‘ओली-भण्डारी कदम मानवीय संवेदनाहीन क्रूरता’

काठमाडौँ । विवेकशील साझा पार्टीले नयाँ निर्वाचनको घोषणा गर्नुलाई मानवीय संवेदनाहीन क्रुरता भनेको छ । पार्टीको आकस्मिक बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणालाई संवेदनाहीन क्रुरता भएको निषर्ष निकालेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा विघटित प्रतिनिधि सभा सर्वोच्च अदालतले ब्युताँउनेमा विश्वास व्यक्त गरिएको छ । ‘सर्वोच्च यसअघि जस्तै यसपटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्नेछ भन्ने विवेकशील साझा पार्टीको विश्वास छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोभिड १९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पतालरशैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो । विवेकशील साझा पार्टी अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्छ भन्नेमा प्रष्ट छ ।’

विवेकशील साझाले प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठ पूर्ण ढङ्गबाट लोकतन्त्र विरुद्ध गरिरहेको निरन्तर प्रहारको एकताबद्ध भएर विरोध गर्न राजनीतिक दलहरूलाई आह्वान समेत गरेको छ । ‘अघिल्लो पटक संसद् विघटन हुँदा विरोधको एकै स्वर बोलेका प्रतिपक्षी दलहरू ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन के कति स्वार्थले एक ठाउँ उभिन सकेनन् ? ओली र भण्डारीको सर्वसत्तावादबाट मुलुकलाई जोगाउन विपक्षी दलहरू कहाँ कहाँ र कसरी चुके ? यो प्रश्नको इमानदार जवाफ उनीहरूले दिनुपर्छ,’ सो पार्टीले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =