‘बिहे-व्रतबन्धले संक्रमण झनै फैलायो’

विराटनगर । सुनसरीको बराहक्षेत्रका एक कोरोना संक्रमित पुरुष होम आइसोलेशनमा थिए । उनलाई संक्रमणले च्याप्यो, उनले एम्बुलेन्स खोजे कसैले पनि रेस्पोन्स गरेनन् । इनरुवा, इटहरी, झुम्का तथा विराटनगरका धेरै एम्बुलेन्सलाई फोन गर्दा सबै व्यस्त छु मात्र भनेपछि बल्ल एउटा एम्बुलेन्स फेला पर्यो । त्यसैमा उनलाई अस्पतालसम्म पुर्याइयो ।

यस्ता समस्या बराहक्षेत्र नगरपालिकामा निकै आइलागे । करिब ७० जना संक्रमित रहेको उक्त क्षेत्रका सबै संक्रमितको हालत उस्तै नै थियो । अस्पतालसम्म पुग्नका लागिसमेत एम्बुलेन्स नपाएको गुनासो धेरैतिरबाट आएपछि मेयर नीलम खनालले कार्यालयमा रहेको प्रमुख प्रशासकीय अधिकृत र मेयर चढ्ने दुवै गाडी एम्बुलेन्सको प्रयोगमा लगाए । एम्बुलेन्स अभाव टारेका यहाँका स्थानीय जनप्रतिनिधिलाई अहिले पनि एम्बुलेन्स नपाउँदा समस्या भने परेको मेयर नीलम खनालले बताए । पालिकाभित्र अहिले भारत गएर आएका र भोज खान गएकाहरुमा बढी संख्यामा कोरोना संक्रमणको समस्या देखिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा पालिकाकाले एउटा आइसोलेसन बनाएको छ । ४६ थान सिलिन्डर तयारी अवस्थामा राखेको मेयर खनालले मकालु खबरलाई जानकारी दिए ।

एम्बुलेन्सको समस्या रामधुनी नगरपालिकामा पनि देखिएको छ । अत्यावश्यक पर्दा गाउँपालिकामा भएका जुनसुकै सवारी साधनलाई प्रयोगमा ल्याउन भनिएको नगरपालिकाका मेयर जयप्रकाश चौधरीले बताए । संक्रमितको चाप अन्य अस्पतालहरुमा बढ्दै जाँदा पालिकाभित्रै १५ बेडको अक्सिजनसहितको सेवा शुरु गरिएको चौधरीले जानकारी दिए । ‘एम्बुलेन्सको पनि समस्या हुने, बाहिर लग्दा अक्सिजनसहितको बेड नपाइने भएपछि पालिकामा नै अस्पताल शुरु गरेका छौँ,’ उनले भने— ‘सामान्य खालका बिरामीलाई पालिकाले बनाएको कोभिड अस्पतालमा राख्ने गरिएको छ भने गम्भीर खालका संक्रमित बाहिर पठाइन्छ ।’

कोरोनाको वास्तै नगरी बिहे व्रतबन्ध धुमधामका साथ गर्ने गरिएको छ, हामीले जति कडाइ गर्दा पनि भित्रभित्रै सय दुई सय जनालाई भोज खुवाएको कुरा आउँछ ।

यो पालिकाले पनि बिरामी ओसार-पसारका लागि एम्बुलेन्स नपाउँदा समस्या झेल्यो । पछिल्लो केही दिनदेखि बक्लौरीमा रहेको अस्पतालको एम्बुलेन्सलाई पालिका माताहतमा ल्याएर संचालनमा ल्याइएको मेयर चौधरीले जानकारी दिए । रामधुुनी नगरपालिका वडा नंं ८ को रेडक्रसमा रहेको एम्बुलेन्स पनि अहिले नगरपालिकामार्फत ल्याइएकोले एम्बुलेन्सको अभाव कम भएको उनको भनाइ छ । कहिलेकाहीँ त एम्बुलेन्स तत्काल चाहिएको हुन्छ, पाउन गाह्रो पर्छ । एम्बुलेन्सहरु बोलाउँदा आउँदैनन्,’ उनले भने— ‘अभाव भएको अवस्थामा स्वास्थ्य शाखालाई सवारी अभाव भए नगरपालिकामा रहेको सवारी साधन प्रयोग गर्ने गरी व्यवस्था मिलाइएको छ ।’

इटहरी उपमहानगरपालिकाले भने आफ्नै पालिकामा भएको दुई एम्बुलेन्सलाई पूर्ण रुपमा संचालनमा ल्याएको छ । अन्य ग्रामिण क्षेत्रका पालिकामाजस्तो यो पालिकामा एम्बुलेन्सको समस्या नभएको मेयर द्धारिकलाल चौधरीले बताए । तर यो पालिकामा परीक्षणमा समस्या रहेको छ । कोभिडको दोश्रो लहरसँगै एक दर्जन बढीको मृत्यु भइसकेको यो पालिकामा संक्रमणको मुख्य कारण बिहे र ब्रतबन्धलाई लिइएको छ । ‘कोरोनाको वास्तै नगरी बिहे व्रतबन्ध धुमधामका साथ गर्ने गरिएको छ,’ मेयर चौधरीले भने— ‘हामीले जति कडाइ गर्दा पनि भित्रभित्रै सय दुई सय जनालाई भोज खुवाएको कुरा आउँछ ।’

पीसीआर टेस्ट् केमिकल अभावले गर्दा दैनिक ५० जनाको मात्र परीक्षण गर्ने काम भएको उनी बताउँछन् । ‘२ लाख जनसंख्यामा दैनिक ५० जनालाई मात्र परीक्षण गर्न सकिएको छ,’ मेयर चौधरीको भनाइ छ— ‘५० जनामा ४० भन्दा माथि संक्रमण देखिएको छ ।’

दलहरु स्थानीय प्रशासन गुहार्दै 
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले मृत्युदर अत्याधिक हुँदा पनि नागरिकमा सचेतना र त्रास अझै नदेखिएको बताउँछन् । संक्रमित भएपछि पहिलो कुरा एम्बुलेन्स पाउनै समस्या रहेको, अस्पताल पुगिहाले पनि बेड पाउन समस्या रहेको र उपचारका क्रममा मृत्यु भएमा दाह—संसकारमा समस्या रहेको उनको भनाइ छ । सुनसरीमा समस्याको रुपमा अहिले आफ्नो सम्पर्कमा आएका व्यक्ति नजिकका व्यक्तिलाई मात्र स्थानीय तहले एम्बुलेन्स दिने गरेको तर अरुले भन्दा नदिने अवस्था आएको उनले आरोप लगाए ।

अवस्था भयावह बन्दासमेत विवाह, व्रतबन्ध, पुराणजस्ता कार्यहरु नरोकिएको उनको गुनासो छ । ‘कोभिडको कारण मृत्युदर उच्च छ, तरपनि बिहे, व्रतबन्ध, पुराणजस्ता जस्ता कार्यहरु रोकिएका छैनन्,’ उनले भने— ‘प्रशासनले ७ जना मात्र बिहेमा जन्ती जान पाउने भनेको छ, तर दुई सयदेखि ५ सयसम्म मान्छे देखिएका छन् ।’

कोभिडकै बिचमा पनि भारत—नेपालबीचमा हुने विवाहले नेपालमा अहिले कोरोनाको संक्रमण उच्च रुपमा फैलिएकोले स्थानी प्रशासनले यसलाई कडाइ गर्नुपर्थ्यो, त्यो हुन नसक्दा पनि अहिलेको अवस्था भयावह बनेको कार्कीको भनाइ छ ।

प्रशासनले ७ जना मात्र बिहेमा जन्ती जान पाउने भनेको छ, तर दुई सयदेखि ५ सयसम्म मान्छे देखिएका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष रेवती भण्डारी संक्रमण फैलिन नदिनका लागि गर्नुपर्ने कामहरु सबै दलहरु एक ठाउँमा उभिनुपर्ने देखिएको बताउँछन् । एम्बुलेन्सलाई निगरानी गरी कडाइ गर्ने र आवश्यकताको आधारमा मात्र संचालन संयन्त्र बनाउन प्रशासनले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । पछिल्लो समस्या भनेको शव व्यवस्थापनको पनि देखिएकोले शव व्यवस्थापनमा दलहरुले समन्वयकारी भूमिका खेल्ने काम भइरहेको उनले बताए । यस्तै यता जनता समाजवादी पार्टीका नेता पदम अधिकारीले स्थानीय सरकारहरु क्रियाशिल देखिए पनि बिहे व्रतबन्धमा कडाइ गर्न जरुरी रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले समयमा एम्बुलेन्स नगएको बारेमा उनीहरुसँ छलफल गरेर समाधान निकालिने बताएका छन् । एम्बुलेन्सको समस्या आउन नदिनका लागि हामीले जिल्ला स्वास्थ्य कार्यालयमा २४ सै घण्टा संचालनमा आउनेगरी एउटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ,’ उनले भने— ‘डीडीएमसीको निर्णयअनुसार यो एम्बुलेन्स आवश्यकताअनुसार सुनसरीका सबै पालिकाले प्रयोग गर्न सक्नेछन् । अहिलेको समस्या अक्सिजन भएकोले सुनसरीमा रहेको अक्सिजनमै बस्नुपर्ने बाध्यता भएकोले दैनिक ३ पटकसम्म अक्सिजन उद्योग धाउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *