सहमतिका लागि ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षले सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

नेपाल-खनाल पक्षका सांसदहरूको आइतबार बसेको बैठकले सहमति कायम गर्न अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्‍मको अल्टिमेटम दिने निर्णय गरेको सांसद योगेश भट्टराईले जानकारी दिए ।

‘पार्टी एकता जोगाउने जिम्मेवारी अध्यक्षको भएकाले निष्कर्ष बैठकले निकाल्दै सोमबार बिहान ९ बजेसम्मको समय दिएको र यसबारेमा अध्यक्षले केही नगरे सांसदहरूलाई साढे ९ बजे संसद सचिवालयमा उपस्थित हुन भनिएको छ,’ सञ्चारकर्मीहरुसँग भट्टराईले भने ।

बैठकले अध्यक्ष ओलीले आइतबार जारी गरेको विज्ञप्तिको भर्त्सना गरेको छ । वक्तव्य एउटा पक्षलाई लाञ्छित गर्ने खालको भएकाले त्यसको भर्त्सना गर्दै अध्यक्ष पार्टी एकताको पक्षमा गम्भीर हुनुपर्नेमा बैठक एकमत रहेको पनि उनले बताए ।

अध्यक्ष ओलीले आइतबार निकालेको वक्तव्यमा अर्काे पक्षले गरेका क्रियाकलाप र सामूहिक राजीनामालाई अपराध भन्दै विपक्षीलाई विजयी गराउँदै दिग्विजय मनाउने कामलाई इतिहासले माफ नगर्ने उल्लेख गरिएको छ ।

नेपाल-खनाल पक्षले नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई ब्युँताउनुपर्ने आफ्नो बटमलाइन पूरा गरेमात्रै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। नेपाल खनाल पक्षले अहिलेकै अवस्थामा विश्वासको मत नदिने बरु सामूहिक राजीनामा दिने तयारी गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

उनले आइतबार नेताहरू सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेललाई नेता नेपालसँग छलफलका लागि पठाएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

प्रतिक्रिया