प्रदेश १ : उद्योगहरू धमाधम बन्द हुँदै, ६० प्रतिशत कामदार कटौती

विराटनगर । सुनसरीको सोनापुरमा रहेको गुडलाइफ बिस्कुट शुक्रबारदेखि बन्द भयो । बजार सबै ठप्प भएकाले उद्योगले उत्पादन गरेका सामग्री बजारसम्म पुर्‍याउन समस्या भएपछि उद्योग नै बन्द गर्नुपरेको उद्योगी महेश जाजुले बताए ।

‘उत्पादनमात्र धेरै भएपछि फ्याक्ट्री र गोदामै सामग्री थन्किन थाल्यो,’ उद्योगी जाजुले मकालु खबरसँग भने, ‘बजारको समस्यालाई ध्यान दिएर उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आयो ।’ उत्पादित वस्तु खेर जाने भएपछि उद्योग नै बन्द गरेर बस्नुपर्ने अवस्था आएको छ ।

जाजुले नै संचालन गरेको एसियन थाइफुड्स पनि बन्द गर्ने तयारीमा उनी छन् । लकडाउन यस्तै रहेर कोरोना नघटे रमपमको उत्पादन पनि एक हप्तापछि बन्द हुने उनले सुनाए । ‘अहिलेसम्म बजारमा धेरै सामान जान नसकेकाले उत्पादनमा ४० प्रतिशत कटौति भइसकेको छ,’ उनले भने, ‘अब एक हप्तासम्म यस्तै अवस्था रहे रमपमसहित गुडलाइफ जुसको उत्पादन पनि बन्द गर्छौँ ।’

No description available.

यस्तो बेलामा बजारमा भिडभाड गर्ने, पसल खोल्ने अवस्था नरहेकाले धेरै बजारमा आश्रित रहेका उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । सर्वाधिक चलेको हिमगिरी सोपले पनि आफ्नो उत्पादनको ५० प्रतिशत उत्पादन कटौती गरेको छ । त्यही अनुपातमा कामदार पनि कटौती गरिएको कम्पनीले छ ।

अत्यावश्यकीय उद्योगहरुको उत्पादन पनि २५ प्रतिशतमा झरेको दाबी मोरङ व्यापार संघको छ । संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले अत्यावश्यक बाहेकका सबै उद्योगहरू बन्द हुने अवस्थामा रहेको सुनाए । रिजाका अनुसार मास्क‚ सेनिटाइजर र खाद्यान्नसम्बन्धी उद्योगहरू अहिले चलेको भएपनि कच्चा पदार्थ र कामदार अभावले उत्पादनमा २५ प्रतिशतमा झरेका छन् । निर्माण र अन्य क्षेत्रको सबै काम बन्द गराएर बिहान १ घण्टा खाद्यान्नका सबै पसलहरू खोल्न दिने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।

६० प्रतिशत कामदार कटौती
पहिलो लकडाउनबाट थला परेका उद्योगहरू लय समाउँदै गर्दा पुनः पुरानै अवस्थामा फर्किएका छन् । कोभिड संक्रमणको पहिलो लहर कम हुँदै जाँदा लयमा फर्किँदै गरेका उद्योगहरू फेरि पुरानै अवस्थामा फर्किएका हुन् । उद्योगहरू बन्द नभएपनि ८० प्रतिशतबाट उत्पादन कटौती गरेर ५० प्रतिशतमा झारेको उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

पहिलो लकडाउनपछि ८० प्रतिशत उद्योग संचालनमा रहेको भएपनि दोश्रो लकडाउनपछि थप २० प्रतिशत उद्योगहरू पूर्ण रुपमा बन्द भएको राउतको दाबी छ । राउतका अनुसार अक्सिजन ग्यासबाट चल्ने उद्योग प्रायः बन्द छन् । अक्सिजनको आवश्यक पर्ने स्टील्स र फलाम उद्योगमा भएका अक्सिजनहरू मानवीय सहयोगमा जान थालेपछि ती उद्योगहरू बन्द भएका हुन् ।

‘केहि उद्योगहरुले उद्योगमै कामदार राखेर सञ्चालन गरेपनि कच्चा पदार्थको अभावमा उत्पादन कटौती गर्नुपरेको अवस्था छ,’ राउतले भने, ‘अति आवश्यक खाद्यान्नसँग सम्बन्धित उद्योगहरू संचलनमा रहेपनि ती उद्योगमा पनि कच्चापदार्थको अभाव हुँदै गएको छ ।’

सबैतिर निषेधाज्ञा र लकडाउन भएकाले बजार बन्द भएको अवस्थामा मालसामान ढुवानीमा समेत समस्या रहेको उद्योगी बताउँछन् । एकातिर निर्माण सामग्रीलगायतका वस्तुहरुको बिक्री घटेको छ भने अर्कोतिर ढुवानीका साधन पनि कम मात्रामा चलेका कारण उद्योगलाई समस्या छ ।

अहिलेको अवस्थामा माग पनि कमै छ । माग भएको ठाउँमा पठाउन सकिएको छैन ।

उत्पादन कटौती हुँदा यस क्षेत्रका उद्योगले करिब ६० देखि ६५ प्रतिशत उद्योग मोरङ-सुनसरी औद्योगिक करिडोरमा संचालनमा रहेको उद्योग संगठन मोरङका अध्यक्ष सुयेस प्याकुरेलले जानकारी दिए ।

‘अधिकांश उद्योगका ५५ देखि ६० प्रतिशत उत्पादन उद्योगहरुले योबिचमा गरेका छन्,’ संगठनका अध्यक्ष प्याकुरेलले भने, ‘अत्यावश्यक वस्तुको उत्पादन पनि त्यही ३० देखि ३५ प्रतिशतमा झरेको छ । उद्योगहरुमा ६० प्रतिशत काम कामदार कटौती भएका छन् । उनीहरुको पूर्ण रुपमा रोजगारी कटौती भएको छ । गाउँघरमा पनि कोरोना फैलिँदै जाँदा कामदार उद्योगहरुमा जान पनि कम भएको उद्योगीको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *