विराट मेडिकल कलेजभित्रै रेम्डिसिभिरको कालो धन्दा

विराटनगर । मोरङको टंकिसिनवारीमा रहेको विराट मेडिकल कलेजभित्रै रेम्डिसिभिरको कालोबजारी गरेर बेच्ने गरेको पाइएको छ । मेडिकल कलेजले संचालनमा ल्याएको फार्मेसीले कालोबजारी गर्न रेम्डिसिभिर लुकाएर राखेको तथ्य फेला परेको हो ।

औषधी व्यवस्था विभागमा हरेक दिन उजुरी पर्न थालेपछि औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्त अनुगमनपछि अनुसन्धान थालेको हो ।

औषधि व्यवस्था विभाग विराटनगरको नेतृत्वमा विभिन्न चरणमा भएको अनुगमनबाट फार्मेसीमा कैफियत देखिएपछि टोली स्थलगत अनुगमनमा गएको थियो । विराट मेडिकल कलेजभित्र फार्मेसीले लुकाएर राखेको २४ भाइल रेम्डिसिभिर इन्जेक्सन बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

गम्भीर र कडा लक्षण भएका कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नपाएर बिरामीका आफन्त भौँतारिरहेको बेला फार्मेसीले लुकाएर राख्ने र अन्य अस्पताल प्रशासनसँगको मिलेमतोमा २५ हजारसम्ममा बेच्ने गरेको पाइएको औषधि व्यवस्था विभाग विराटगरका प्रमुख सञ्जीव शर्माले बताए ।

कोभिडको कडा औषधिको रुपमा चलाइएको रेम्डिसिभिरको अभाव सिर्जना गराउने काममा फार्मेसी लागेको समेत फेला परेको छ । ‘बढी मूल्यमा बेच्नका लागि छैन भन्ने, तर पछि यति मूल्य दिने भए म मिलाइदिन्छु भन्ने, गेस्ट हाउस, चिया पसललगायतका ठाउँबाट बिक्री गर्ने गरिएको पाइएको छ,’ प्रमुख शर्माले भने, ‘खुलेयाम लुकाउने र बार्गेनिङ गर्नेलाई कारबाहीको दायरामा ल्याएका छौँ ।’

यस कार्यमा अस्पताल संचालक, फार्मेसी कर्मचारी तथा प्रशाससनको समेत मिलेमतो भएको विभागले जनाएको छ । डाक्टरले रेम्डिसिभिर ‘जसरी पनि लिएर आउन’ भन्ने र नलगेमा बिरामीको ज्यान खतरामा पर्न सक्छ भन्दै बिरामीका आफन्तलाई उक्त खोप ल्याउन बाध्य बनाइने र बिचमा ठुलो मुनाफा लिने गरिएको समेत अनुगमनको क्रममा पाइएको छ ।

कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालमा केही दिनअघि ३ सय भायल रेम्डिसिभिर आएको थियो । अस्पतालमा रेम्डिसिभिर आएको सूचनापछि बिरामीका आफन्तले माग गर्दा फार्मेसीले खोप सकिएको बताएपछि सोमबार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा लुकाएर राखिएको अवस्थामा २४ भाइल रेम्डिसिभिर भेटिएको प्रमुख सञ्जिव शर्माले मकालु खबरलाई जानकारी दिए ।

रेम्डिसिभिर आयात गरेपछि फार्मेसीले अभिलेख राख्नुपर्ने नियम छ । त्यसमा २४ भायल रेम्डिसिभिरको रेकर्ड नै तलमाथि देखिएको विभागले जनाएको छ । रेम्डिसिभिर लुकाएर राख्नुको कारण कालोबजारीको प्रयास भएको बिरामीको आफन्तले बताएका छन् । सरकारले कम्पनीअनुसारको रेम्डिसिभिर इन्जेक्सनको मूल्य ४ हजार ८ सयदेखि ५ हजार २ सय रूपैयाँसम्म छ । तर, महामारीको फाइदा उठाउँदै गिरोहले १५ हजारदेखि २५ हजार रूपैयाँसम्ममा रेम्डिसिभिर बिक्री गर्दै आएका छन् ।

अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढ्न थालेपछि यसको माग पनि बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले करिब ६ महिनाअघि नै कोभिड–१९ को उपचारमा ‘रेम्डिसिभिर’ उपयुक्त नभएको बताए पनि यसको प्रयोग डाक्टरहरूले रोकेका छैनन् । यो औषधिमा पनि ठुलो आर्थिक चलखेल भएको प्रशासन स्रोत बताउँछ । डब्लुएचओले नै यसको प्रभावकारीता नभएको भनिसकेको अवस्थामा डाक्टरको चलासी र आर्थिक लाभका कारण बिरामीलाई यो औषधि चलाउँदै आएको जनगुनासाहरू पनि आएका छन् ।

अस्पताल निर्देशन डेनिस कार्कीले अस्पतालले कुनै पनि औषधिको कालोबजारी नगरेको बताए । औषधी व्यवस्था विभाग, प्रशासन र प्रहरीको दादागिरीले अस्पताल चलाउनै नसकिने अवस्थामा पुगेको बताए । औषधि व्यवस्था विभागले औषधीको विवरण माग गरेको त्यसको आधारमा विवरण पुर्‍याउन गएका व्यक्तिलाई समेत थुनेर राखेको कार्कीले आरोप लगाए । ‘औषधि बढीमा बेचेर १/२ लाखले केही हुँदैन,’ कार्कीले मकालु खबरसँग भने, ‘हामीले हाम्रोतर्फबाट कुनै गल्ती गरेका छैनौँ, गल्ती गरेको भए बन्द गरेर देखाओस् ।’

औषधि व्यवस्था विभागले भने बरामद गरेको रेम्डिसिभिर २४ भाइल नै त्यहिँ समानुपातिक रुपमा बिरामीलाई उपलब्ध गराउन भनिएको र घटनाबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

खरिद गरेर ल्याइएको रेम्डिसिभिरको विवरण र तत्काल भएको विवरणमा हिसाब नमिलेपछि थप सोधिखोजी गर्दा लुकाएर राखेको फेला परेको थियो । ३ पटक सोध्दा ३ पटक नै फर्मेसीका कर्मचारीले फरक फरक जवाफ दिएपछि संकाको घेरामा राखेर विभागले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *