निरन्तर उकालो यात्रामा पुँजी बजार, ३७ खर्बमाथिकाे पूँजीकरण

काठमाडौंं । चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिना (साउनदेखि चैतसम्म)मा नेपालको पूँजी बजार (नेप्से) परिसूचक निरन्तर उकालो यात्रामा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधि अर्थात् २०७६ चैत मसान्तमा १२५१.५ रहेको नेप्से सूचकाङ्क २०७७ चैत मसान्तमा २७१४.८ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो ।

३७ खर्ब बजार पूँजीकरण 

२०७७ चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण रु. ३७ खर्ब ५८ अर्ब ९८ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु. १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७७ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २ सय १८ रहेको छ । सूचीकृत कम्पनी मध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३८ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २ सय १२ रहेको थियो ।

बैंक तथा वित्ती संस्थाकाे पूँजीकरणा हिस्सा ६९ प्रतिशत 

सूचीकृत कम्पनी मध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ७.९ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ चैतसम्ममा सूचीकृत ५ अर्ब ६७ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ५७ अर्ब ७० करोड रहेको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, रु. ३९ अर्ब ४७ करोड बराबरको साधारण शेयर, रु. ३८ अर्ब ११ करोड बराबरको बोनस शेयर, रु.१४ अर्ब ५५ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब ९२ करोड बराबरको हकप्रद शेयर र रु.२ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु. ३ खर्ब १८ अर्ब ८५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२९ अर्बकाे धिताेपत्र निश्कासन अनुमित 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, रु. ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र रु.२ अर्ब ४८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया