निषेधाज्ञामा कडाई, मजदुर उद्योगभित्रै राख्नुपर्ने

विराटनगर । कोरोनाको महामारी बढ्दै जाँदा स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत हुँदै जान थालेको छ । निषेधित क्षेत्र घोषणा गरिएको भएपनि बजारमा चहल पहल नरोकिएपछि कडाईका प्रशासनले थप कडाई गर्दै लगेको हो ।
निषेधाज्ञाको समयमा उद्योगधन्दा तथा ब्यवसाय संचालनमा रहेकोले सर्वसाधारणको आउजाउ बढेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय मोरङले उद्योग तथा ब्यवसायलाई पनि कडाई गर्नेगरि दोश्रो पटक संशोधन गरि निषेधाज्ञा जारी गरेको छ । कोरोना महामारीको बेलामा उद्योग धन्दा संचालन गर्नुपर्ने भए उद्योगी व्यवसायीहरुले मजदुर तथा कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यस्थल परिसरभित्रै बस्ने प्रबन्ध मिलाउनु पर्नेगरि थप कडाई गरिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङले दोस्रो पटक संसोधन गर्दै जारी गरेको निषेधाज्ञा आदेश अनुसार उद्योगधन्दा चलाउनु पर्दा बाहिरबाट कामदार, मजदुर र कर्मचारीहरु ल्याउन र लैजान नपाउने उल्लेख छ । दैनिक आउजाउनले कोरानाको महामारी फैलनसक्ने अबस्थालाई मध्यनजर राख्दै निषेधाज्ञालाई कडाई गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उद्योगहरुमा धेरै मजदुर तथा कर्मचारीहरु काम गर्ने भएकोले दैनिक रुपमा ओहोरदोहोर गर्दा कोरोना भाइरसको संक्रमण झन फैलिने अवस्था आउनसक्ने भएकोले यस्तो आदेश दिईएको निरौलाले बताए ।
निषेधाज्ञाको समयमा स्वास्थ्यकर्मी, डाक्टर, नर्स, दूरसंचार क्षेत्रका कर्मचारी, सरसफाईकर्मी, अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरु, तोकिएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आफ्नो परिचयपत्रको प्रयोग गरेर कार्यालय आवतजावत गर्नसक्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्था तथा बिमा कम्पनीहरुले नेपाल राष्ट्र बैंक विराटनगरको निर्देशन बमोजिम मात्रै सेवा प्रदान गर्ने, भिडभाड कम गर्न सकेसम्म अन कल सर्भिस, एटीएम र अनलाइन बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन प्रशासनद्धारा जारी निषेधाज्ञामा भनिएको छ ।
दोस्रो चरणको निषेधाज्ञा आज शनिबार राती १२ बजे सकिंदैछ । शुक्रबार जारी तेश्रो चरणको निषेधाज्ञाको नयाँ आदेश आज राती १२ बजेदेखि ११ गते राती १२ बजेसम्म १० दिनका लागु गरिएको छ ।









