टेलिकमको नाफामा १ अर्ब ६८ करोडले गिरावट

काठमाडौं । नेपाल टेलिकमको खुद नाफा २२.२२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्मा टेलिकमको खुद मुनाफा १ अर्ब ६८ करोड १० लाख ४३ हजार ४ सय ७१ रुपैयाँले घटेको हो ।
कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमास अवधिसम्ममा ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार ३ सय ८० रुपैयाँ मुनाफा कमाएकोमा चालु आवको सोही अवधिमा खुद मुनाफा रु ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार ९ सय ९ रुपैयाँ कमाएको हो ।
कम्पनीले अघिल्लो आवको तेस्रा त्रैमासिक अवधिसम्ममा ३२ अर्ब २७ करोड २३ लाख २३ हजार ४६ कुल आय गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३१ अर्ब ६७ करोड ३७ लाख ७३ हजार ९ सय ३७ रुपैयाँ कुल आय आर्जन गरेको छ ।
कम्पनीले चालु आवको प्रथम त्रैमासमा ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ कुल सेवा वापतको आय आर्जन गरेको थियो । द्वित्तीय त्रैमाससम्मा ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ कुल सेवा वापतको आय आर्जन गरेको थियो । त्यस्तै तृतीय त्रैमासमा ९ अर्ब ७२ करोड ७४ लाख ३९ हजार ४ सय ५९ रुपैयाँ कुल सेवा वापतको आय आर्जन गरेको थियो ।
गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल सेवा वापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २ सय ७२ रुपैयाँ कमाएको थियो ।
कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आवमा घटेकोले कम्पनीका नाफामा असर गरेको जनाएको छ ।
त्यस्तै कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा उपलव्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा बढे तापनि राजस्व आशातित रुपमा वृद्धि हुने अवस्था नरहेकोले नाफा घटेको जनाएको छ ।
कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट, अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको, वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादर बढेको, मर्मत संभार खर्चमा भएको वृद्धि भएको, विदेशी मुद्रा सटहि दर बढेको, फोरजी र फएटीटीएच जस्ता प्रविधि जडानमा ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफा घटेको जनाएको छ ।








