लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मी सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरेको छ ।
आयोगको अध्यक्षमा प्रस्तावित अर्थसचिव शिशिर कुमार ढुंगाना र रेग्मी मध्ये परिष्द्ले रेग्मीलाई अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको हो । आइतबार बिहान बालुवाटारमा बसेको परिषद्को बैठकले यस्तो रिफारिस गरेको हो । बैठकले  आयोगका सदस्यमा हरी पौडेल, बीर बहादुर राईलाई नियुक्तीको लागि सिफारिस गरेको छ । परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिबाट नियुक्ती हुने छ ।

गौरादह–३ झापा घर भएका रेग्मी प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्लाबासी हुन् । तर, उनलाई कांग्रेस निकट भनेर चिनिने गरेको छ ।

उनको परिवार खोटाङ जिल्लाबाट बसाईं सरेर झापा गएको थियो । रेग्मी भने खोटाङको दुबेकोटमा जन्मिएका हुन् । हाल अनामनगरमा बसोबास गर्दै आएका रेग्मी लोक सेवा आयोगमा रहेर काम गरिसकेका नेपाल सरकारका पूर्व सचिवसमेत हुन् । आयोगमा उनले झण्डै ८ वर्ष काम गरेका थिए । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवामा प्रवेश गरेका रेग्मी खरिदार हुँदै सबैजसो पदमा रहेर काम गरिसकेका छन् । ११ साउन २०६८ सालमा सचिव बनेका उनले ५४ वर्षको उमेरमा लोक सेवा आयोगको सचिवबाट अवकाश पाएका थिए ।

रेग्मी सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीका आफ्नै दाजु हुन् । न्यायाधीश कुमार रेग्मीले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजन हुने र पुनः एमाले र माओवादी केन्द्र पार्टी बन्ने फैसला गरेका थिए । उक्त फैसलाको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया