कटारी नगरपालिकाका मेयर, उमपेयरसहित चारजनाको घरमा तोडफोड

वडा कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले रोक्यो

विराटनगर । कटारी नगरपालिका–४ जहडीमा रहेको सार्वजनिक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएपछि आक्रोशित बनेका स्थानीयले मेयरसहित उपमेयर र वडा अध्यक्षको घरमा तोडफोड गरेका छन् । आक्रोशित समूहले बुधबार दिउँसो नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित वडा नम्बर ४ का अध्यक्ष कृष्ण दनुवार र सब-इन्जीनियरको घरमा तोडफोड गरेका हुन् ।

सयौंको संख्यामा आएको भीडले प्रमुख श्रेष्ठ, उपप्रमुख राउत, वडाध्यक्ष दनुवार र नगरपालिकाका सूचना अधिकारी ओम मिश्रको घर तोडफोड गरेपछि पुनः प्रमुख श्रेष्ठको घर तोडफोड गरेका थिए । तोडफोडपछि वडा कार्यालयमा आगजनी गर्न लागेपछि प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिहरुलाई अतिक्रमण हटाउनका लागि पटक पटक पत्राचार गर्दा पनि उनीहरू अटेर गरेर बसेको नगरपालिकाले जनाएको छ । पछिल्ला दिन तिनै व्यक्तिले रातारात पक्की घर बनाएर बस्न थालेपछि नगरपालिकाको ध्यानाकर्षण भएको थियो । ‘धेरै पटक नगरपालिकाले पत्राचार गरिसकेको थियो, उनीहरू अटेर गरेर बसेका थिए,’ उपप्रमुख राउतले मकालु खबरसँग भनिन्, ‘कोभिडको सचेतना फैलाउँदै गाउँ गाउँ गएका बेला पक्की घर बनाएको देखेपछि हामीले बस्तीलाई हटाउने मनस्थिति बनाएका थियौँ ।’

उक्त जग्गाको संरक्षण नगरपालिकाले गर्नू भन्दै अदालतले पनि आदेश दिएको थियो । आदेशलाई समेत अटेर गरेर घर बनाएको थाहा भएपछि भत्काउने भनेर गएकोमा एउटा घरको छतमा डोजर लगाउनासाथ उनीहरू आक्रमणमा उत्रिएको उपमेयर राउतले बताइन् ।

‘हामीले एउटा पक्की घरको छतमा डोजर चलाउन थालेका थियौँ, उनीहरुले ढुंगा मुढा हान्न थालेपछि प्रहरीले नियन्त्रण गर्न सकेन,’ उनले भनिन्, ‘त्यहाँबाट हामी कोही दमकलमा‚ कोही साइकलमा भागेर ईलाका प्रहरी कार्यालयमा आएर बस्नुपर्‍यो ।’ स्थानीयले दमकलमा तोडफोड गरेका छन् भने मेयर चढ्ने गाडी र ईलाका प्रशासन कार्यालयको अर्को गाडीसमेत ध्वस्त पारेको राउतले बताइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय उदयपुरले जहडीको जग्गा संरक्षण गर्न भनी निर्देशन दिएको र नगर कार्यपालिकाले समेत संरक्षण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *