मोरङमा थप ९ कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोभिडका कारण ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । मोरङका तीनवटा अस्पतालमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म उनीहरूको मृत्यु भएको हो । विराटनगरमा रहेको कोशी कोभिड–१९ उपचार केन्द्रमा विराटनगर बस्दै आएका ३८ वर्षीय पुरुषको मध्यरातमा मृत्यु भएको छ ।

वैशाख १९ गते अस्पताल भर्ना गरिएका उनको भेन्टिलेटरमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै विराटनगर-६ का ५६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा बिहान १ बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो । कोरोना सङ्क्रमित पुरुषलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

कोशी कोभिडमै सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ७९ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । बिहीबार अस्पताल भर्ना गरिएका उनको राति मृत्यु भएको केन्द्रले जनाएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा ४, कोशी कोभिड–१९ उपचार केन्द्रमा ३ र विराट शिक्षण अस्पतालमा २ जनाको मृत्यु भएको हो । नोबेलमा सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । गत वैशाख २२ उपचारका लागि ल्याइएका उनको शुक्रबार बिहान मृत्यु भएको हो । नोबेलमै बिहान विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धाको पनि मृत्यु भएको छ। त्यस्तै आज दिउँसो नोबेल अस्पतालमा गोल बजार-७ कि ३८ वर्षीया महिलाको संक्रमणका कारण मृत्यु भएको छ ।

वैशाख २७ गते रिपोर्ट पोजिटिभ आएकोमा शुक्रबार बिहानै अस्पताल लगिएकोमा अस्पताल पुर्‍याएको केहीबेरमा नै मृत्यु भएको घोषणा गरिएको थियो । धनकुटाका अर्का संक्रमितको पनि मृत्यु भएको छ । जोरपाटीका ५६ वर्षीय पुरुषको बिहान नोबेलमै मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख २८ गते उनी अस्पताल भर्ना भएका थिए । त्यस्तै महोत्तरीका अर्का ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोरोना पुष्टि भएर घरमै रहेका उनलाई शुक्रबार मध्यराति अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहान मृत्यु भएको दाहालले बताए ।

टंकिसिनवारीमा रहेको विराट मेडिकल कलजमा पनि दुई संक्रमितको मृत्यु भएको छ। विराटनगर-९ का ४९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो । विराटनगर-६ कै ६४ वर्षीय पुरुषको राति नै मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि वैशाख २० मा अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक सुनिल देवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =