अक्सिजन सिलिन्डर ल्याउन निजी क्षेत्रको सक्रियता : १० हजार थान सिलिन्डर र ब्याग ल्याउँदै

विराटनगर । कोरोनाको संक्रमण शुरु भएसँगै अक्सिजनको अभाव बढ्दै गएको छ । अक्सिजनको प्लान्ट भएपनि कतै सिलिन्डर पाउन समस्या छ भने कतै सिलिन्डर भएरपनि अक्सिजनको समस्या देखिएको छ । कोभिडको महामारी फैलँदै जाँदा दैनिक मृत्यु हुनेको संख्या बढ्दै गएको अवस्थामा यसको जोहो पनि विभिन्न क्षेत्रबाट हुँदै आएको छ ।

सरकारले आफ्नो ठाउँबाट हरसम्भव प्रयास गर्दै गर्दा अप्ठ्यारो अवस्थामा निजी क्षेत्रको पनि उत्तिकै दायित्व रहेको निष्कर्ष निकाल्दै केही व्यक्तिले अक्सिजन अभाव हुन नदिनका लागि व्यक्तिगत प्रयास गर्दै आएका छन् । अप्ठ्यारोमा अक्सिजनको सहजताका लागि प्रयास गर्नेमध्येका एक हुन् इटहरीका व्यवसायी शिवप्रसाद घिमिरे ।

एसजी ग्रुपका अध्यक्ष घिमिरेले चीनबाट अक्सिमिटर, अक्सिजन ब्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर ल्याउने भएका हुन् । व्यवसायी घिमिरेले एसजी ग्रुपमार्फत चीनबाट ल्याउन लागिएका अक्सिजनसँग सम्बन्धित उपकरणहरू अबको एक/दुई दिनभित्रमा आउन थाल्ने बताए । घिमिरेका अनुसार अक्सिजन अक्सिमिटर दुई हजार पिस, अक्सिजन ब्याग ४० लिटर क्षमताको ५ हजार पिस आउँदैछ ।

त्यस्तै अक्सिजन मास्क ५ हजारसेट र कन्सन्ट्रेटर १० पिस हवाई जहालमार्फत आउनेछ । ‘पहिलो चरणमा आउने सामग्रीहरू हामीले तयार पारेर राखेका छौं,जहाज आएको समयमा आउँदै जान्छ,’ व्यवसायी घिमिरेले मकालु खबरसँग भने, ‘ल्याइएका सामग्रीहरू कतिपय नेपालमा प्रयोग नभएकाहरू पनि छन्, अप्ठ्यारोमा सहयोग होस् भनेर ल्याउन लागिएको हो ।’

ल्याइएका सामग्रीहरूमध्ये अक्सिजन ब्याग नयाँ भएको घिमिरेले बताए । यो अक्सिजन ब्याग अक्सिजन बोकेर हिँड्न मिल्ने खालको हुनेछ । ब्यागमा अक्सिजन हुने भएकाले त्यही मागमार्फत मोटरसाइकल, साइकल तथा हिँड्दा सडकमा समेत प्रयोग गर्न मिल्ने खालको उपकरण भएको उनले बताए । यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पुर्‍याउनुपर्ने संक्रमितका लागि उपयोगीका रुपमा ब्यागको प्रयोग गर्न सकिने बताए । अन्य मुलुकमा यस्तो ब्याग आपत्कालीन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको उनले बताए ।

त्यस्तै कन्सन्ट्रेटर भने थोरै ल्याइएको उनले बताए । यो ठुला अस्पतालहरुले अक्सिमनको रुपमा प्रयोग गर्न सक्नेछन् । माथिका सामग्री एयरलिफ्टमार्फत् आउनेछ भने सिलिण्डरहरू सडकबाट आउने घिमिरेले बताए ।

अक्सिजन सिलिन्डर भने आउन केही समय लाग्नेछ । ल्याउन लागिएका सिलिण्डरमा १० लिटर २ हजार २ सय युनिट अर्थात् दुई हजार दुई सय सिलिन्डर र ४० लिटरको २ हजार २ सय ५० गरी कुल ४ हजार ४ सय ५० युनिट सिलिन्डर आउँदैछ । घिमिरेले मगाएका अक्सिजनसँग सम्बन्धित सामग्री थोरै व्यवसायी भएपनि यो विपत्तिमा व्यवसायिकभन्दा पनि सघाउ पुर्‍याउने उद्देश्य रहेको बताए । ‘आफ्नो ल्याउँदा लागेको लागत लिएर दिने हो,’ उनले भने, ‘उचित मूल्य पाएर कसैको ज्यान बचाउन सकिन्छ कि भन्ने हाम्रो मूल ध्येय हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =