अब प्रदेश १ बाट अक्सिजन सिलिण्डर अन्यत्र नपठाइने

विराटनगर । प्रदेश सरकारले अक्सिजनको अभाव हुन नदिन प्रदेश १ बाट अन्यत्र अक्सिजन जान नदिने तयारी थालेको छ । केहीदिन अघिसम्म तथ्यांक बिहिन देखिएको सामाजिक विकास मन्त्रालयले अहिले प्रदेश १ बाट अक्सिजन अन्य प्रदेशमा पठाउन नसकिने बताउन थालेको हो ।

सोमबार बिहान ताप्लेजुङको कोभिड नियन्त्रणका लागि सरोकारवालाहरुका बिचमा भएको छलफलमा सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले प्रदेशमा अक्सिजनको अभाव हुने संभावनालाई आँकलन गर्दै प्रदेश १ बाट अन्यत्र अक्सिजन पठाउन नसकिने बताएका हुन् । अक्सिजन सिलिण्डर नयाँ अहिले नभएको र पुराना सिसिण्डरले धान्न छाडेपछि समस्या सिर्जना भएको सचिव कार्कीले बताए । ‘कोशी कोभिड अस्पतालमा अहिले पनि दैनिक पाँच सय सिलिण्डर अक्सिजन भरि चाहिन्छ,’ सचिव कार्कीले भने, ‘तीन वटा अक्सिजन कम्पनीसँग सम्झौता गरिएकाले उनीहरुले पनि अन्यत्र पठाउन थाल्ने हो भने भोलिका दिनमा प्रदेशमा समस्या आउँछ ।’

प्रदेश १ मा ५ वटा अक्सिजन प्लान्ट रहेकोमा २ वटा ठूला प्लान्टहरुले अन्य प्रदेशहरुमा पठाउने गरेको उनको तर्क छ । संक्रमितको संख्या बढेसँगै कोभिड अस्पताल बढ्दै गएको, भएका अस्पतालले बेड बढाएको, बनाइएका बेडहरु अक्सिजन सहितको बेड हुने भएकोले प्रदेशमा नै अक्सिजनको अभाव हुन सक्ने भएकोले अब अन्य प्रदेशमा पठाउन नसकिने बताएका हुन् ।

सचिव कार्कीका अनुसार, अन्य प्रदेश, संघीय राजधानीबाट हवाईजहाज, गाडी मार्फत दुई ठुला उद्येगबाट अक्सिजन जाँदै आएको छ । ‘प्रदेश १ को अक्सिजन, काठमाडौँ, लुम्बीनी तथा डडेलधुरासम्म गएको छ,’ उनले भने, ‘यही मात्रामा बाहिर जाने हो भने प्रदेशका ठुला कोभिड अस्पतालहरु अप्ठेरोमा पर्न सक्छन् अब प्रदेश १ को अक्सिजन बाहिर पठाउन सक्ने अबस्था छैन ।’ उनले प्रदेश १ का ठूला अस्पतालमा करिब एक हजार सिलिण्डर अक्सिजन अभाव रहेको बताए ।

रिएजेन्ट र पिसिआर किट अभाव
प्रदेशका अस्पतालहरुमा कोभिड परीक्षणको लागि किट तथा रिएजेन्ट अभाव हुन थालेको बताएका छन् । प्रदेशमा एन्टीजेनटेष्ट पनि बन्द भएको सुनाए ।

‘स्वीस डेभलपमेन्ट कोअपरेशनको सहयोगमा पिसिआर मेसिन प्राप्त भएको थियो, हामीले उनीहरुसँग नै किट तथा ५ हजार एन्टीजेन माग गरेका छौँ,’ उनले भने, ‘स्वास्थ्य सेवा विभागले थोरै संख्यामा मात्र किट तथा रिएजेन्ट पठाउँदा अभाव शुरु भएको छ, तत्काल संघीय सरकार र दातृ निकायले सहयोग गरुन् ।’

नेपाल सरकार स्वास्थ्य मन्त्रालयका डा. महेन्द्र श्रेष्ठले ल्याउँदा केहीढिला भएपनि हिजो मात्र मन्त्रालयमा एन्टीजेन तथा टेष्ट किट आएकोले अब समस्या नहुने बताए । आबश्यक मात्रामा किटहरु प्रदेशमा पठाउने काम भईरहेकोले केही दिन भित्रमा समस्याको समाधान हुने बताए । श्रेष्ठले १ हजार बढी अक्सिजन सिलिण्डर प्रदेशमा आउने बताउँदै अहिले ९६० वटा सिलिण्डर संघीय राजधानी काठमाडौँमा आइपुगेको सुनाए ।

घरघरमा सचेतना अभियान
पूर्वमन्त्री तथा संघीय सांसद योगेश भट्टराईले मानिसको ब्यवहारमा परिवर्तन नहुँदासम्म कोरोना नियन्त्रणमा नआउने भएकोले स्थानीय जनप्रतिनिधि मार्फ नागरिकसम्म सचेतनाका अभियान लग्नु पर्ने बताए ।

‘यो बेला नागरिक सचेतनामा वडा अध्यक्षहरु लाग्नु पर्ने देखिएको छ,’ उनले भने, ‘निर्वाचनमा घर घरमा गएर भोट मागेको जस्तैगरि अहिले यसबाट बच्न सकिने उपायको बारेमा बुझाउन घरघर जानु पर्ने अवस्था छ।’

भट्टराईले स्थानीय तहका जनप्रतिनिधिले प्रत्यक घर घरमा गएर मास्क, सरसफाई, भिडभाडका बारेमा ख्याल गरे नगरेको अबरेमा सोधीखोजी गर्ने र उनीहरुलाई त्यो पालना गर्न लगाउनु पर्ने बताए । मास्क लगाउनेदेखि हिड्दा ध्यान दिईनु पर्ने कुरामा स्वास्थ्यकर्मीलाई साथमा लिएर सचेतना दिईने हो भने केही हदसम्म यो नियन्त्रणमा आउन सक्ने भट्टराईको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *