संसद् विघटन

विपक्षी दलको संयुक्त बैठक बस्दै, प्रधानमन्त्रीविरुद्ध एकजुट हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद् विघटन गरेपछि विपक्षी दलहरु आक्रामक बनेका छन् । पहिलो पटक गत वर्षको पुस ५ गते संसद् विघटन गरेका ओलीले पुनः दोस्रो पटक विघटन गरेपछि विपक्षी दलहरु ‘अब कसरी जाने’ भनेर रणनीति बनाउन अघि सरेका हुन् ।

राष्ट्रिय जनमोर्चासहितको उपस्थितिमा शनिवार बिहान ११ बजेपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा संयुक्त बैठक बस्दैछ । ‘बैठकमा दोस्रो पटक संसद् भङ्ग भएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुन्छ,’ माओवादी नेता लीलामणि पोखरेलले मकालु खबरसँग भने— ‘संयुक्त बैठकबाट विपक्षी दलहरुको भूमिका कस्तो रहने भन्नेबारे छलफल हुन्छ । अदालत जाँदा पनि कस्तो तरिकाले जाने अवथा अन्य किसिमबाट यसको सुरक्ष ागर्न सकिन्छ भन्नेबारे छलफल हुन्छ ।’

नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले प्रधानमन्त्री नसुध्रिएको बताउँदै मकालु खबरसँग भने— ‘फेरि प्रतिगमन भएको छ । यसलाई सच्याउनैपर्छ । यस्तै तयारीकासाथ हामी अगाडि जाँदैछौँ ।’

यसअघि राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ (५)बमोजिमको सरकारको लागि आह्वान गरेकी थिइन् । जसमा १४९ जनाको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको दाबी गरेका थिए । तर, केपी शर्मा ओलीले पनि १५३ जना सांसदको दाबीसहित दाबी पेश गरेपछि राष्ट्रपतिले केही समय लाग्ने बताएकी थिइन् । तर, त्यसपछि ६ घण्टा नबित्दै संसद् विघटन भएको विज्ञप्ति शीतल निवासबाट निस्क्यो ।

संसद् विघटनसँगै राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि मध्यावधि निर्वाचनको मितिसमेत तोकेकी छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमप्रति विपक्षी दलहरु एकजुट देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *