‘ताउते’ चक्रवातवले मुम्बईमा मच्चाएको वितन्डा‚ १२ को मृत्यु (तस्बिरहरू)

नयाँ दिल्ली । भारतको महाराष्ट्रको राजधानी मुम्बईमा चक्रवाती तुफान ‘ताउते’ को असर देखिएको छ । महानगरमा सोमबार बिहान तीव्र गतिमा हावाका साथै पानी परेको थियो ।
तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने डेढ लाखभन्दा बढी विस्थापित भएको बिबिसीले उल्लेख गरेको छ ।
तीव्रगतिको हावाका कारण थुप्रै ठाउँमा ठूला-ठूला रुख ढलेका थिए । जसले गर्दा सवारी सधानमा क्षति पुगेको थियो। चक्रवतको तीव्रतालाई लिएर सोमबार साँझ ६ बजेसम्मका लागि एयरपोर्ट बन्द गरिएको थियो ।

उक्त आँधीका कारण भारतीय जहाज पी–३०५ समुद्रमा डुबेको छ । उक्त जहाजमा कति यात्रु थिए र कति क्षति भयो भन्ने यकीन विवरण भने हालसम्म नआएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
चक्रवातका कारण मुम्बई, थाणे, रायगढलगायत क्षेत्रको जनजीवन प्रभावित भएको छ । त्यहाँ कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।
भारत मौसम विज्ञान विभाग (आईएमडी) ले रायगढ, पालघर, मुम्बई ठाणे र रत्नागिरी जिल्लामा हावाको बेग प्रति घन्टा ९० देखि १०० किटोमिटरको बेगमा चलेको बताएको थियो ।
आँधीले गर्दा त्यहाँको कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउने कार्य पनि स्थगित भएको छ । भ्याक्सिनेसन सेन्टरलाई नै क्षति पुर्याएपछि उक्त कार्य प्रभावित बनेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार रत्नागिरी, सिन्धुदुर्ग र रायगढ जिल्लाका तटिय क्षेत्रका १२ हजार ४२० जनालाई सुरक्षित स्थानमा लगिएको थियो ।
भारतीय मौसम विज्ञान विभाग पुणेका पर्यावरण अनुसन्धान र सेवा एसआईडी प्रमुख के एस होसालिलकरले ट्वीटरमा ताउते चक्रवत निकै तीव्र गतिमा रहेको बताएका थिए । उनले मुम्बईमा प्रतिघन्टा १६० किलोमिटर, गुजरातमा २९० किलोमिटर रफ्तारमा रहेको बताएका थिए ।
तस्बिरहरू:






तस्बिरहरू : बिबिसी/अमर उजाला








