कोरोना उपचारका लागि गोल्छा ग्रुपद्वारा १ करोडको सहयोग

काठमाडौँ । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड रुपैयाँ नगद सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आएको पाटन अस्पतालले आफ्नो सेवाबाट थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको छ । अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै गोल्छा गु्रपले उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ ।
गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडको संख्या बढाउनेलगायत कोरोनाको संक्रमणसँग जुध्न सहज गर्न उपयोग गर्ने बताएको छ ।
गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले कोरोना संक्रमणका कारण देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेकोले उपचारमा खटिएको पाटन अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
‘हामीले कोरोनाको पहिलो लहर र लकडाउनको बेलामा पनि अन्य केही संस्थासँग मिलेर कोरोनाविरुद्ध सहकार्य गरेका थियौँ,’ उनले भने, ‘हामीले लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरि ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियौँ । जुन फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थ्यकर्मीद्वारा देशभरका कोभिड–१९ का बिरामीको परीक्षणका लागि उपयोग गरिएको थियो । हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेका छौं र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने छौं । यो हाम्रो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत थालिएको स्वास्थ्य क्षेत्र सँगको नयाँ साझेदारी हो ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले गोल्छा गु्रपले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको उक्त सहयोग अत्यन्तै समय सापेक्ष भएको बताए ।
‘यो सहयोगले अवश्य पनि हाम्रा फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउने छ,’ उनले भने, ‘निजी क्षेत्रले यस्तो विषम परिस्थितिसँग जुध्न हामीसँग गरेको यो हातेमालोका लागि गोल्छा गु्रपका अध्यक्ष जो समग्र निजी क्षेत्रकैे नेतृत्व पनि गर्दै हुनुहुन्छ उहाँलाई धन्यवाद दिन चाहन्छु ।’








