स्थानीय–सशस्त्रबीच झडप, गोली लागेर युवकको मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । नवरपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुँवर मिश्रले मकालु खबरलाई बताएअनुसार जिल्लाको प्रतापपुर गाउँपालिका ६ का २३ वर्षीय अविनाश राजभरको उपचारको क्रममा शहीद स्मृति अस्पताल चौपातामा मृत्यु भएको हो । ‘प्रहरीको गोली लागेर मृत्यु भएको भन्ने छ,’ अधिकारी मिश्रले भने— ‘विस्तृत बुझ्ने कोसिस गर्दैछौँ ।’

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) मा आएको भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको प्रहरीको दाबी छ । ‘शुरुमा ५/७ जना आए हामीले रोक्यौँ,’ प्रहरीलाई उद्धृत गर्दै अधिकारी मिश्रले भने— ‘त्यसपछि उनीहरुले साथीहरु लिएर आएछन् । भीड नियन्त्रण गर्न गोली चलाइएको थियो ।’

उनीहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल, नं. २६ गण पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएका छन् । प्रहरीले भीड नियन्त्रणका लागि भन्दै एक राउण्ड गोली फायर गरेको थियो ।

स्थानीयको आक्रमणबाट नाकाको सुरक्षार्थ खटिएका सशस्त्र नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएको अधिकारी मिश्रले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *