उपत्यकामा आगामी जेठ १३ गतेसम्म थप गरिएको निषेधाज्ञामा कडाइ

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आगामी जेठ १३ गतेसम्म थप गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ ।

निषेधाज्ञा थप भएसँगै बिहीबारबाट निषेधाज्ञालाई कडाइ बनाइएको हो । निषेधाज्ञामा कडाइ भएसँगै उपत्यकाका सडकमा सवारी आवागमन निकै न्यून रहेको छ ।

चोक चोकमा प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

बिहीबारबाट अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहनेछ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्रीमात्र बिक्री गर्न) खुला हुनेछ । मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन ।

सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ ।

यस्तै अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवा दिने कार्यालयले पनि न्यून कर्मचारी राख्नुपर्ने आदेशमा उल्लेख छ । अहिलेसम्म यसैगरी मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

प्रतिक्रिया