तयार भयो अक्सिजनसहितको ५१ बेडको आइसोलेसन

विराटनगर । विराटनगरमा संक्रमितको संख्या बढ्दै जाँदा राख्ने ठाउँको अभाव हुन थालेपछि विराटनगर महानगरपालिकाले आइसोलेसन निर्माण गरेको छ । अक्सिजनसहितको ५१ बेडको आइसोलेसन शुरु गर्न लागिएको हो ।

अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरले अस्पताल सो सरहको आइसोलेसन तयार गरेको महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा ५१ बेडको अत्याधुनिक आइसोलेशन वार्ड बनाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । आजदेखि संचालन हुने आइसोलेसनमा स्वास्थ्यकर्मीसहित अक्सिजनको व्यवस्था गरिएको छ ।

मानिसको जीवन रक्षाको लागि महानगरपालिकाको योजना अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर आइसोलेसन संचालनमा ल्याउन लागिएको बस्नेतले बताए । आइसोलेसनमा स्वास्थ्यकर्मीहरुद्धारा मनोपरामर्श समेत दिइने स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

आरएनएनका निर्देशक अर्जुन कार्कीले सभाहल उपलब्ध गराएर सेवा प्रवाहमा योगदान गरेपछि एसोसेयसन अफ प्राइवेट हेल्थ इन्सिच्युट नेपाल (अफिन) र मारवाडी युवामञ्च विराटनगरको सहयोगमा आईसोलेशन निर्माण भएको हो ।

आइसोलेसन निर्माण भएसँगै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की, वडा नं. १ का वडाध्यक्ष उद्धव अर्यालले अनुगमन गरेका छन् । अनुगमनपछि आजदेखि आईसोलेशन संचालन गर्न सकिने निष्कर्ष निकाल्दै संचालन गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *