पत्रकार महासंघ मोरङद्वारा कोभिड समन्वय कोष स्थापना

विराटनगर । नेपालपत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूकालागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ ।
बिहीबारदेखि सञ्चालनमा ल्याइएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्त हुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले बताए । कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गरिएको उनले बताए ।
कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्रपी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्यरहने गरी समिति गठन गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई अस्पताल भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि महासंघ अध्यक्ष खनालको संयोजकत्वमा ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ । र्यापिड रेस्पोन्स टिममा सल्लाहकार शंकर खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पीअधिकारी, कोषाध्यक्ष अभयकुमार राईसहित कार्यसमिति सदस्यहरुलाई आवश्यक सहयोगका लागि जिम्मेवारी दिइएको छ ।
समाचार संकलन तथा सम्प्रेषणका क्रममा संक्रमित हुने सञ्चारकर्मीहरूलाई तत्काल उपचारको प्रबन्ध मिलाउनका लागि प्रदेश नं. १ सरकार, स्थानीय सरकारहरूको महासंघले ध्यानाकर्षण गराएको छ । कोरोना संक्रमण भई आइसोलेसन केन्द्र र होम आइसोलेसनमा रहेका सञ्चारकर्मीको स्वास्थ्यलाभको कामना गर्दै दैनिक स्थलगत समाचार संकलन/सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउँदै र अत्यावश्यक कामबाहेक घरबाटै समाचार संकलन तथा सम्प्रेषणका लागि महासंघले आग्रह गरेको छ ।








