कोशी अस्पतालभित्रै कोभिडको उपचार हुने, ६१ शय्या तयार

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालले आफ्नै भवनमा ६१ शय्याको कोभिड अस्पताल संचालनमा ल्याउने तयारी थालेको छ । कडा लक्षण भएका कोरोना संक्रमित बढेर अस्पतालको शय्या भरिएर बिरामीले उपचार पाउन छोडेपछि कोशी अस्पतालले कोभिडको उपचार थाल्न लागेको हो ।
भेन्टिलेटरसहितको ६१ शय्याको कोभिड उपचार शुरु गर्न लागिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । अस्पताल प्रशासनको तयारीअनुसार ५ शय्याको भेन्टिलेटर, २४ शय्याको एचडीयू, ३२ अक्सिजनसहितको शय्या सञ्चालन हुने मेसु दासले मकालु खबरलाई जानकारी दिए । अस्पतालको मेडिकल भवनको पोस्टमेटल वार्डलाइ कोभिड अस्पतालको रूपमा संरचना निर्माणको काम पुरा भएको छ ।
कोभिड उपचारका लागि आवश्यक सबै संरचना निर्माण पुरा भएकाले शुक्रबार वा ढिलोमा आइतबारसम्ममा उपचार शुरु गर्नेगरी तयारी भएको दासले बताए । अहिले सीसीटिभी, वाइरिङ, शय्यामा पुर्याउन अक्सिजनको पाइप जडानको काम र बेड व्यवस्थापनको काम भइसकेको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकरण उपलब्ध गराएकोले त्यो जडानको काम शुरु भएको उनले जानकारी दिए । संक्रमितको उपचार कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले गर्नेछ भने जनशक्ति अपुगको हकमा थप गर्ने अस्पताल प्रशासनको तयारी छ ।
प्रदेश १ मा रहेका अधिकांश कोभिड अस्पतालमा अक्सिजन बेड, आइसीयू र भेन्टिलेटरका शय्या पाउन समस्या भएपछि कोशी अस्पतालले तत्काललाई ६१ जना अटाउन सक्नेगरी कोभिड संक्रमितको उपचार शुरु गर्न लागेको हो ।









