कविता

सरकार म तँलाई पनि श्रद्धाञ्जली गर्दिन !

  • नरेन्द्र दाइ

हाम्रा शोकाकूल अनुहारलाई हेर्दै
सरकार फिस्स हाँस्छ
दिन नढल्दै ढलेका सगरमाथाभन्दा अग्ला निष्ठाहरू हेर्दै
सरकार ङिच्च दाँत देखाउँछ
अक्सिजन र जीवनको समीकरण खोज्नुपर्ने बेलामा ऊ विश्वास-अविश्वासको संसदीय समीकरण गर्छ ।
भर्भराउँदा जीवनहरू मसानघाटमा हुर्हुर जलेको हिसाब-किताब गर्दै सरकार आफ्ना प्रगतिको सूचीमा सायद मैले यति नयाँ चिता बनाएँ र यति मान्छे डढाएँ भनेर प्रतिनिधिसभामा विवरण पेस्तो हो ।

सुन्छु मिले अरे लामखुट्टे र किर्नाहरू
आफ्नै-आफ्नै हुलमा झुलभित्र पसेर निधक्क रगत चुस्न
स्वभाकिक हो स्वार्थ सिद्धि
जमात मिलाएरै गरेको

मृत्युको उत्तरदायित्व मर्नेले नै लिनुपर्ने यो कस्तो विडम्बना ?
कैयौँ दिनदेखि थन्किएका रित्ता
भोका स्याहार नपाएका रित्तो सिलिन्डरझैँ
खिया लागेको सरकारको मनको सुरक्षाबलमा
काल पसेको छ
निर्धक्क मानवबस्ती

सरकार !
एक दिन तेरो पनि पालो आउँछ,
र आएछ भने म तेरो नाममा म कुनै शब्दले शोक गर्दिन
र श्रद्धाञ्जलीको शब्दै गर्दिन
जसरी तैँले होनहारहरूको जीवनमा अक्सिजन रोकेर श्रद्धाञ्जली गरिस् !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *