आयातले घटायाे शोधनान्तर बचत, चालु खाता २०७ अर्ब घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा शोधनान्तर स्थितिमा रहेको बचत घटेको छ । हाल शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा छ । अघिल्लो महिना अर्थात् चालु वर्षको ८ महिना(फागुन)सम्ममा यस्तो बचत ६८ अर्ब रुपैयाँको थियो । तर, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत बढेको देखिएको छ ।

गत वर्ष सोही समयमा ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।

खास गरी अघिल्लो वर्षको चैतको तुलनामा चालू वर्षको चैतसम्ममा आयातमा वृद्धि हुँदा शोधनान्तरको बचत घटेको हो ।  शोधनान्तर बचत कम हुँदा बाह्य कारोबारमा मौद्रिक तरलता प्रवाह हुन्छ भने शोधनान्तर स्थिति घाटामा हुँदा त्यस्तो तरलताको मौद्रीक प्रशोचन बढ्ने गर्छ ।

त्यस्तै, समीक्षा अवधिमा सरकारको चालु खाता २ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ७७ करोडले घाटामा रहेको छ ।

चालू आर्थिक कारोबारले चालु खाताको सन्तुलनलाई प्रभाव पार्छ । चालु खाता घाटामा हुँदा नेपालले अन्य देशहरूबाट लिएको खुद सापटी बढेको भन्ने बुझिन्छ । चालु खाता बचतमा हुँदा नेपालले अन्य देशलाई खुद सापटी दिएको भन्ने बुझिन्छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले बढेर १२ अर्ब ८६ करोड पुगेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी २५ प्रतिशतले कम भई १२ अर्ब ३५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रुपैयाँ रहेको
थियो ।

बिदेशी विनिमय सञ्चिति बढ्याे 

२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेर २०७७ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.७ प्रतिशतले वृद्धि भई ११ अर्ब ९६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.२ प्रतिशतले बढेर १२ खर्ब ५३ अर्ब १७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.५ प्रतिशतले वृद्धि भई १ खर्ब ८० अर्ब १० करोड पुगेको छ । २०७७ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया