताहिकले तोडमोड गरेर
दुर्भाग्य छेउमै आउनेछ कुनै कर्पोरेट दलालको जयजयकार ।

कानुन, अड्डा, अदालत सबै एक हुनेछ
बलात्कारीलाई फाँसी दे भन्दा
भ्रष्टचारीलाई फाँसी दे भन्दा
मलाई ज्ञात छ
कुनै दिन तमाम बेथितिका विरुद्ध बोल्दै गर्दा मारिन सक्छु ।

हिरासतमै मरेको समाचार आइहाले मेरो लासबाट हराउने छ
मेरा आँखा, मुटु ,कलेजो, किड्नी, मस्तिष्क
अनि,
बक्नेछ यो बौलाहा सरकार पागल भुत-भुत्ताएझैँ
कराउनेछ यो देशद्रोही हो भनेर
मेरोविरुद्ध अदालतमा मोटो सिमिल तयार हुनेछ
तर,
मेरो मस्तिष्कलाई हजारौं टुक्राहरुमा विभाजन गरे पनि
मेरो शरीर कुहिएर गए पनि
मेरो विचार, अडान, र सपनालाई मेट्न सक्ने छैन ।

कतै,
म हराइहाले सोच्नू
मेरो हत्या भएको हो
समाचार सुनाइदिनू
परिवर्तन चाहने ती तमान मजदुरहरुलाई
तमाम आमाहरुलाई
तिनीहरु सप्पैलाई
जो यति क्रूर र प्रतिकूल परिस्थितिमा पनि बाटाहरु खुल्ला देख्छन्
र,
उत्साहपूर्ण बाँचिरहेछन् हरेस नखाई ।

सुन !
यो कालो धुवाँसँगै यी हावाका कणहरुमा छु
डल्नेछु रुख ढले जसरी
म ढलेपनि उम्रनेछन् हजारौं अरु बिरुवाहरु
जंगलमा जसरी उम्रन्छन् बनकाडाँहरु
म यो सेता बादलहरुसँगै छु
म यहीँको माटो हुँ
चुपचाप-चुपचाप रातो रगत हुँ- भर्खरै धर्तीमा सुकेर गएको ।

थाहा पाइराख्नु जरुरी छ !
तमाम हेपिएका पिसिएका थिचिएकाहरुले
उनीहरु,
तथाकथित सुकिलो राष्ट्रिय पोशाकमा अक्सर भेटिने गर्छन्
सभा-समारोहहरुमा,
मानव अधिकार ,स्वातन्त्रता ,परिवर्तन र मुक्तिको कुरा गर्छन्
गोमन सर्प जस्तै…
उनीहरुले हात अगाडि बढाउने छन् मिठो मुस्कानमा साथ ।

अब,
ज्ञात भयो मेरो जीवनमा आएको तमाम दुःखको रहस्य
अब,
ज्ञात भयो तमाम जनताको दु:खको रहस्य
र,
यो लोकतन्त्रमा टिकीरहेको तिम्रो कुर्सीको भव्यता ।


यो भीरमा पहिरोलाई प्रतिकार गर्दै उभिएको बुढो कट्टुसको रुख हुँ
यही तारा हुँ रातको अध्यारोमा बलिरहेको…
त्यही कालो अलकत्र हुँ हजारौं सर्घषलाई छिचोल्दै यहाँसम्म आएको
जसरी आरनबाट निस्कन्छ आगोको उज्यलो झिल्काहरु
सुन सरकार !
तमाम परिस्थितिहरुलाई सामना गर्दै पप्पी फूल भएर फर्कनेछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *