तिमी कहिले आमा बन्ने ?

८ वर्षकी थिएँ, काइँला काकाको विवाह हुँदा । ब्राह्मण परिवार अनि हजुरबुवा पुरोहित भएकाले ‘क्षेत्रीकी छोरी’सँग मागी विहा असम्भव भयो । काकाले दाजुभाइसँग सल्लाह त गर्नुभयो तर कोहि मानेनन् । आफैं विबाह गरेर ल्याउनुभयो काकी । म अलिअलि थाहा पाउँछु-परिवारका सदस्यलाई मन परेको थिएन ।

काकी जो कोहीको मन जित्ने हुनुहुन्थ्यो । उहाँ छिट्टै सबैको प्रिय बन्नुभयो । एक, दुई, तीन हुँदै बर्ष बिते । तर, काकाकाकीका सन्तान भएनन् ।

म काकीसँग एकदमै मिल्थें । प्राय काकीसँगै हिंड्थें । उहाँसँग हिंड्दा मानिसले सोधेको सुन्थें- नानी तिम्रा चाहिं छोराछोरी कतिजना ? तिमी चाहिँ कहिले आमा बन्ने ? केटाकेटी हुँदै नभएका कि भएर पनि…? यस्तै यस्तै…

मलाई दिक्क लाग्थ्यो । तर काकी कि हाँसेर टार्नु हुन्थ्यो, वा मतिर देखाएर यही हो- मेरी छोरी भन्नुहुन्थ्यो । काकीको मायाँ देखेर म नै साँच्चै काकीको छोरी हुन पाए…भन्ने लाग्थ्यो । तर, काकीले त्यस्ता मुटु नै छेड्ने शुल जस्ता प्रश्नहरु हाँसेर टारिरहँदा भने रिस उठ्थ्यो । उहाँले खै कसरि सक्नुहुन्थ्यो त्यस्ता प्रश्नहरु चुपचाप सहन ? अझ हाँसेर टारिदिन ?

कहिलेकाहीं चाहिँ काकी आफुलाई कतै पनि, कसैकोमा पनि जान मन लाग्दैन’ भन्नुहुन्थ्यो । प्रश्नहरुले वाक्कदिक्क बनाएर हुनुपर्छ भन्नुहुन्थ्यो ‘रहर त मलाई पनि त होला नि आमा बन्ने…।’

लामो समय बच्चाबच्ची नभएपछि परिवारभित्र, छरछिमेकमा नातागोताका मानिसहरुबिच काकाको अर्को विहे गर्ने कुरा पनि गाईँगुईँ हुन थालेको थियो । तर हजुरआमाले भने काकीलाई साथ दिनुभएको थियो । ‘बरु कसैले बाटोमा फालेको बच्चा ल्याएर पाल्छु तर तँलाइ सौता हाल्न दिन्न’ हजुरआमाको भनाई हुन्थ्यो ।

मलाइ याद छ-जब दशैको टीका लगाउन काका काकी बस्नुहुन्थ्यो । हजुरबुवा हजुरआमाले काकालाई चिरञ्जीवी हुनु, ईश्वर सधै दाहिना हुन्, हाकेतोकको पुगोस्, यस्तै यस्तै आशिष दिनुहुन्थ्यो । जब काकीको पालो आउँथ्यो आशिष फेरिन्थ्यो-‘अर्को बर्ष चै नाती काखमा बोकेर टीका लगाइदिन पाइयोस्…’ । काकीलाई दशैंको खुसीभन्दा पनि अर्को बर्ष नाती काखमा बोकेर टीका लगाउने आशिष पूरा होला नहोला भन्ने कुराको पीडा अनुहारमा छर्लङ्ग देखिन्थ्यो ।

काकीसँग सँधैजसो सँगै हुने भएकाले मैले एउटी महिला विबाहको वर्षौसम्म पनि आमा बन्न नपाउँदा उसको मनमा पर्ने चोट र भावनालाई नजिकैबाट अनुभूति गर्न पाएँ ।

बिस्तारै म ठूली हुँदै गएँ । महिलाको त्यो पिडामा परिवार र समाजले थप्ने नुनचुक अझ राम्रोसँग थाहा पाएँ । यस्तो किन गरिन्छ होला भन्ने प्रश्न पनि मनमा ठूलो हुँदै गयो ।

मलाई लागिरहन्थ्यो आमा बन्ने कुरामा महिलालाई मात्र किन प्रश्नैप्रश्नको जन्जालले बाँधेर राखेको होला ? आमा बन्ने कुरा महिलाको क्षमता र प्रतिष्ठासँग मात्र किन जोडिएको होला ? के यसमा ‘बाबु’को भूमिका हुँदै हुँदैन त ? बच्चा हुन नसकेको दोष श्रीमान्लाई किन नदिइएको होला ? वा कम दिइएको होला ?

आफ्नोभन्दा धेरै अरुको खोजीनीति गर्ने हाम्रो समाजमा विहे गरेको केही बर्ष बित्नासाथ खासखास खुसखुस शुरु भइहाल्छ ‘फलानीका बच्चा छैनन्’, ‘हैन बच्चै नहुने रछन् कि क्या हो !’ ऐजन ऐजन… । यो क्रम अहिले अलिकति कम भएपनि रोकिएको कहाँ छ र ?

काकीको त्यसबेलाको मानसिक अवस्थाको म अनुमान मात्र गर्न सक्थें । तर बिबाह भएको १३ औं बर्षमा अहिले म जे महसुस गर्दैछु त्योबेला काकीको मन मस्तिष्कमा के चलिरहेको थिएछ भन्ने अहिले पो धेरै बुझिरहेको छु । त्यो बेलाको अनुमान अहिले महसुस भइरहेको छ ।

विबाह पछि समयमै सन्तान भैदिंदा छिट्टै हुर्किन्छन् भन्ने कुरा ठीकै होला तर कुरा सन्तान जन्माउने र हुर्काउने मात्र जिन्दगी त होइन नि ।

अर्को महत्वपूर्ण कुरा त सन्तान प्राप्तिको कुरा त्यस्तो सहज र समाजले गर्ने आशा जस्तो मात्र होइन । चाहँदाचाहँदै पनि सन्तान भएन भने के गर्ने त ? एउटी महिलालाई घोचिरहने ? उसको पटकपटक बेइज्जती र अपमान गर्ने, गरिरहने ? महिलाकै कारण बच्चा नभएको हो भने पनि उसलाई बाँच्न पाउने अधिकारै हुँदैन त ? उसको ब्यक्तिगत जीवन नै हुँदैन त ? यो विषयमा किन कसैले बुझ्दैन । वा बुझ पचाउँछ ।

जसरी आज म महसुस गर्दैछु । आमाले छोरोलाइ बाबू तेरो सन्तान किन भएन ? भनेर नसोधेर किन बुहारीलाई ‘मलाई कहिले हजुरआमा बनाउँछौ भनेर सोध्छिन्, सोधिरहन्छिन् ?

फेरि पो महिनावारी भयौ ? बुहारीले हरेक रजस्वलापछि स्पस्टिकरण किन दिनुपर्छ, दिइरहनुपर्छ ? यसको जवाफ दिंदा-दिदा बुहारी थाकिसक्छिन् तर घरपरिवार, आफन्त र छिमेकी सोध्दा सोध्दा थाकेका हुदैनन् । उनीहरु यो कुरा किन बुझ्दैनन् कि कुनै दिन यो प्रश्न मलाइ या मेरालाइ पनि यसैगरि सोध्न सक्नेछन अरु कसैले भनेर ।

सामाजिक संजालमा एउटा भिडियो भेटेँ । जहाँ ९२ बर्षकी आमा रुँदै थिइन- हरिवंश पुराण लगाएर जन्माएको छोरोले आज घरबाट निकाल्यो अब म कहाँ जाउँ?

मनमा प्रश्न आयो सन्तान नै सबै कुरा हो त ? सन्तान हुँदा मात्र खुशी मिल्छ त ? खुशी केवल सन्तान मै मात्र छ त ? नेपालका ६४ जिल्लामा १४१ वटा वृद्धाश्रम रहेछन् । खुशी साँच्चै सन्तान नै थिए भने ती वृद्धाश्रममा बसेर आमाबाबु किन सन्तानलाई नै धिक्कारी रहेका छन् ? किन बाटोमा अलपत्र परेर आमाहरु अहिले पनि आमाघर र उद्ुधार गृहहरुमा आश्रय लिन बाध्य छन् ?

सन्तान नै सबैथोक भए अनाथ आश्रममा कयाैँ सन्तान ममताबिहिन हुनुपर्ने थिएन होला । एउटा सन्तान नजन्मिदा, जन्माउनका लागि गरेको त्याग, दुख, पुजापाठ, औषधीमूलो लगायतमा मरिहत्ते गरेका आमाबुवा आज आफ्नै सन्तानबाट घरनिकाला किन हुनुपथ्र्यो होला र ?

विवाहपछि नै बुहारी एक सन्तान उत्पादनको आशा पूरा गर्ने साधनका रुपमा हेर्ने चलन छ । विबाहपछि त श्रीमानले पालिहाल्छन् नि, किन जागिर खानु ? किन ब्यवसाय गर्नु ? किन पढ्नु ? यो मानसिकताबाट कहिले माथि उठ्ने ?

अँ साँच्चि,….म प्रसङ्ग जोड्दै थिए तिमी चै बच्चा कहिले बनाउने भन्ने प्रश्न अनि प्रसङ्गबारे-

मैले सन्तान नजन्माउदा तपाइलाई के फरक पार्छ र ? केही पार्दैन, पार्दैन भने जहाँ भेट्यो त्यहाँ बच्चा कहिले जन्माउने भनेर उसलाई लज्जित पार्न जरुरी छ र ? कहिलेकाहीँ त बिदेशबाट साथीहरु एउटा कुरा भन्नु थियो भन्छन् । के नै भन्न लागे भनेर सुन्यो ‘टेस्ट्युब गर् न’ उनीहरुको सल्लाह हुन्छ । लाग्छ यसबारे उनीहरुलाई मात्र थाछ । ‘फलानो ठाउँमा धामी छन् रे एकपटक जा न, अब ढिला नगर है’ अर्काको सुझाव आउँछ । अर्काथरी भन्छन् ‘सधैँ यसरी दुइजना डुलेर मात्र हिड्ने कि सुरसार पनि गर्ने ?’

हैन कति चिन्ता हो, चिन्ता जति सबै उनीहरुले नै बोकिदिएका जस्तो ।

कसैको केही सपना होला । परिवार ब्यवस्थापनको कुरा होला । आर्थिक आर्जन पहिले गरौँ भन्ने योजना होला । केही शारिरीक समस्याको कारण पनि बच्चा नभएको हुन सक्छ । वा कसैलाई बच्चै नजन्माउँ भन्ने पनि त लाग्न सक्छ । के दम्पत्तीले सल्लाहमै बच्चा नजन्माउने निर्णय गर्न सक्दैनन वा पाउँदैनन् र ?

बच्चा जन्माउने नजन्माउने वा कहिले जन्माउने भन्ने कुरा श्रीमान् श्रीमतीको नितान्त व्यक्तिगत कुरा होइन र ?

कुनै आमा वर्षौसम्म बच्चा नहुँदा म जति दुखी हुन्छे समाजले यही प्रश्न सोधेर अझ सोधेको सोध्यै गरेर थप दुखी बनाउँछ । संसारको सबैभन्दा ठूला अपराधी नै बच्चा नजन्माउने महिलाहरु हुन् कि जस्तो बनाइन्छ, आखिर किन, कहिलेसम्म ?

मेरी काकीको बिवाह भएको २२ वर्ष पछि सन्तान भयो ।

अब तिमी चाहिँ बच्चा कहिले जन्माउने भन्दा पनि तिमी आफ्नो करियर कसरी बनाउने ? भन्ने प्रश्न सोधौं न । समुहमा लज्जित बनाउनु भन्दा ऊ त्यो स्थानसम्म पुग्न गरेका सघर्षका कुरा सोधौं न । महिला पनि पुरुष सरह घर परिवार चलाउन सक्ने समाजको निर्माण गर्न सघाऔं न । हामी २१ औँ सताब्दिमा छौ । तपाईं आज जसरी सोच्नु हुन्छ भोलि समाज त्यस्तै बन्ने छ ।

सोध्न सकिन्छ भने बुवा आमालाइ वृद्धाश्रम पुर्याउनेलाई सोधौं न । रोक्न सकिन्छ भने यो कर्म रोकौं न । आमा बुबालाई आ आफ्ना सन्तानसँगै फर्काएर ती आश्रमलाई बन्द गर्न पहल गरौं न ।

के हर महिलालाई तिमी आमा चैँ कहिले बन्ने भन्ने प्रश्न सोध्न अझ, सोधिरहन जरुरी छ ?

प्रतिक्रिया