संसद् विघटन

रिटका लागि सांसदकाे हस्ताक्षर संकलन जारी [तस्बिरहरु]

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी दलहरु आजै सर्वोच्च जाने भएका छन् । त्यसका लागि कांग्रेस संसदीय दलको बैठक कक्षमा हस्ताक्षर संकलन जारी छ । सबै दलका सांसदहरु नागरिकतासहित उपस्थित भइसकेको र हस्ताक्षर संकलन भइरहेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । ‘हस्ताक्षर संकलन हुँदैछ । सकिनासाथ हामी सर्वोच्च जाँदैछौँ,’ सचेतक भुसालले भनिन् ।

यसअघि शनिवार (हिजो) नेपाली कांग्रेस, माओवादी केन्द्र, विपक्षी एमाले, डा. बाबुराम भट्टराई—उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सर्वदलीय बैठकले कानुनी लडाइँका लागि सर्वोच्चसम्म जाने निर्णय गरेको थियो । यस्तै बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध स्थानीय तहसम्म नै राजनीतिक विरोध जनाउने निर्णय गरेको छ । सोअनुरुप हिजैबाट देशका ठाउँठाउँमा राँके जुलुशदेखि शान्तिपूर्ण प्रदर्शन शुरु भएको छ ।

विपक्षी गठबन्धनका १४९ सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार मध्यराति संसद् विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले यसअघि गत वर्षको पुस ५ गते पनि संसद् विघटन गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले फागुन ११ मा पुनःस्थापित गरिदिएको थियो । तर, प्रधानमन्त्री ओलीले पुनः विघटन गरेका हुन् ।

यता कानुनविद्हरुले भने एक पटक विघटन भइरहेको संसद् निःसर्त पुनःस्थापना हुने तर्क गर्छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले मकालु खबरसँग भने— ‘राजनीतिक फण्डाहरु के के मच्चाइन्छ त्यो फरक पाटो भयो । तर, कानुनी आधारमा मात्रै हो भने त संसद् निःसर्त रुपमा पुनःस्थापना हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *