बहुमतीय सरकारको कसरत : कांग्रेस–माओवादी आन्तरिक छलफलमा

काठमाडौं । बहुमतीय सरकार गठनको पूर्वनिर्धारित समयसीमा घर्किन लाग्दा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई ठूला दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र आ–आफ्नो आन्तरिक छलफलमा जुटेका छन् । अहिले बुढानीलण्ठमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ भने माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ । दुवै पार्टीको घर्किन लागेको बहुमतको सरकारको गठनको समयसीमाबारे छलफल गरिरहेका छन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटमा सरकारको दाबी गरी शीतल निवास जाने सहमति भएको एक माओवादी नेताले मकालु खबरलाई जानकारी दिए । ‘उहाँहरु (प्रचण्ड–देउवा) बीच बहुमतको सरकार गठनको कसरत कसरी गर्ने भन्नेबारे मुख्य रुपमा छलफल भयो । त्यस क्रममा बेलैमा सरकारको दाबी गर्दै शीतल निवास जाने सहमति भएको छ,’ ती नेताले भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को २ बमोजिम तीन दिनभित्र बहुमतको सरकार गठनको आह्वान गरेकी थिइन् । तर, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने चौंथो ठूलो दल जनता समाजवादी पार्टीभित्र देखिएको राजनीतिक उतार–चढावका कारण समयमै बहुमतको सरकार बन्ने सम्भावना न्यून बनेको हो । बहुमतको सरकार बनाउन १३६ सांसद चाहिन्छ । तर, कांग्रेस–माओवादीसँग जम्माजम्मी ११० सांसद मात्रै छन् । जसमा ३२ सिट भएको जसपाको आवश्यक्ता पर्छ । जहाँ महन्थ ठाकुर–राजेन्द्र महतोपक्षीय जसपाले साथ नदिने बताएको छ भने डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जसपाले पनि देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार्नु आनाकानी गरिरहेको छ ।

यद्यपि आज अन्तिम घडीसम्ममा सरकार गठनको प्रक्रिया शुरु हुनसक्ने एक माओवादी नेताको दाबी छ । उनले मकालु खबरसँग भने– ‘सिङ्गो जसपा एक नहुँदा समस्या भयो । यद्यपि पनि हामीले जसरी भएपनि सरकार गठन गर्ने कोणबाट हामीले आवश्यक सम्वाद अघि बढाएका छौँ । अन्तिम घडीसम्म प्रक्रिया अघि बढ्छ भन्ने लागेको छ ।’

यता कांग्रेस सांसद पुष्पा भुसालले पनि बैठकमार्फत कांग्रेस एउटा निष्कर्षमा पुग्ने बताउँछिन् । ‘अहिले बैठक जारी छ,’ सांसद भुसालले भनिन्— ‘खासगरी बहुमतीय सरकार गठनको समससीमा सकिन लाग्दा कस्तो कदम चाल्ने भन्नेबारे गहण छलफल भइरहेको छ । माओवादी केन्द्रसँग हाम्रो कुरा मिलिसकेको छ । त्यसो हुँदा बहुमतको सरकार गठनको प्रक्रिया शुरु हुने सम्भावना छ ।’

प्रतिक्रिया