गण्डकी प्रदेश

मन्त्रिपरिषद् विस्तार हुँदै, सबै मन्त्री दोहोरिने

काठमाडौं । गण्डकी प्रदेशमा बुधवार मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै २ बजेपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । वैशाख २९ गते पुनःनियुक्त भएका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

यसअघि मुख्यमन्त्री गुरुङले भौतिक र अर्थ मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेर प्रि–बजेटको तयारी थाल्ने मनस्थितिमा बनाएका थिए । तर, मंगलबार पूर्वमन्त्रीत्रय रामशरण बस्नेत, किरण गुरुङ र राजीव गुरुङ लगायतसँगकाे छलफलपछि मुख्यमन्त्री गुरुङले पुरानै अनुहार दोहोर्याउँदै पूरै मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारपछि आजै प्रदेश प्रमुखको निवासमा शपथ ग्रहण कार्यक्रम गर्ने तयारी छ । गत वैशाख २७ गते प्रदेशसभामा आफूविरुद्धको अविश्वास प्रस्ताव पेश हुने भएपछि मुख्यमन्त्री गुरुङले वैशाख २६ गते नै पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा पछि प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन गर्न ७२ घण्टे समयसीमा तोकेकी थिइन् । तर, समयसीमामा जनमोर्चाका  ३ मध्ये २ सांसद तटस्थ बसेपछि विपक्षी गठबन्धनले बहुमत सावित गर्न सकेकाे थिएन ।

विपक्षी गठबन्धनले बहुमत दावी गर्न नसकेको भन्दै प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *