दशक लामो युद्धले ध्वस्त बनाएको सिरियाको स्वास्थ्य प्रणाली

आफ्ना जुम्ल्याहा सन्तान जन्मिएको दिन मोहमद अल अविसको जीवनकै सबैभन्दा खुसीको क्षण थियो ।
उनका दुई सन्तान जाद र ल्याद पाँच वर्षअघि यो संसारमा आए । त्यो बेला सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेको ईडलिब प्रान्त युद्ध र अस्तव्यस्तताको मझधारमा थियो । तर यस्तो समय पनि अविसको परिवारका लागि उत्सव‚ खुसी र आशाको पल बन्यो ।
अविसले आफ्ना बच्चामा समस्या छ भन्दाभन्दै काफर तखरिमकस्थित प्रसुती गृहका चिकित्सकले आविसलाई उनका छोराहरू जिम्मा लगाइदिए । ‘अक्सिजन छैन,’ अविसले दोभाषेमार्फत् सुनाए, ‘ती चिकित्सकहरूले यी बच्चाहरूलाई पर्याप्त अक्सिजन दिएनन् ।’
बितेका केही दिनअघि अस्पतालको वरिपरी बमबारी पनि भएको थियो । चिकित्सकहरूले अस्पताल अविस र उसको परिवारको लागि सुरक्षित छैन भन्ने जनाउसमेत दिएका थिए । त्यो स्थान सुरक्षित नभएकाले उनीहरुले श्रीमती र बच्चाहरुलाई तुरुन्तै घर लग्न अविसलाई दबाबसमेत दिएका थिए ।
सिरियामा अविसको परिवारले भोगेका जस्तै धेरै कथाहरू छन्‚ जुन अहिले सिरियामा सामान्य भइसकेका छन् । दशक लामो युद्धले यहाँको स्वास्थ्य सेवा प्रणाली नराम्ररी प्रभावित बनाएको छ । इन्टरनेसनल रेस्क्यु कमिटीद्वारा गत मार्चमा प्रकाशित रिपोर्टअनुसार, देशभरीमा ६४ प्रतिशत अस्पतालले मात्र काम गरिरहेका छन् । ७० प्रतिशत स्वास्थ्यकर्मी देश छाडेर भागिसकेका छन् ।
अविसका अनुसार उनका छोरा जादलाई अक्सिजन दिन अस्पतालसँग आवश्यक उपकरण नै थिएन । पछि चिकित्सककहरूले अविसका छोरालाई कम्तिमा एक साता अस्पतालमै राख्नुपर्ने बताए ।
समय बित्दै जाँदा उनी हिँड्न सक्दैनन् भन्ने स्पष्ट भयो । उनका जुम्ल्याहा भाइ मजाले पाइला चाल्न सक्ने हुँदा जाद भने अझै लडखडाउँथे र लड्थे ।
अविस अहिले छोरा जादसँग टर्कीमा बस्छन् । त्यहाँका चिकित्सकले जादलाई मस्तिष्क पक्षघात भएको बताएका छन् । जाद जन्मँदा उसमा अक्सिजनको कमी भएकाले यस्तो समस्या देखिएको र यदि त्यसबेला अक्सिजनको अभाव नभएको भए यस्तो समस्या नदेखिने चिकित्सकले बताएका छन् ।
चिकित्सकविहीन सघन उपचार कक्ष
ईडलिबको अवस्था दिन प्रतिदिन झन् झन् खराब हुँदै गइरहेको छ । पछिल्लो समय, सिरिया विद्रोहीको नियन्त्रणमा छैन । संयुक्त राष्ट्रसंघका अनुसार देशका अन्य भागमा चलिरहेको लडाइँले करिब ३० लाख मानिसलाई ईडलिब पठाएको छ । अधिकांश विस्थापितहरू टर्की नजिकको सीमामा क्याम्प बनाएर बसिरहेका छन् ।
त्यहाँ एकमात्र आधिकारिक र सञ्चालनमा रहेको सीमा पार गर्ने ठाउँ छ, जहाँ मानवीय सहायता पाइन्छ । सिरियाका अस्पतालमाथि आक्रमण भइरहन्छ । गएको मार्चमा पनि आक्रमण भएको थियो ।
यसको अर्थ, सिरियाका अस्पतालमा कार्यरत चिकित्सकहरूले अझै पनि जुनसुकै बेला अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । त्यसका लागि उनीहरूलाई कुनै तयारी गराइएको छैन ।
‘हामीसँग ईडलिबमा सघन उपचार कक्षमा काम गर्ने विशेषज्ञता भएको एकजना पनि चिकित्सक छैन । ईडलिबमा सघन उपचार कक्षमा कुनै विशेषज्ञ नै छैनन् । सघन कक्ष पुरै बन्द छ,’ ईडलिबको एक अस्पतालमा काम गर्ने चिकित्सक साजुल इश्लामले भने ।
इस्लामले गत महिना एउटा भिडिओ पोस्ट गरेका थिए । भिडिओमा उनले नवजात बच्चामा समस्या देखिँदा भोगेको अप्ठ्यारोको व्याख्या गरेका थिए ।
‘म आफ्नो फोनमा बेचैन छु … कसलाई खबर पठाऊँ ? कसलाई फोन गरूँ ?’ इश्लामले भने, ‘मलाई कसैको सहयोग चाहिएको छ । यो बच्चाको धड्कन रोकियो । हामीले आपतकालीन प्रक्रिया अपनाइरहेका छौँ । यहाँ भेन्टिलेटर सेट गर्ने कोही छैन । हे भगवान् ! म कसरी नवजात बच्चाका लागि भेन्टिलेटर सेट गरूँ?’
चिकित्सकहरुले कहिलेकाहीँ जटिल बिरामीलाई टर्कीको सीमामा रहेको उपचार केन्द्रमा पठाउँछन् ।
युद्धका कारण धेरै चिकीत्सकले ईड्लिब छोडिसकेका छन् । बाँकी रहेका फिजियसनहरू पनि भरखर सिक्दै गरेकाहरू मात्रै छन् ।
‘हामीले यो युद्ध प्रभावित क्षेत्रमा एउटा विषयमा विज्ञता हासिल गर्ने सुविधा कहिल्यै पाएनौँ,’ उनले भने, ‘हामी सधैं आइपरेका बेला चिकित्सा क्षेत्रका सबै कुराको सतही ज्ञानमात्र हासिल गर्न तल्लीन भयौं । किनकी हामीसँग कहिले पनि पर्याप्त चिकित्सक नै भएनन् ।’
‘उसले जे गर्दा हिँड्छ, म त्यहि गर्नेछु ।’
खुट्टामा लगाउने कृत्रिम सहयोगले जाद ठिक हुन्छन् भन्ने आशामा अविसले उनलाई दुई वर्षअघि टर्कीमा ल्याएका हुन् ।
जाद बेडमा बस्यो । उनका लत्रिएको खुट्टलाई डाक्टरहरूले प्लास्टर गरे । सेन्टरमा कार्यरत मोहमद अलतमरले जादका लागि अस्थायी उपकरण बनाउन लागेको बताए ।
अविसका अनुसार, उनीहरु झन्डै दुई वर्षदेखि टर्कीमा बसिरहेका छन् । उनकी श्रीमती र अन्य पाँच सन्तान सिरियामै छन् । टर्कीमा सबैको खर्च धान्न नसक्ने हुनाले उनले अन्यलाई सिरियामै छाडेका हुन् ।
‘मैले जादको हेरचाह गर्नुपर्ने भएकाले म यहाँ काम गर्न सक्दिनँ’ अविस भन्छन् । फर्केर सिरियातिर जानुका आफ्नै जटिलता छन् । अब उसले फेरि फर्कनका लागि अनुमति पाउनुपर्छ र यातायातका लागि पैसा खर्च गर्नुपर्छ । अहिले आफ्नो छोरो हिँडेको देख्ने बाहेक, अविसका लागि अरु कुनैपनि कुरा महत्वपूर्ण छैनन् ।
अनुवाद : भानु बोखिम








