एफएनसीसीआईले गोर्खा अस्पताललाई कोभिड आइशोलेशन बनाउने

काठमाडौं । क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच सहमती भएको छ ।

कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन सम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धरले आज विहान हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको थियो ।

एफएनसीसीआईका अनुसार उक्त आइशोलेशन केन्द्र आगामी आइतवारबाट संचालनमा आउने छ भने सेन्टरमा प्रारम्भमा जम्मा ५० बेड रहने छन् र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुरयाइने छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइशोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीको निगरानीमा राखी आइशोलेशन सेवा प्रदान गरिने छ ।

केन्द्रअन्तर्गत आइशोलेशनमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिन दिनुपर्ने भएमा अक्सिन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था समेत हुनेछ ।

आपसी सहमती अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइशोलेशनमा रहेका विरामीहरूको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइशोलेशनमा रहेका आपतकालिन वा आकस्किम उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाउने छ भने महासंघले कोभिड आइशोलेन एवं प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउने छ ।

केन्द्रको लागि हुने खर्च एवं खर्च रकमलाई पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि महासंघको स्वास्थ्य समितिका सभापति हेमराज ढकालको सभापतित्वमा खरिद एवं खर्च व्यवस्थापन समिति गठन गरिएको र उक्त समितिमा भक्त बहादुर हमाल, रविन श्रेष्ठ, बाबुकाजी कार्की र एक जना चिकित्सक सदस्य रहेका छन् ।

महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी संक्रमितको सहयोगार्थ महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच भएको यो सहमती र सहकार्य ऐतिहासिक हुने बताए ।
कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालनबाट कोभिड संक्रमित विरामीलाई ठूलो राहत हुने भन्दै अध्यक्ष गोल्छाले आपसी सहमतीलाई पूर्ण पालना गर्न महासंघको तर्फबाट प्रतिवद्धता जनाए ।

कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने कार्यमा समन्वय गरीरहनु भएको महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालले काठमाडौं महानगरपालिका वडा नम्वर १७ लाई धन्यवाद दिंदै केन्द्र संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुग्ने बताए ।

वडाध्यक्ष मानन्धरले यो सत्कार्यमा स्वास्थ्य उपचार र दैनिक व्यवस्थापनका लागि महासंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै केन्द्रको प्रभवकारी संचालनमा आफू र आफ्नो वडाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी विभिन्न सहयोगका कार्यक्रम संचालन गरीरहेको छ । यसका लागि एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियाननै थालनी गरेको छ । कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र संचालन पनि सोही अभियान अन्तरगतकै कार्यक्रम भएको जनाएको छ ।

सोही अभियान अन्तरगत भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेशन र कामनपा– २९ को सहयोग एवं सहकार्यमा महासंघले आजैबाट काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको आइशोलेशन केन्द्र संचालनमा ल्याएको छ । केहिदिन अघिमात्र कोभिड संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर सेवा समेत शुरु गरेको थियो भने महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरी स्वास्थ्य समस्यमा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका मानिसहरूलाई सहायता केन्द्रमार्फत निरन्तर सहयोग एवं समन्वय समेत गरिरहेको छ ।

प्रतिक्रिया