कालिमाटी तरकारीको खुद्रा बजार बन्द, थोक काराेबार चालु रहने

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजारमा हुँदै आएका कृषि बजार मंगलबारबाट बन्द भएको छ । कृषक आफूले उत्पादन गरेका तरकारी तथा फलफूल आफैंले बेच्न पाउने गरी सञ्चालनमा रहेको कृषक बजार बन्द गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
उनका अनुसार कालिमाटीमै रहेको थोक बजारबाट किनेर खुद्रा बजारमा गरिँदै आएको कारोबार भने ३० वैशाख अर्थात् बिहीबारबाट बन्द गरिने भएको छ । खुद्रा बजारमा थोकमा किनेर खुद्रामा बिक्री गर्ने व्यापारीहरुले तरकारी तथा फलफूल बिक्री गर्ने गरिएको छ । त्यस्तै, थोक बजरामा हुने खुद्रा कारोबार पनि अब बन्द गरिने उनले बताए । तर, थोक बजारमा हुने थोक कारोबार भने नरोकिने भएको छ ।
‘समितिको मंगलबार बसेको बैठकले कृषक बजारमा हुने, खुद्रा बरामा हुने र थोक बजारमा हुने सबै खाले खुद्रा कारोबार बन्द गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘तर, थोक बजारमा अब खुद्रा खरिदका लागि जान पाइँदैन । थोक खरिदबिक्री भने जारी रहने छ ।’
कोभिड–१९ दोस्रो लहरको संक्रमण रोक्न थोक बजारमा पनि एउटा पसलमा २ जनाभन्दा बढी व्यापारी बस्न नपाइने, साइकल र मोटरसाइकल लगेर भीड गर्न नपाने नियम लगाइएको छ ।









