एमाले स्थायी कमिटी बैठक बस्दै, रोकिएला विपक्षी एमालेको राजीनामा ?

काठमाडौं । सत्तारुढ एमालेको स्थायी कमिटी बैठक बस्दैछ । कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गकाअनुसार बैठक केहीबेरमा शुरु हुँदैछ । ‘बैठकको एजेण्डाबारे पूर्वजानकारी छैन,’ नेम्वाङ्गले मकालु खबरसँग भने– ‘सायद यही समसामयिक राजनीतिक विषयमा होला, हामी सबै साथीहरु बालुवाटारमा आइपुगेका छौँ ।’

सत्तासिन एमालेले विपक्षी एमाले (माधवकुमार नेपाल–झलनाथ खनाल)को राजीनामा रोक्ने प्रयास पनि गरिरहेको छ । यता नयाँ सरकार गठनको कसरत गरिरहेका नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलले भने विपक्षी एमालेलाई राजीनामा दिन आग्रह गरिरहेको छ ।

राजीनामाबारे विपक्षी एमालेभित्रै दुई मत देखिन्छ । यहीबेला सत्तासिन एमालेले लगातार सम्वाद जारी राखेको छ । स्रोतले मकालु खबरलाई भन्यो– ‘हामी विपक्षी एमालेसँग पनि सम्वाद जारी राखेका छौँ । उता पनि मतभेद देखिएको छ । यसो हुँदा उहाँहरु पनि हाम्रै कित्तामा आउनुहुन्छ भन्ने लागेको छ ।’ यसबीचमा आजै बिहान स्थायी कमिटी सदस्य विष्णु पौडेल वरिष्ठ नेता नेपाल निवास पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार बनाउन आह्वान गरेको समयसीमा बिहीबार (आज) सकिँदैछ । तर, विपक्षी दलहरुबीच कुराकानी नमिल्दा नयाँ सरकार बन्ने सम्भावना देखिँदैन ।

प्रतिक्रिया