व्यवसायीले चीनबाट ल्याउने १० हजार अक्सिजन सिलिन्डरमध्ये २५ सय वटा सोमबार काठमाडौं आइपुग्ने

कागजात नहेरी सिलिन्डर कसले ल्याएको भन्न सकिन्न: भन्सार कार्यालय

काठमाडौं । चीनबाट नेपाली व्यवसायीले आयात गरेका अक्सिजन सिलिन्डर सोमबारबाट काठमाडौंमा आइपुग्ने भएका छन् । पहिलो चरणमा १० हजार थान सिलिन्डर ल्याउन लागेको ढुवानीकर्ता (लजिस्टिक) कम्पनी सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले मकालु खबरलाई जानकारी दिए । ‘काठमाडौंमा सोमबारबाट अन्सिजन सिलिन्डर झर्न शुरु हुन्छ, तातोपानी नाकामा आइपुग्न लागेको २ हजार ५ सय थान सिलिन्डर सोमबार काठमाडौंमा झर्छ,’ अध्यक्ष शेर्पाले भने— ‘बाँकी ७ हजार ५ सय थान सिलिन्डर पनि खासामा लोड गर्दै राखिएको छ ।’

एक साताभित्रै १० हजार थान नै सिलिन्डर नेपाल आइसक्ने उनको भनाइ छ । तर, हाल ल्याउन लागिएको सिलिन्डर चीनले नेपाल सरकारलाई अनुदानमा दिएको सिलिन्डर नभएकोले भ्रममा नपर्न उनले आग्रह गरे । ‘सरकारी अनुदानको सिलिन्डर अहिलेसम्म आएको छैन,’ उनले भने, ‘यो व्यवसायीले ल्याउन लागेको सिलिन्डर हो, पहिलो खेपमा १० हजार थान ल्याउन लागिएको छ र आवश्यकता अनुसार ल्याउने क्रम जारी नै रहन्छ ।’

यसअघि समाचार संस्था राससले चीन सरकारले दिएका १८ हजार थान सिलिन्डर तातोपानीमा आइसकेको समाचार प्रकाशित भएकाे थियो ।  तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले पनि अहिले २ हजार ५ सय थान सिलिन्डर आइतबार भन्सार नाकामा आइपुग्ने जानकारी पाएको बताए ।

तर, सिलिन्डर कुन व्यावसायिक कम्पनीले आयात गरेको हो भन्ने कुरा सिलिन्डर आएपछि कागजात हेरेर मात्र भन्न सकिने उनको भनाइ छ ।  ‘सिलिन्डर आउँदै छ भन्ने सुनेर हामी उच्च प्रतिक्षामा छौं,’ मकालु खबरसँग उनले भने, ‘नाकामा सिलिन्डर आएको १ घण्टाभित्रै जाँचपास गरेर सही देखिए काठमाडौंतर्फ पठाइहाल्ने हाम्रो तयारी छ । बाटोको अवस्था पनि राम्रो छ भन्ने जानकारी पाएका छौं । तर, सिलिन्डर कसले ल्याउन लागेको हो भन्ने चाहिँ कागजात हेरेपछि मात्रै थाहा हुन्छ ।’

अहिले नेपाल आउन शुरु भएका सिलिन्डर ४० र ५० केजी तौलका रहेका र एउटा कन्टेनरले १० टनभन्दा बढी नबोक्ने भएकाले १ हप्तामा मात्र ढुवानी सकिने अध्यक्ष शेर्पाले बताए ।

आयातकर्ता कम्पनी र मूल्यबारे भने उनले कुरा गर्न चाहेनन् । ‘हामीले धेरै जनाको सामान ल्याइदिने काम गर्छौं,’ उनले भने, ‘आफ्नो नाम र मूल्य खोल्ने वा गोप्य राख्ने आयातकर्ता कम्पनीको इच्छाको कुरा हो हामीले भन्न मिल्दैन ।’

प्रतिक्रिया

One thought on “व्यवसायीले चीनबाट ल्याउने १० हजार अक्सिजन सिलिन्डरमध्ये २५ सय वटा सोमबार काठमाडौं आइपुग्ने

  1. आफ्नो नाम र मूल्य खोल्ने वा गोप्य राख्ने आयातकर्ता कम्पनीको इच्छाको कुरा हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *