नेपाल–खनालले नयाँ पार्टी बनाए सामेल हुन्छु : बामदेव

काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले नयाँ पार्टी बनाए आफू सामेल हुने बताएका छन् ।

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले दिएको जानकारीअनुसार नेपाल–खनाल पक्षले एमालेभित्रै रहेर समानान्तर समिति बनाउने र समानान्तर गतिविधि गर्ने कुराको विपक्षमा रहने तर संसदको ४० प्रतिशत समर्थनसहित वा त्यसबाहेकको अवस्थामा पनि पार्टी विभाजन गरे आफू त्यो पार्टीमा सामेल हुने बताएका हुन् ।

गौतमले अध्यक्ष ओलीसमक्ष नेकपा एमाले २०७५ जेठ २ गतेसम्मको स्थितिबाट अघि बढ्नुपर्ने प्रस्ताव गरेकोमा ओलीले त्यसबाट आफू धेरै अघि पुगिसकेकाले अब त्यो सम्भव नभएको बताएपछि त्यसो भए आफू ओलीसँग रहन नसक्ने स्पष्ट पारेको संयोजक सुवेदीले बताएका छन् ।

सुवेदीले भनेका छन्ः–
नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।
१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।
२. क.माधव नेपालहरुका सन्दर्भमा
वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

प्रतिक्रिया